Logo
१५ चैत्र २०८०, बिहीबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चविरुद्ध विद्यार्थीहरुको संयुक्त विरोध प्रदर्शन

काठमाडौं, वैशाख २३ : सर्वोच्च अदालतले संसदको विशेषाधिकारको सम्मान नगरेको भन्दै सत्तारुढ कांग्रेस र माओवादी निकट विद्यार्थीहरुले राजधानीमा संयुक्त विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनीमार्गको भृकुटीमण्डपबाट शुरु भएको विरोध जुलुस पुतलीसडक चोक पुगेर विरोध सभामा परिणत भएको थियोे ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगको प्रक्रिया अघि नबढाउन न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासबाट जारी गरिएको अन्तरिम आदेश असंवैधानिक भएको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् ।कोणसभालाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले सर्वोच्चको आदेश अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै तत्काल खारेज गर्न माग गरे ।

‘तासलाई जुवा हैन बुद्धि लगाएर खेलिने राम्रो खेल हो भनेर फैसला दिने चोलेन्द्र शमशेर नै हुन्,’ भन्दै महरले भने, ‘साहित्यिक निवन्धको शैलीमा आएको असंवैधानिक आदेशमा पुनर्विचार गरियोस् ।’ विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले संविधानभन्दा माथि कोही पनि छैन भन्दै यो आदेशले संसदको विशेषाधिकार र संविधानको हुर्मत लिएको टिप्पणी गरे ।

उपाध्यक्ष बस्नेतले पनि सर्वोच्चको आदेश अविलम्ब सच्याउन माग गरे । विरोध कार्यक्रममा नेविसंघ उपाध्यक्ष पुष्पविक्रम शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङ लगायतको सहभागीता थियोे ।

प्रकाशित मिति: May 6, 2017

प्रतिक्रिया दिनुहोस्