Logo
१३ बैशाख २०८१, बिहीबार
(June 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतारमा नाकाबन्दीः नेपाल पर्ख र हेरको रणनीतिमा, रोजगारीमा समस्या

काठमाडौं, जेठ २४ : कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ । ‘पछिल्लो घटनाक्रमबाट कतारस्थित नेपाली नागरिकलाई नकारात्मक असर परेकोबारे अहिलेसम्म कुनै रिपोर्टिङ आइसकेको छैन,’ उनले भने, ‘परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैगरी रणनीति बनाउँछ ।’

श्रम तथा रोजगार मन्त्रालयका अनुसार कतारमा अहिले साढे ३ देखि ४ लाख नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये ठूलो हिस्सा निर्माण क्षेत्रमा सक्रिय छ । मन्त्रालयका अनुसार भारतपछि धेरै नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् । त्यसकारण कूटनीतिक विच्छेद र नाकाबन्दीले रोजगारीमा तत्काल ठूलो असर नपर्ने, तर आर्थिक नाकाबन्दी लामो समय रहेमा भने समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ ।

कतार समस्या लामो समय लम्बिएमा नया“ रोजगारीको अवसर नआउने र कतारको गन्तव्य नै खतरामा पर्ने सम्भावनाबारे आशंका सुरु भएको छ । तर, व्यवसायीहरू भने यो समस्या शीघ्र हल हुनेमा आशावादी छन् । ‘यो समस्या कति दीर्घकालसम्म लम्बिन्छ भन्ने विषय महत्वपूर्ण हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल भन्छन्, ‘आजकै दिनमा अब के हुन्छ भनेर प्रतिक्रिया दिन सक्ने अवस्था छैन ।’

”कतार समस्याबाट नेपालीमाथि पर्ने तत्कालीन असर वायुसेवाको टिकट हो, यसका लागि पनि विकल्प छन् । आगामी दिनमा के हुन्छ आजै भन्न सकिने अवस्था छैन । परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैअनुसार रणनीति बनाउँछ ।” -गोविन्दमणि भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय

प्रकाशित मिति: Jun 7, 2017

प्रतिक्रिया दिनुहोस्