Logo
१२ आश्विन २०८०, शुक्रबार
(August 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी संयन्त्रबाट सक्रिय : NGO हरुलाई जथाभावी राहत वितरणमा प्रतिबन्ध

काठमाडौं : गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित जिल्लामा गैरसरकारी संस्थाहरुलाई जथाभावी राहत वितरणमा रोक लगाउँदै सरकारी संयन्त्रबाट मात्रै राहत वितरण गरिने बताएका छन् । मन्त्री शर्माको निर्देशनपछि केन्द्रिय दैवि प्रकोप उद्धार समितिको बैठकले गृहमन्त्रालयका सह–सचिव केदार न्यौपानेको संयोजकत्वमा राहत संकलन संयोजन समिति गठन गरेको छ । राहत उपलब्ध गराउन ईच्छुक गैर सरकारी संस्था तथा व्यक्तिहरुले त्रिपाल, भाँडाकुँडा, दाल, चामल, नुन, तेल जस्ता खाद्य सामग्री राहत संकलन संयोजन समितिसँग समन्वय गरेर उपलब्ध गराउन गृह मन्त्रालयले आग्रह गरेको छ ।

गृह मन्त्रालयमा सोमबार केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा मन्त्री शर्माले गैर सरकारी संस्थाले दिने नगद तथा जिन्सी सामग्री सरकारी संयन्त्रबाटै वितरण गर्न मुख्य सचिव तथा अन्य सरोकारवाला मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । ‘कुनै संघ संस्था र व्यक्तिहरुले बाढी प्रभावितलाई नगद सहयोग गर्न चाहेमा प्रधानमन्त्री राहत उद्धार कोषमा जम्मा गर्ने ब्यवस्था गर्नुपर्छ’ मन्त्री शर्माले भने,‘गैर सरकारी संघ संस्थाहरुले फिल्डमा गएर सामान बाँड्दा कतै दोब्बर हुने,कतै नपाउने अवस्था आउने हुनाले राहतका लागि आवश्यक सामग्री गृह मन्त्रालयले लिएर एकद्धार प्रणालीबाट वितरण गर्नुपर्छ ।’

गृहमन्त्री शर्माले नीजि र सकारी सम्पतिको क्षतिको छुट्टाछुट्टै विवरण १० दिनभित्र तयार गरेर आवश्यक रणनीति तयार गर्न निर्देशन दिए ।
‘क्षतिको विवरण ठोस भाषामा यकिन हुनुपर्छ’ उनले भने, ‘अमुर्त भाषामा विवरण तयार नगर्नुस् ।’ बैठकमा मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले पुर्व क्षेत्रमा विद्युत्त पुर्ण रुपमा अवरोध भएको जानकारी दिँदै बाढी प्रभावित क्षेत्रमा कृषि र पशुपंक्षीको क्षतिको मुल्यांकन छुट्टाछुट्टै हुनुपर्ने बताए ।

बैठकमा मन्त्री शर्माले राहतका लागि आवश्यक लत्ता कपडा पुराना संकलन नगर्ने र नयाँ कपडा संकलन गरेर वितरण गरिने बताए । मन्त्री शर्माका अनुसार राहत संकलन संयोजन समितिलाई प्राप्त राहत सामग्रीहरु थापाथलीमा रहेको नेपाल खाद्यसंस्थानको गोदामघर र विश्व खाद्य कार्यक्रमको त्रिभुवन विमानस्थलस्थित गोदामघरमा जम्मा गरिने छ ।

प्रकाशित मिति: Aug 14, 2017

प्रतिक्रिया दिनुहोस्