मेयरका उम्मेदवारहरुले यसरी गरे मताधिकार प्रयोग
काठमाडौं, बैशाख ३१ : पहिलो चरण अन्तरगत भइरहेको स्थानिय निर्वाचनमा सबैभन्दा बढी आक्रषणको केन्द्रबिन्दु काठमाण्डौं महानागरपालिका रहेको छ । यस महानगरपालिकाको भावी मेयर को हुने हो त्यो सबेको चासोको बिषय बन्न पुगेको छ । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरुले काठमाडौंका विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् । मेयरका लागि कांग्रेस उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट मतदान गरेका छन् ।
एमालेका तर्फबाट काठमाडौं महानगरका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले लगनचोकस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । विवेकशील नेपालीको तर्फबाट मेयरको उम्मेदवार बनेकी २१ वर्षीया रञ्जु दर्शना मतदान गर्न लाइनमा बसिन् ।
रञ्जु राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि रहेको वडानम्बर ३ स्थित मतदान केन्द्रमा मतदान गर्न टेम्पु चढेर गएकी थिइन् । विवेकशीलले निर्वाचन आयोगबाट अनुमति लिएर टेम्पु प्रयोग गरेको थियो । माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले जनप्रभात स्कुल कालिमाटीबाट मतदान गर्दैछन् । उनले बिहान साढे १० बजे मतदान गर्ने बताए ।
काठमाडौं महानगरमा साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले परीक्षा नियन्त्रण कार्यालय बल्खु केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । यसैगरी कांग्रेसबाट उपमेयरकी उम्मेदवार हरिप्रभा खड्गीले पदम कन्या क्याम्पस बागबजारबाट मतदान गरेकी छन् ।
माओवादीकी उपमेयरकी उम्मेदवार सुशीला पौडेलले भने महांकाल पानीट्यांकी मतदान केन्द्रबाट मत खसाल्ने जानकारी दिइन् ।