Logo
२१ मंसिर २०८१, शुक्रबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्काको चेकजाँच गर्ने प्रहरी आफैं चलाउँछन् चोरीका गाडी

धनगढी : भारतबाट चोरी गरेर किर्ते कागजात बनाई पास गरिएका अधिकांश गाडी नेपाल प्रहरीका अधिकृतलाई नै बिक्री गरिएको खुलेपछि छानबिन समिति गठन गरिएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले, सशस्त्र प्रहरी गण मुख्यालय धनगढीका प्रहरी उपरीक्षक किशोर दाहाल नेतृत्वमा दुईजना प्रहरी निरीक्षक र दुईजना प्रहरी नायब निरीक्षक सदस्य रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिले बिहीबारबाटै अनुसन्धान थालेको छ । कैलालीको भजनीका गोकुलप्रसाद श्रेष्ठले भारतबाट चोरीका गाडी किनेर, नेपालका विभिन्न भन्सारमा लिलाम गरिएका किर्ते कागजात बनाएर धेरै गाडी नेपाल प्रहरीका डीएसपीदेखि जवानसम्म बिक्री गरेको पाइएपछि प्रहरीले छानबिन थालेको हो।

केही दिनअघि पक्राउ परेका धेरै चोरीका कारलाई भजनीका गोकुल श्रेष्ठले किर्ते कागजात बनाएर बिक्री गर्ने गरेको पाइएको थियो । गोकुल श्रेष्ठबाट नेपाल प्रहरीका डीएसपीसम्मले गाडी किनेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत डीएसपी सुदीप पाठकले पनि आफूमातहतका प्रहरी हबल्दार ताराबहादुर ठकुल्लाको नाममा दर्ता गरेर हुन्डाई क्रेटा कार किनेको पाइएको छ । से १ च १८१० नम्बरको गाडी डीएसपी पाठकले आफ्नै इलाकामा कार्यरत हबल्दारको नाम हालेर चलाएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दीपक पातलीले रोयल इन्फिल्ड मोटरसाइकल, आरआईटीका प्रहरी सहायक निरीक्षक केशव जोशीले सुपर स्प्लेन्डर मोटरसाइकल, प्रहरी हबल्दार केशवसिंह ऐरीले पनि सुपर स्प्लेन्डर मोटरसाइकल, आरआईटीका प्रहरी धर्मसिंह भाटले रोयल इन्फिल्ड मोटरसाइकल र पदमसिंह धामीले अपाची मोटरसाइकल किनेका थिए । पक्राउ परेका धेरै चोरीका कार भजनीका गोकुल श्रेष्ठले किर्ते कागजात बनाएर बिक्री गरेको पाइएको छ । श्रेष्ठबाट नेपाल प्रहरीका डीएसपीसम्मले गाडी किनेका छन् ।

नेपाल प्रहरीकै लोकराज भट्टले पनि श्रीमती कविता शर्माको नाममा रोयल इन्फिल्ड मोटरसाइकल (बुलेट) हालेका छन् । प्रहरी निरीक्षक जनकराज ढुंगानाले पनि गोकुलबाट किर्ते कागजात बनाइएको मोटरसाइकल किनेपछि प्रहरीभित्र ‘पहिरो गएको’ हो । डीएसपीदेखि जवानसम्मले किर्ते कागजात गरेर पास गराइएका गाडी किनेपछि प्रहरीभित्र हल्लीखल्ली मच्चिएको छ । ‘धेरै प्रहरीको नाम आएकाले छानबिन समिति गठन गरिएको हो’, सुदूरपश्चिम क्षेत्रका डीआईजी रोमेन्द्र देउजाले भने । कार र मोटरसाइकल किनेका प्रहरीले भने आफूहरूले यातायात कार्यालयमा गएर पास गरेको, राजस्व तिरेको र आफूहरूलाई चोरीका गाडी किर्ते कागजात गरी नामसारी भइरहेको थाहा नपाएको प्रतिक्रिया दिएका छन् ।

‘मैले यातायात कार्यालय महेन्द्रनगरमा गएर बकाइदा पास गरेको छु, मसँग सरकारलाई कर तिरेको रसिद छ, मुख्य अभियुक्तले नै भन्सारमा लिलाम भएका किर्ते कागजात बनाएर यातायातमा आफ्नो नाममा हालेको छ’, प्रहरी सहायक निरीक्षक केशव जोशीले भने ।
यद्यपि धेरै प्रहरी अधिकृत र जवानले किनेका गाडी कञ्चनपुर प्रहरीले फिर्ता लगिसकेको छ भने महाकाली र सेती अञ्चल यातायातले दर्ता खारेज गरिसकेको छ ।महाकाली यातायात व्यवस्था कार्यालयका निलम्बित प्रमुख हेमन्तबहादुर सिंहले पनि साला नाता पर्नेको श्रीमती संगीता सिंहका नाममा म १ ख ५१४ नम्बर उल्लेख भएको स्विफ्ट डिजायर कार किनेको पाइएको छ । मेलबिसौना बझाङ स्थायी ठेगाना देखाएर उक्त कार किनिएको महाकाली अञ्चल यातायात व्यवस्थामा तथ्यांक छ ।

से ५ प ८२९९ र ८३ ९९ नम्बर लेखिएको रोयल इन्फिल्ड मोटरसाइकल किन्न ठिक्क परेका सेती अञ्चल यातायातका दुई कर्मचारी भने जोगिएका छन् । कञ्चनपुर प्रहरीले बरामद गरेका गाडीमध्ये औद्योगिक सुरक्षा बल अत्तरियामा कार्यरत डीएसपीले म १ च ५२३ नम्बरको होन्डा सिटी कार हबल्दार दानसिंह धामीको नाममा दर्ता गरेर चढ्ने गरेको पनि पाइएको छ । प्रहरी, यातायात कार्यालय र केही बैंकका कर्मचारीले पनि कार किनेको खुलेको छ । दुईजना माओवादी केन्द्रका नेताले समेत किनेर पोखरातिर चलाइरहेका कारको खोजी भइरहेको कञ्चनपुर प्रहरीका एसपी प्रकाश चन्दले जानकारी दिए । कञ्चनपुर प्रहरीले ९ कार र २६ वटा मोटरसाइकलको किर्ते कागजात बनाएर बिक्री भएको भन्दै पक्राउ गरेको थियो । शिवराज भट्ट\बीपी अनमोलको बाइलाइनमा अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रकाशित मिति: Aug 4, 2017

प्रतिक्रिया दिनुहोस्