Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्साहजनक सहभागिता: सिंहदरबारको अधिकार अब गाउँमै !

काठमाडौं, बैशाख ३१: स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा ३ वटा प्रदेशका २८१ स्थानीय तहमा आज मतदान सुरु भएको छ । २८३ तह भए पनि दुई वटा तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । बिहान ७ बजेदेखि नै मतदाताको उत्साहजनक सहभागिता रहेको छ ।

प्रदेश नम्बर ३ ,४ र ६ मा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो । संविधानसभाद्वारा संविधान घोषणापछि संघीय स्वरुपमा स्थानीय सरकार गठनको लागि ३४ जिल्लाका मतदाता निर्वाचनमा सहभागी भएका छन् । बीस वर्षपछि भएको स्थानीय जनप्रतिनिधि चुन्ने यो अवसरमा मतदाताको निकै उत्साह देखिएको छ । काठमाडौं, ललितपुर, चितवन, पोखरा लगायत सबैजसो जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।

मतदाताहरु आफ्नो मतदाता परिचय पत्रका साथ मतदान गर्नका लागि लामबद्ध भएका छन् । छिटो र सजिलोसँग मतदान सम्पन्न गराउनका लागि सबै केन्द्रले महिला पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा र असक्तका लागि भने लाईन बस्न नपर्ने व्यवस्था मिलाइएको छ ।

आज ३ वटा प्रदेशका ४ महानगरपालिका, १ वटा उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा प्रतिनिधि चयनका लागि मतदान भैरहेको छ । पहिलो चरणमा तीन वटै प्रदेशबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन सुरक्षाका लागि ३ वटै प्रदेशमा गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी ६२ हजार ९ सय १६ सुरक्षाकर्मी परिचालित छन् ।

प्रदेश नम्बर ३ मा नेपाल प्रहरीका १० हजार ३ सय ७६, प्रदेश नम्बर ४ मा ७ हजार ५४ र प्रदेश नम्बर ६ मा ५ हजार १ सय ४५ सुरक्षाकर्मी परिचालित छन् । त्यसैगरी सशस्त्र प्रही बलबाट प्रदेश नम्बर ३ मा ८ हजार ९ सय ३५, प्रदेश नम्बर ४ मा ३ हजार ९ सय ७३ र प्रदेश नम्बर ६ मा ४ हजार ४ सय ४८ जना परिचालित छन् । राष्ट्रिय अनुसन्धान विभागबाट पनि प्रदेश नम्बर ३, ४ र ६ म क्रमशः १ सय ७५, १ सय १५ र ९३ जना परिचालित छन् । मतदानमा कुनै अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीबाट पैदल मार्ग, हवाई गस्ती र हाई प्वाईन्ट ड्युटीसमेतको व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनमा ४९ हजार ३३७ उमेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उमेदवार छन् । निर्वाचनबाट नगरप्रमुख वा अध्यक्ष गरी २८३ र त्यतिकै संख्यामा उपप्रमुख वा उपाध्यक्ष निर्वाचित हुनेछन् । यस निर्वाचनबाट २ हजार ५९८ वडाध्यक्ष निर्वाचित हुनेछन् । निर्वाचनमा प्रमुख वा अध्यक्षमा कुल एक हजार ७२३ पुरुष र १५७ महिला गरी एक हजार ८८० तथा उपप्रमुख एवं उपाध्यक्षमा पुरुष २५७ र महिला एक हजार १२७ गरी जम्मा एक हजार ३८४ जना प्रतिस्पर्धामा छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उमेदवारी फिर्तापछि कुल ४९ हजार ३३७ उम्मेदवारमध्ये महिला ३९ प्रतिशत र पुरुष ६१ प्रतिशतको उमेदवारी कायम छ । नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७२३ र महिला १५७ जनाको मात्रै उमेदवारी छ । नगरप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको सङ्ख्या सबैभन्दा बढी देखिएको छ । उपाध्यक्षमा २५७ जना पुरुष र एक हजार १२७ जना महिला छन् ।

वडाध्यक्षमा पुरुष १० हजार २९६ जना र महिला ४४८ जना उमेदवारहरू निर्वाचनको मैदानमा छन् । यसैगरी, वडा सदस्य दुई पद खुलाका लागि पुरुष १७ हजार ७२९ र महिला ९५१ जना र महिला वडा सदस्य पदमा नौ हजार ८३ र दलित महिला वडा सदस्यमा ७ हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार, राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ । यस निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता मतदान कार्यमा सहभागिता जनाउन लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । निर्वाचनमा ४९ संस्थाका पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् भने आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ताको समेत व्यवस्था मिलाएको छ ।

शीर्ष नेताद्वारा मतदान
स्थानीय तहको निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरुले पनि मतदान गरिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ, नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं र राप्रपाका अध्यक्ष कमल थापाले हेटौंडाबाट मतदान गरिसकेका छन् ।

प्रधानमन्त्री दाहालले चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेका हुन् । भरतपुर महानगरपालिका ४ नम्बर वडाको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । भरतपुर महानगरमा दाहाल पुत्री रेणु दाहाल मेयरकी उमेदवार छन्, जहाँ नेपाली कांग्रेसले पनि उनलाई समर्थन गरेको छ । मतदान सकेर बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले जनताको सहभागिता अपेक्षा गरेको भन्दा बढी पाइएको बताए । उनले जनतामा व्यापक उत्साह बढेको भन्दै कांग्रेससँगको तालमेल पनि स्वभाविक भएको बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले तनहुँको सत्यवती माविबाट मतदान गरेका छन् ।
उनले मतदानपछि पत्रकारसँग कुरा गर्दै स्थानीय सरकारको सपना साकार हुन लागेको बताए । उनले यो निर्वाचनको ऐतिहासिक क्षण भएको पनि बताए ।राप्रपा अध्यक्ष थापाले हेटौंडाको बालज्योति मावीबाट मतदान गरेका छन् । एमाले नेता भट्टराईले काठमाडौंको डिल्लीबजार कन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । @बाह्रखरी

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्