Logo
७ बैशाख २०८१, शुक्रबार
(May 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपालाई सहमतिमा ल्याउन चुनाव सार्ने तयारी, आयोग र मौसमविदसँग सल्लाह गरेर नयाँ तिथि

काठमाडौं, जेठ १४ : जेठ ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचन एकहप्तादेखि १० दिनसम्म पर सर्ने भएको छ । आइतबार बालुवाटारमा बसेको शीर्ष दलका नेताको बैठकले चुनावको मिति सार्ने सहमति गरेको हो । बैठकमा नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी (राजपा)का नेता सहभागी थिए ।

बैठकमा सभागी राजपाका नेताले चुनावको मिति सार्ने, दल दर्ता र चुनाव चिन्ह दिने वातावरण नबनेसम्म मधेसवादी दल आन्दोलत र वार्तालाई सँगसँगै लिएर जाने जानकारी दिनु भएको छ । बैठकको निर्णयबारे जानकारी दिँदै राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘प्रधानमन्त्रीले जसरी भए पनि चुनाव गराउने बताउनु भएपछि एक हप्तादेखि १० दिनसम्म चुनावको मिति सार्ने निष्कर्षमा पुगिएको छ।’

बैठकमा दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा केपी, राजपाका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।

सत्ता घटक कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपा नेताहरुबीचको बैठकमा राजपालाई ल्याउने शर्तमा एक साता चुनाव मिति सार्ने प्रस्ताव गरिएको छ । राजपा चुनावमा आउने सर्तमा प्रमुख प्रतिपक्ष एमालेपनि सरकारको प्रस्तावमा लचक देखिएको छ । लिखित सहमति नभए पनि चुनावलगत्तै संविधान संशोधनमा एमाले पनि लचक देखिएपछि दोस्रो चरणको चुनावमा राजपा सहभागिता, त्यसलगत्तै गर्ने भनिएको संविधान संशोधन दुवैका लागि आवश्यक कानुनी र प्राविधिक तयारीका लागि सोमबार र मंगलबार सरकारले गृहकार्य गर्ने समझदारी भएको छ ।

‘राजपालाई चुनावमा समेटेर लैजानेमा एमाले पहिलेभन्दा सकारात्मक देखियो, अब राजपालाई निर्वाचन आयोगमा दल दर्ताका लागि कानुनअनुसार हस्ताक्षर बुझाउन समय लाग्ने प्राविधिक समस्या देखिएकाले त्यसलाई सम्बोधन गर्नका लागि चुनावको मिति केही समय सार्ने समझदारी भयो,’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने, ‘आयोग र मौसमविदसँग सल्लाहमा सरकारले नयाँ तिथि तोक्नेछ ।’ निधिले असारको १० गते नकाट्नेगरी नयाँ चुनाव मिति तोक्ने सरकारी तयारी रहेको जानकारी दिए ।

माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले राजपा चुनावमा आउने सुनिश्चित हुनेगरी चुनाव मिति सार्न लागिएको बताए । त्यसका लागि हाल रहेको निर्वाचन ऐनमा कायम दल दर्ता र हस्ताक्षर प्रमाणीकरणका लागि आवश्यक १५ दिनलाई छोट्याएर तीन वा पाच दिनमा झार्नेगरी सोमबारै संसदमा संशोधन प्रक्रिया अघि बढाउन सत्ता घटक सहमत रहेको जानकारी दिए ।

‘हामीले यति भनिसक्दा पनि राजपा नेताहरुले चुनावमा आउने सुनिश्चितता भने गरिसक्नु भएको छैन, तर उहाँहरुलाई सकारात्मक दबाब परोस् भनेर चुनाव मिति सार्ने र ऐन संशोधन गर्ने ठहरमा हामी पुगेका हौं,’ श्रेष्ठले भने, ‘यसमा प्रतिपक्षी एमाले पनि लचिलो भएको छ । अब राजपा चुनावमा आउनेमा सकारात्मक हुने हाम्रो विश्वास छ ।’

दोस्रो चरणको निर्वाचनपछि संशोधन अघि बढाउन एमाले सकारात्मक

आइतबार साँझ बालुवाटार भएको चार दल बैठकमा संविधान संशोधन, दोस्रो चरणको स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । छलफलमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन विधेयकलाई अघि बढाउन सकारात्मक देखिएका छन् ।

दोस्रो चरणको निर्वाचनपछि संशोधन अघि बढाउने एमाले नेताहरु सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गरेका थिए ।

राजपाका नेताहरुले आफ्नो मुख्य चासों प्राविधिक विषयमा भन्दा पनि संविधान संशोधनमै रहेकोमा जोड दिँदै संविधान संशोधन विधेयेक पारित हुने वातावरण बनाउन प्रमुख तीन दललाई आग्रह गरेका थिए ।बैठकले संविधान संशोधन विद्येयक र स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: May 28, 2017

प्रतिक्रिया दिनुहोस्