Logo
८ बैशाख २०८१, शनिबार
(May 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलन रोक्न बालुवाटारदेखि लैनचौरसम्मको दबाब: जव ठाकुरले टेबलमा बजारे मुक्का !

काठमाडौ : आन्दोलनमा जाने कि चुनावमा जाने  विषयमा पाँच दिनदेखि अन्योलमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल अन्ततः शुक्रबार सात दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यो आन्दोलन घोषणा गर्नका लागि राजपा नेपालका नेताहरुले कस्तो बेल्ना बेल्नु पर्यो उनीहरुलाई नै थाहा छ । शुक्रबार पनि आन्दोलनको घोषणा हुन्छ कि हुँदैन भनि राजपा नेपालका शीर्ष नेताहरुलाई नै विश्वास लागेको थिएन । विजुली वजारस्थित राजपा नेपालको सम्पर्क कार्यालयमा विहानैदेखि चहल पहल थियो । आन्दोलनमा जाने नजाने शुक्रबार विहानसम्म पनि अन्योल थियो ।

आन्दोलनबारे मोर्चाका ‘घोषणा भएपछि मात्र थाहा हुन्छ’ भनी नेताहरुले अमुर्त जवाफ दिँदै आएका थिए । राजपा नेताहरुलाई चुनावमा जाने दबाब निकै परेको नेताहरुको भनाइ छ । शुक्रबार दिनभर पनि राजपा नेपालको सम्पर्क कार्यालयमा त्यस्तै चहल पहल देखिएको थियो ।

राजपाको विहीबार विहान ११ बजे बसेको थियो । सो बैठकपछि राजपा नेपालका अध्यक्ष महन्थ ठकुरले उपेन्द्र यादव र विजयकुमार गच्छदारसँग छलफल गरेका थिए । सो छलफलपछि पुनः ४ वजे बैठक बस्ने कुरा थियो तर बस्न सकेन । शुक्रवार विहान नौ बजेका लागि बैठक तय भएको थियो । जतिबेला महन्थ ठाकुर पार्टी कार्यालय आइसकेका थिए । त्यसपछि अध्यक्ष मण्डलका सदस्य शरतसिह भण्डारी र महेन्द्र राय यादव पनि पुगे ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव बैठकमा आउन ढिला गरेपछि महन्थ ठाकुर स्वयंले नै उनीहरुलाई फोन गरेका थिए । उनीहरुले आन्दोलनका सबै कार्यक्रम तयारी अवस्थामा छ, त्यसलाई फाइनल गर्नुस् हामी आउँदैछौ भनेका थिए ।

अनिल झाले त एउटै विषयमा छलफलका लागि कति बस्ने, जे कुरा भइसकेको छ त्यसलाई अगाडि बढाउनुस् भनि महन्थ ठाकुरलाई जवाफ फर्काएका थिए । त्यत्तिकैमा प्रधानमन्त्री प्रचण्डले महन्थ ठाकुरसँग छलफल गर्ने भनि बालुवाटार डाके । कार्यालयमा रहेका महेन्द्र राय र शरतसिह भण्डारीसँग सल्लाह गरेर महन्थ प्रधानमन्त्री निवास बालुवाटार पुगे । प्रधानमन्त्रीले एक दुई दिनमा माग पूरा गरिदिने आवश्वासन दिँदै आन्दोलन घोषणा नगर्न ठाकुरसँग आग्रह गरेका थिए ।

निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिन्ह प्राप्तिका लागि अध्यादेशमार्फत भए पनि सो कार्य गराउने प्रतिवद्धता समेत प्रधानमन्त्री प्रचण्डले जनाएका थिए तर अध्यक्ष ठाकुरले यस्तो प्रतिवद्धता धेरै पटक आएको भनी विश्वास गर्न नसकिने जवाफ दिए ।

राजपा नेपालका एक नेताकाअनुसार अध्यक्ष महन्थ ठाकुरले प्रचण्डलाई ‘तपाईले के के गर्न चाहनु भएको छ गर्नुस्, कसैले रोकेको छैन, जुन दिन तपाईले हाम्रो माग पूरा गर्नु हुन्छ, त्यो दिन हामी आन्दोलन फिर्ता लिन्छौ । तर हामीलाई आन्दोलन घोषणा गर्न दिनुस् ।’– भनेका थिए ।

स्रोत भन्छ– तैपनि प्रचण्डले धेरै कर गरे, एक दिनका लागि भएपनि आन्दोलन घोषणा नगर्नुस् भनि पटक पटक आग्रह गरे । त्यसपछि अध्यक्ष ठाकुरले यो विषयमा एक्लै केही भन्न सकिन्न, दलका अरु नेताहरुसँग सल्लाह गरेर जानकारी गराउने भनि फर्केका थिए । प्रचण्डसँगको कुराकानी ठाकुरले आफ्नो पार्टीका अध्यक्ष मण्डलका नेताहरुलाई सुनाए । त्यसमा विचार गर्ने हो कि भने आशयको कुरा महन्थ ठाकुरले नेताहरुसँग गरेका थिए । त्यतिबेलासम्म राजेन्द्र, अनिल र राजकिशोर यादव आइपुगेका थिएनन् ।

आन्दोलन रोक्ने दवाव महन्थ ठाकुरले देला भनेर यी तीन जना नेताले उनको फोन उठाउन पनि छाडेका थिए । कसैले अफ पनि गरे । स्रोत भन्छ, यी तीनैजना नेता कुनै ठाउँमा एकै ठाउँमा थिए । जबसम्म आन्दोलन घोषणाको निर्णय गरेर प्रेस विज्ञप्ति तयारी गरी पत्रकार सम्मेलनका लागि पत्रकारलाई बोलाइँदैन, तबसम्म आफूहरु त्यहाँ नआउने जवाफ महन्थ ठाकुरले उनीहरुबाट पाए ।

फाइल फोटो

ठाकुर झनै तनावमा भए । उनी एक्लै आफ्नो कार्यकक्षमा बसेर तीन नेताहरुसँग कुरा गर्दै टेबलमा मुक्का बजारिरहेका थिए । ती दलका नेताहरु भन्छन्,–महन्थ ठाकुरलाई यसरी रिसाएको कहिले पनि देखेका थिइनन् ।’ प्रचण्डले मात्र होइन, भारतीय दूतावासले पनि आन्दोलन घोषणा नगर्न दवाव दिइरहेको थियो । यी सबै थेग्न महन्थलाई गाह्रो भइरहेको थियो त्यस अवस्थामा यी तीनजना नेताले आन्दोलनको घोषणा गर्न दवाव दिए ।

महन्थ ठाकुरले आन्दोलनको घोषणा गर्न नसकेमा राजेन्द्र, अनिल र राजकिशोरले छुट्टै आन्दोलन घोषणा गर्ने चेतावनी दिएपछि ठाकुरले दबाब थेग्न सकेनन् । त्यसपछि अध्यक्ष ठाकुरले न प्रचण्ड, न दूतावासको कुरा सुने, सिधै आन्दोलनमा जानुपर्ने निष्कर्षमा पुगे । र, विज्ञप्ति तयारी गर्न लगाए । आन्दोलनका कार्यक्रमसहित तयार भएको विज्ञप्तिबारे ती तीनजना नेताहरुसँग फोनमै सल्लाह भइरहेको थियो । जेठ १३ गतेदेखि १९ गतेसम्मको कार्यक्रम तय भएको रहेछ । उनीहरु पनि यसमा राजि भए ।

राजपाको बैठक सकिएपछि १२ः३० वजे संघीय गठबन्धनसँग पनि छलफल गर्ने तयारी भइरहेको थियो तर ती तीनजना नेता नआएपछि बैठक कसरी बस्ने कुरा भयो । विज्ञप्ति तयारी हुँदासम्म पनि यी तीनजना नेतालाई विश्वास लागेको थिएन कि आन्दोलन घोषणा हुन्छ, धेरैपटक यस्तो भएको छ कि अन्तिम अन्तिम समयमा आएर कार्यक्रमहरु रद्द भएकाले उनीहरुलाई विश्वासै लागिरहेको थिएन ।

३ वजे बोलाउने पत्रकारलाई सवा १ बजे नै बोलाइयो भने कसैकसैलाई दुई वजे पनि बोलाइएको थियो । पत्रकारले मधेश मेमोरियल हल भरिएको थियो । तर पत्रकार सम्मेलनमा पनि अपरिपक्व देखियो । मोर्चाका नेताहरुको गविविधिले संघीय गठबन्धनसँग सल्लाह नै नगरिकन कसरी पत्रकार सम्मेलन हुँदैछ भनि पत्रकारहरुबीच गाइँगुँइ चल्यो । पत्रकारहरु आइसकेपछि नेताहरु अब तल झर्ला तब तल झर्ला तर कोही आएनन् । पानी परेर पत्रकार सम्मेलन गर्ने हलसमेत चुहिन थालेपछि पत्रकारलाई पनि विजोग भयो ।

नेताहरु पत्रकार सम्मेलनमा आउनुको सट्टा संघीय गठबन्धनका नेताहरुलाई माथि नै बोलाएर बैठक बसाले । पत्रकारहरुलाई खबर भइसक्यो उनीहरु आउन थालेका छन्, अब केही छिनमा पत्रकार सम्मेलन हुँदैछ भनेर राजेन्द्र, अनिल र राजकिशोरलाई जानकारी गएपछि मात्र उनीहरु ढुक्क भएर आउन थाले । पहिले राजेन्द्र महतो आए भने त्यसपछि राजकिशोर अनिव अनिल झा आइपुगेका थिए ।

उनीहरु आएपछि राजपाको बैठक बसेर मात्रै विज्ञप्तिलाई फाइनल गरी संघीय गठबन्धनको बैठक पनि बस्यो र त्यसपछि मात्रै सवा ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरिएको थियो । #ratopati

प्रकाशित मिति: May 27, 2017

प्रतिक्रिया दिनुहोस्