Logo
८ बैशाख २०८१, शनिबार
(May 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व सभासद चौहान र केन्द्रीय सदस्य गिरीद्धारा एमाले परित्याग

वीरगन्ज, जेठ ८ : नेकपा एमालेका केन्द्रीय सदस्य प्रल्लाद गिरी र पूर्व सभाषद प्रद्युमन चौहानले पार्टी परित्याग गरेका छन् । मधेस आन्दोलनबाट उठेका मागलाई एमालेले अपमान गरेको भन्दै एमालेका केन्द्रीय सदस्य गिरी र पूर्व सभासद चौहानले राजीनामा दिएका छन् ।  सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरी पार्टीका केन्द्रीय सदस्य प्रल्हाद गिरी र पूर्वसभासद प्रद्युम्न चौहानले एमाले पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण पदबाट राजीनामा दिएका छन् ।

एमाले परित्याग गरेका नेता गिरी र चौहानले मधेसको मागलाई समर्थन गर्दै आगामी जेठ १४ गते वीरगञ्जमा कार्यक्रम गरी संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मधेस आन्दोलनबाट उठेका मागलाई संस्थागत गर्नुपर्ने जनचाहना भए पनि मधेस आन्दोलनको भावनालाई एमाले पार्टीले उपेक्षा गरेकोले आफूहरु पार्टीको साधारण सदस्य लगायत सम्पुर्ण पदबाट राजीनामा दिएको नेताद्धय गिरी र चौहानद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

पहिलो चरणको स्थानीय निर्वाचनअघि सरकारले गरेको सहमति अनुसार तराई मधेसमा स्थानीय निकायको संख्या वृद्धि गरी दोस्रो चरणको चुनाव गराउनु पर्ने अहिलेको राजनीतिक आवश्यकता भए पनि एमालेको मधेस विरोधी आडानको कारण राजनीतिक निकास निस्कन नसकेको उनीहरुको आरोप छ  । मधेसको मागहरूलाई पूरा गर्न पार्टीमा पटक पटक दबाव दिइए पनि शीर्ष तीन नेताहरुले मधेस आन्दोलनबाट उठेका मागहरुलाई भारतसँग जोडेर आउने एमाले नेताहरुको नश्लीय अभिव्यक्तिले एमालेमा रहेका सबै मधेसी नेता तथा कार्यकर्ताहरुलाई कलंकित बनाएको समेत उनीहरुले आरोप लगाएका छन् ।

आगामी जेठ १४ गते बृहत कार्यक्रम गरी एमाले परित्याग गरेका नेता कार्यकर्तालाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम, नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादव, केन्द्रीय सदस्यद्धय हरिनारायण रौनियार, मोहनलाल चौधरी, तराई मधेस प्रदेशका कोषाध्यक्ष एवम् उद्योगपति विजय सरावगीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै फोरम नेपालका जिल्ला अध्यक्ष यादवले मधेस आन्दोलनको मर्म, भावना र एमाले पार्टीको वास्तविक चरित्र बुझेर नेता गिरी र चौहानले समयमै राजीनामा दिनुकोमा कृतज्ञयता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: May 22, 2017

प्रतिक्रिया दिनुहोस्