Logo
१२ बैशाख २०८१, बुधबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालीमाझ चिन्ता: कतारलाई एक्ल्याइएपछि रोजगारी संकटमा

काठमाडौं : कतारमा रहेका नेपाली कामदारको रोजगारी संकटमा पर्ने भएको छ । साउदी अरब, इजिष्ट, बहराइन, यूएई, लिविया, माल्दिभ्स र यमनले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेसँगै रोजगारीमा पनि संकट आएको हो । कतारमा भारतपछि धेरै कामदार नेपाली छन् । कतारको कुल जनसंख्याभन्दा बढी आप्रवासी छन् । २०५२ सालदेखि नेपाली रोजगारीका लागि कतार जान थालेका हुन् । नेपाली कामदारका लागि विगत दुई वर्षदेखि कतार पहिलो गन्तव्य बनेको छ । कतारमा कति नेपाली छन् भन्ने तथ्यांक सरकारी र कामदार पठाउने म्यानपावर व्यवसायीसँग पनि छैन ।

आव २०७२/०७३ मा मात्रै रोजगारीका लागि नेपालबाट डेढ लाखको हाराहारीका युवा कतार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । चालू आव २०७३/०७४ को १० महिनामै सवा लाखभन्दा बढी युवा कतार पुगिसकेका छन् । हाल पाँच लाखभन्दा बढी नेपाली कामदार कतारमा रहेको सरकारी निकायको अनुमान छ । सेवा सुविधा र तलबको हिसाबले भने हो भने नेपाली कामदारका लागि कतार अन्य देशको तुलनामा राम्रो गन्तव्य होइन ।

नेपाली कामदारका लागि मलेसिया, दुबई, साउदी अरबपछिको सेवा सुविधा भएको देश कतार हो । त्यसमा पनि कतारले विश्वकप फुटबलका लागि तयार गर्दै गरेको भौतिक संरचना निर्माणमा नेपाली कामदारको माग बढी छ । विगत दुई वर्षदेखि मलेसिया, साउदी अरब र दुबईले नेपाली कामदारको माग घटाएपछि कतार जानेको संख्या बढेको हो । सात राष्ट्रको कूटनीतिक सम्बन्ध अन्त्यको निर्णयले नेपालीले पाउँदै आएको रोजगारी गुम्ने खतरा बढेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तमाङ बताउनुहुन्छ ।

रोजगारीमा आउने संकटसँगै त्यहाँ रहेका कामदार कस्तो समस्याका पर्ने भने विषयमा सबैका ध्यान केन्द्रित भइसकेको उहाँ बताउनुहुन्छ । त्यसमा पनि सात राष्ट्रले कतारबाट आफ्नो नागरिक फिर्ता बोलाउने निर्णयले नेपाली कामदार समस्यामा पर्ने हो कि भने प्रश्न खडा भएको तामाङ बताउनुहुन्छ । कतार जान तयारी अवस्थामा रहेका युवालाई समेत व्यवसायीले केही समय पर्ख र हेरको नीति अबलम्बन गर्नुपर्ने अवस्था आएको छ ।

कतिपय व्यवसायीले तय भइसकेको अन्तर्वार्ता पनि रद्द गरिसकेका छन् । कतारको मुख्य आम्दानीको स्रोत तेल र ग्यास निर्यात हो । आयातनिर्यात हुन नसकेको अवस्थामा मात्रै कतारमा संकट आउने तामाङको अनुमान छ । कतारमा रहेको बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने सामानको निर्यात गर्न नपाएको अवस्थामा कम्पनी बन्द हुन सक्ने तामाङको भनाइ छ । कम्पनी बन्द भएसँगै नेपाली कामदारको रोजगारी गुम्नुका साथै त्यहाँ कार्यरत रहेको कामदारसमेत अलपत्रपर्ने अवस्था आउनेछ ।

पछिल्लो घटनाक्रम हेर्दा सरकार, व्यवसायी र आम नागरिक नै सचेत र स्टान्डवाइ बस्नुपर्ने अवस्था आएको छ । सात राष्ट्रले कतारमाथि आक्रमण गर्ने अवस्था नआउला पनि भन्न सकिन्न । आक्रमण हुने अवस्था आएमा तुरुन्तै नेपाली नागरिकलाई नेपाल फर्काउन सक्ने गरी तयारी हुनुपर्ने तामाङको भनाइ छ। हाल पाँच लाखभन्दा बढी नेपाली कामदार कतारमा रहेको सरकारी निकायको अनुमान छ ।

त्यसका लागि त्यहाँ रहेको सरकारी नियोग र अन्य सात राष्ट्रका नियोगमा कार्यरत कर्मचारी त्यहाँको सूचना दिने सक्ने अवस्थामा बस्नुपर्ने तमाङको भनाइ छ । साउदी अरेबियासँग जोडिएको सीमाना कतार प्रवेश गर्ने एक मात्र स्थलमार्ग हो । यो सिमानाबाट मात्रै कतारमा ४० प्रतिशत खाद्यान्न भित्रिन्छ । सिमाना बन्द हुँदा तथा समुद्री र हवाई मार्गमा समेत प्रतिबन्ध लाग्दा कतार थप अप्ठेरोमा पर्नसक्ने अनुमान छ । यसको असर त्यहाँ कार्यरत नेपालीले पनि भोग्नुपर्नेछ ।

तर, तत्काल आत्तिहाल्नुपर्ने अवस्था नरहेको कूटनीतिक नियोगका अधिकारी बताउँछन् । तत्काल केही सामान्य असर देखिए पनि बिस्तारै महँगी बढ्दै जाने र सामानको अभाव हुन थाल्नेछ । खर्च बढ्ने भएकाले कतारबाट आउने रेमिटेन्स घट्न सक्ने अनुमान छ । नयाँ बन्दरगाह, अस्पताल क्षेत्र, मेट्रो योजना र सन् २०२२ को विश्वकप फुटबलका लागि आठवटा स्टेडियम कतारमा बनिरहेका छन् । सडक, समुद्र र हवाई मार्गमा समेत प्रतिबन्ध लागेपछि निर्माण सामग्रीको भाउ बढ्नेछ र निर्धारित समयमा यी काम सम्पन्न नहुनसक्छन् ।

सामग्री अभाव कतारको निर्माण क्षेत्रको समस्याका रूपमा पहिलेदेखि नै रहँदै आएकामा पछिल्लो घटनाले समस्या थप चर्काउनेछ । यी निर्माणस्थलमा धेरै नेपाली कार्यरत भएकाले यसको असर उनीहरूलाई पर्नेछ। सानो देशभए पनि कतार आर्थिक रूपमा बलियो राष्ट्र हो । सानो राष्ट्रमाथि ठूलो राष्ट्रले आफ्नो प्रभुत्व देखाउन खोजको प्रध्यापक डा. सूर्यनाथ मिश्र बताउनुहुन्छ । उडान बन्द गरे पनि यी राष्ट्रले आयातनिर्यातमा बन्द गर्न सक्दैनन् । गल्फ फेडेरेसनले समेत वार्तामा बोलाइसेको अवस्थामा छिट्टै समस्या समाधान निस्कने मि श्रको भनाइ छ ।

लामो सयमसम्म समस्या समाधान नभएको अवस्थामा नेपाली कामदारमा केही समस्या आउला तर अहिले नै आत्तिनुपर्ने अवस्था नभएको मि श्र बताउनुहुन्छ । यसले कतारलाई मात्र नभई सबै राष्ट्रलाई घाटा छ । पछिल्लो सयम कतारले गरेको विकास र विश्वकप आयोजनालाई पनि मध्यनजर राखेर पनि आतंक फैलाउ लागेको उहाँको बुझाइ छ । यो दीर्घकालीन रहँदैन । कतारले विश्वका विभिन्न देशबाट आयात तथा निर्यात गरिरहेको छ । यस्तो अवस्थामा अहिलेनै कतारमा संकट नआउने मि श्र बताउनुहुन्छ । सरकारले २०७२ असार २१ गतेबाट लागू गरेको फ्री भिसा र टिकटका नियमले पनि कतार जाने युवाको संख्यामा निरन्तर वृद्धि हुँदै गएको थियो । कतारका रोजगारदाता कम्पनीले सरकारले भने बमोजिमको डिमान्डसँगै नेपाली म्यानपावर कम्पनीलाई कामदार पठाउँदा सेवा शुल्क पनि दिने व्यवस्था गरेका छन् । अन्नपुर्ण पेष्टमा समाचर छ ।

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्