Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निक्षेप घटेका वाणिज्य बैंकहरुले ऋण प्रवाह बढाए


काठमाडौं, २२ बैशाख । अबौं निक्षेप घटेका वाणिज्य बैंकहरुको ऋण प्रवाह बढेको छ । गत साता वाणिज्य बैंकहरूको निक्षेप २ अर्ब रुपैयाँले घटे पनि ऋण प्रवाह ४ अर्बले बढेको हो ।

चैत मसान्तमा करबापत करिब ३५ देखि ४० अर्ब रुपैयाँ सरकारी ढुकुटीमा स्थानान्तरण भएको तथा सरकारी खर्च बढ्न नसकेकाले वित्तीय प्रणालीमा निक्षेप घटेको बैंकरहरूले जनाएका छन् । तर, ऋण प्रवाह भने बिस्तारै बढ्दै गएको छ ।

गत वैशाख ८ मा १६ खर्ब ५४ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कर्जा प्रवाह वैशाख १५ सम्म बढेर १६ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । सोही अवधिमा बैंकहरूको निक्षेप २ अर्ब रुपैयाँले घटेको छ ।
वैशाख ८ मा १९ खर्ब ४६ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप वैशाख १५ सम्म घटेर १९ खर्ब ४४ अर्ब रुपैयाँ कायम भएको छ ।

विदेशी मुद्रामा गरिने निक्षेप गत साता २ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो साता १ खर्ब १० अर्ब रुपैयाँ रहेको यस्तो निक्षेप गत साता घटेर १ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ ।

उक्त अवधिमा स्थानीय मुद्रामा निक्षेप स्थिर छ । अघिल्लो साता १८ खर्ब ३६ अर्ब रुपैयाँ रहेको स्थानीय मुद्राको निक्षेप गत साता पनि त्यत्ति नै कायम छ । निक्षेप संकलनभन्दा कर्जा प्रवाह धेरैले बढेपछि करिब ३ महिनाअघि अधिकांश बैंक तथा वित्तीय संस्थाको सीसीडी अनुपात (पँुजीसहित कर्जा निक्षेप अनुपात) ८० प्रतिशत माथि पुगेको थियो ।

त्यो राष्ट्र बैंकले तोकेको अधिकतम सीमाभन्दा बढी हो । यसैकारण राष्ट्र बैंकले राहतस्वरूप केही समयका लागि उत्पादनमूलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत र विपन्न वर्ग कर्जा सीसीडी रेसियोमा गणना गर्नु नपर्ने छुट दिएको थियो । यो सुविधाले बैंक तथा वित्तीय संस्थालाई ठूलो राहत मिलेको छ । यस्तो छुटको समय अवधि सकिन २ महिना मात्र बाँकी छ ।

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्