Logo
७ बैशाख २०८१, शुक्रबार
(May 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख नेता बालुवाटारमा: महाअभियोग प्रस्ताव फिर्ता तयारी, कार्कीले राजीनामा दिने !

काठमाडौं, बैशाख २४ : कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका वीच त्रिपक्षीय द्धन्दको परिस्थितिलाई समाल्न सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरु बालुवाटारमा गम्भीर वार्तामा जुटेका छन ।प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने विधि खोज्न र पहिलो चरणका बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गरेपछि दोस्रो तहको निर्वाचन र बजेटका बारेमा नेताहरु वीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बैठकमा हुनुहुन्छ । जेठ १५ गते बजेट ल्याउनु पर्ने संम्बैधानिक व्यवस्था, जेठ ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको दोस्रो तहको निर्वाचनको मितिका बारेमा नेताहरु वीच छलफल भएको छ । प्रतिपक्षी दल एमालेले जेठ १५ गते बजेट ल्याउनु भन्दा पहिले दोस्रो चरणको निर्वाचन गरिनु पर्ने तर्क राख्दै आएको छ ।

यता, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव काँग्रेस-माओवादी गठबन्धनले फिर्ता लिने भएको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनभन्दा पहिले नै महाअभियोग प्रस्ताव फिर्ता हुने गठबन्धनका एक नेताले बताए । ‘जसले दर्ता गराउनुभयो, उहाँहरुले नै फिर्ता लिन सक्नुहुन्छ,’ ती नेताले भने, ‘यही समझदारीका आधारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच देखिएको द्वन्द्व सहजीकरणको दिशामा गएको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच भएका छलफल र प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसहितका बरिष्ठ वकिलहरुसँग गरेको परामर्शका आधारमा द्वन्द्व समाधानको दिशामा अगाडि बढने उपाय खोजिएको हो ।

आगामी जेठ २४ गते स्वत: अवकाश हुने प्रधानन्यायधीश कार्की बिदामा बस्ने वा नबस्ने विशेषाधिकार उहाँलाई रहेको ती नेताले बताए । स्वत: अवकाश हुनुभन्दा एक महिना अगाडि विदामा बस्ने प्रचलन रहँदै आएको छ । स्रोतका अनुसार केही दिन पराजुली विदामा बस्ने र कार्कीले सर्वोच्चमा प्रशासनिक जिम्मेवारी सम्हाल्ने, केही दिनपछि कार्की विदामा बस्ने र कार्की कार्यवाहक प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च अदालतमा फर्कने गरी समझदारी भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतवार अध्यक्ष थापा र गृहमन्त्री बिमलेन्द्र निधिसँग छुट्टा-छुट्टै परामर्श गर्नु भएको थियो भने ओलीसँग शनिवार छलफल गर्नु भएको थियो। ती नेताका अनुसार सर्वोच्च अदालत फर्कनु भएकी प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रलाई घात हुने अवस्था बाहेकको अवस्थामा मुद्दा नहेर्ने र विवादित मुद्दालाई पनि सर्वोच्चले अगाडि नबढाउने समझदारी भएको छ। शेरबहादुर देउवाको मानहानी र आइजीपीसँग सम्बन्धित मुद्दा सर्वोच्चले अगाडि बढाउने छैन ।

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणको मुद्दा फैसला गर्दा कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै वैशाख १७ गते व्यवस्थापिका संसदमा काँग्रेस र माओवादी केन्द्रका दुई सय ४९ जना सांसदहरुको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । काँग्रेस सांसद मिन विश्वकर्मा प्रस्तावक रहेको प्रस्तावको समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत रहनु भएको थियो ।
कार्कीले राजीनामा दिने !

प्रधानन्यायाधीश सुशीला कार्कीले राजीनामा दिन सक्ने अनुमान गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष आइतवार साँझ ५ बजे भेट गर्न जाने कार्यक्रम तय भएपछि सर्वोच्च अदालत भित्र यस्तो अनुमान गरिएको हो । आफूलाई काममा फर्कन सर्वोच्चले आदेश दिएपछि कार्की आइतवारदेखि नै सर्वोच्चमा हाजिर भएर काममा लाग्नु भएको थियो । आफू माथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएपछि उहाँ प्रधानन्यायाधीशबाट निलम्बनमा हुनुहुन्थ्यो ।

प्रकाशित मिति: May 7, 2017

प्रतिक्रिया दिनुहोस्