Logo
७ बैशाख २०८१, शुक्रबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ बर्ष बालिकासँग बालबिवाह गर्ने मण्डपबाटै पक्राउ 

कलैया, बैशाख १७:  आफूभन्दा झण्डै १५ बर्ष कम उमेरकी बालिकासँग विवाह गर्न लागेको अवस्थामा जिल्ला प्रहरी कार्यलय बाराले बेहुलासहित बेहुलीलाई नियन्त्रणमा लिएको छ । बालविवाह कानुनी अपराध भएपनि गोप्यरुपमा विवाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले सुवर्ण गाउँपालिका २ स्थित कवहीगोठबाट शुक्रबार राती बेहुलाबेहुलीलाई पक्राउ गरेको हो ।
विवाह गर्नका लागि जन्तीसहित पुगेका कलैया उपमहानगरपालिका १३ छोटकी फुलवरियाका २५ वर्षीय रामनरेशप्रसाद यादव बेहुला पोशाकमै विवाह मण्डपबाट पक्राउ परेका हुन् । प्रहरीले यादवसहित अन्दाजी १० बर्षीया बालिकालाई पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका बेहुलाबेहुलीलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै बाराका प्रहरी उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीले गोप्यरुपमा विवाह गर्दै गरेको सूचना पाएपछि राती १० बजे प्रहरी पुगेर दुबै जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । ‘हामीले गाउँगाउँमा बालबिवाहविरुद्ध अभियान सञ्चालन गरेका थियौ, अभियानकै कारण हामीलाई यस्तो सूचना प्राप्त भयो’ उप्रेतीले भन्नुभयो ‘त्यसलगत्तै प्रहरी परिचालन गरेर हामी विवाह रोक्दै बेहुलाबेहुलीलाई नियन्त्रणमा लिएका हौ ।’

प्रहरी पुगेलगत्तै विवाहस्थलमा भागभाग मच्चिएको थियो । प्रहरी पुगेपछि जन्तीसहित दुबै पक्षका अभिभावक समेत फरार भएका छन् । दुबै पक्षका अभिभावकको खोजी भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो । ‘प्रहरी पुग्नेबित्तिकै त्यहा भागाभाग मच्चियो, हामीले बेहुलाबेहुलीबाहेक कसैलाई नियन्त्रणमा लिन सकेनौ’ उप्रेतीले भन्नुभयो ‘फरार अभिभावकको खोजी भइरहेको छ । उनीहरु पक्राउ परेपछि घटनाको बारेमा थप कुरा खुल्नेछ । ‘

पक्राउ परेकी बालिकाको उमेर १० बर्ष भन्दा कम हुनसक्ने देखिएको प्रउ उप्रेतीको भनाइ छ । बयानका क्रममा बालिकाले आफ्नो उमेर ११ बर्षको बताएकी छिन् । बालिकाको शारिरीक अवस्थाबाट भने उनी १० बर्ष भन्दा कम रहेको हुनसक्ने उप्रेतीको भनाई छ । प्रक्राउ परेका यादवमाथी मुलुकी ऐन विवाहवारी महलको २ नम्बर कसुरमा कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ ।

बालिकाको उमेर १० बर्ष भन्दा कम भएमा यादवलाई ६ महिनादेखी तीन बर्षसम्म कैद र ९ हजारदेखी १० हजारसम्म जरिवाना हुनेछ । बालिकाको उमेर १० भन्दा माथी भएमा यादवलाई तीन महिनादेखी ९ महिनासम्म कैद र पाच हजारको जरिवाना हुने प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो । ‘बालिकाको वास्तविक उमेर परिवार फेला नपरेसम्म खुल्ने अवस्था छैन, त्यसैले हामीले उनीहरुको खोजीलाई प्राथमिकतामा राखेका छौ’ उप्रेतीले भन्नुभयो ।

पक्राउ परेकी बालिकालाई अहिले जिल्ला प्रहरी कार्यलय बाराको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । बालिकाको हजुरआमाले उनलाई महिला सेलमै बसेर हेरचाह गरिरहेकी छिन् । बेहुला यादवलाई भने प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यलय बाराका अनुसार बालविवाह गरिरहेको अवस्थामा बेहुला बेहुली पक्राउ परेको जिल्लामै यो पहिलो पटक हो । कानुनी अपराध भएकाले गोप्य रुपमा जिल्लाभित्र बालविवाह हुदै आएको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यलय र महिला तथा बालबालिका सेवा केन्द्रले बालबिवाहविरुद्ध जिल्लामा अभियान सञ्चालन गर्दै आएको छ ।

सेवा केन्द्रका प्रमुख एवम् प्रहरी निरिक्षक अरुणकुमार कुशवाहाले सचेतनामुलक कार्यक्रमकै कारण प्रहरीसम्म सूचना आईपुगेको बताउनुभयो । ‘यो सूचनालाई हामीले उपलब्धीको रुपमा लिएका छौ, गोप्य रुपमा हुने यस्तो अपराधलाई पहिला कसैले बाहिर ल्याउदैनथ्यो’ कुशावाहाले भन्नुभयो ‘सर्वसाधारण सचेत भएकै कारण हामीलाई जानकारी आएको र हामीले तत्कालै पक्राउ गर्न सफल भएका हौ । ‘

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्