Logo
१२ बैशाख २०८१, बुधबार
(April 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतको आदेशमा छुटे लगत्तै सीके राउत फेरि समातिए

रौतहट,  बैशाख : जिल्ला अदालत रौतहटको आदेशमा साधारण तारेखमा रिहा भएका स्वतन्त्र मधेश गठबन्धनका अगुवा डा.सीके राउतलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

जिल्ला अदालत रौतहटले राउतलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशमा साधारण तारेखमा छुटेका राउतलाई तत्काल पक्राउ गरिएको हो ।

राज्यबिरुद्धको मुद्धा र संगठित अपराध मुद्धामा पक्राउ परेका डा.राउतको तर्फबाट ३७ जना वकिलहरुले गरेको बहसपछि जिल्ला न्यायाधीस लक्ष्मीराम ढुंगानाको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

अदालतकोे आदेशपछि बाहिरिन लागेका डा.राउतलाई अदालत परिसरबाट नै बिहीवार साँझ रौतहट प्रहरीले पक्राउ गरेको हो । पक्राउको समय डा.राउतले प्रहरीसँंग पक्राउ पुर्जीको माग गरेका थिए ।

राउतमाथि बाँके जिल्लामा यस्तै प्रकृतिको मुद्धा दर्ता भएकाले उनलाई आवश्यक कारबाहीका लागि बाँके पठाइने रौतहट प्रहरी स्रोतले जनाएको छ ।

साधारण तारेखमा छाड्ने आदेश
स्वतन्त्र मधेश गठबन्धनका अगुवा डा. सीके राउत अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत रौतहटले राउतलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

रौतहट प्रहरीद्वारा राउत उपर लगाइएको राज्य बिरुद्धको अपराध र संगठित अपराध मुद्धामा बहसपछि जिल्ला न्यायधिश लक्षमीराम ढुंगानाको इजलासले डा.राउतलाई साधारण तारेखमा रिहाको आदेश दिएको हो ।

राउतको तर्फबाट सप्तरीबाट आएका दुई जना र रौतहटका ३५ जना गरी कुल ३७ जना वकिलले बहस गरिरहेका छन् । बहसमा सहभागी एकजना वकिल सुरेश तिवारीका अनुसार बिहान ११ बजेदेखि अभियुक्त राउतको बयान भएको थियो भने दिउसो एकबजेदेखि चलेको बहसपछि न्यायाधीस ढुंगानाले उक्त आदेश दिएका थिए ।

गौर चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग गरुडा छेउ झाझपुल नजिक गठबन्धनका कार्यकर्ताहरुले राज्यको बिरोधमा नारा जुलुस प्रदर्शन गर्दा प्रहरीले केहीलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

प्रहरी नायव निरीक्षक रुद्र कँडेलको प्रतिवेदनको आधारमा २०७३ माघ २९ गते उनीहरुसँंगै सीके राउतमाथि पनी जिल्ला प्रहरी कार्यालय रौतहटमा दुई वटै मुद्दा दर्ता भएको वकिल तिवारीले बताए ।

राउत सो समय सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा पनी पुर्वाग्रहीरुपमा सरकारले उक्त मुद्दा लगाएको वकिल सुरेश तिवारीले दावी गरेका छन् ।एउटै प्रकृतिको मुद्धा एकजना मानिस उपर एउटा भन्दा बढी निकायमा न चल्ने सरकारले नागरिक अधिकार र नेपालको संबिधान २०७२मा ब्यवस्था गरेको छ ।

सीके राउत उपर सप्तरी,नवलपरासी,र रौतहट गरी तीन स्थानमा एउटै प्रकृतिको मुद्धा लगाई सरकार तथा प्रहरीद्वारा कानुनको खिल्ली उडाउने काम भएको उनका वकिल तिवारीले आरोप लगाएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञबिनोद पोखरेलले संगठित अपराधमा अभियुक्तले गरेको कसुरको आधारमा मुख्य अभियुक्तमाथि मुद्धा दर्ता हुने र एउटै प्रकृतीको अपराध एउटै ब्यक्तिले १० ठाउँमा गरेको ठहर भएमा छुटा छुटै मुद्धा लाग्ने बताए ।

सिके राउतको बहसको समय जिल्ला अदालत गौरमा कडा सुरक्षाको ब्यवस्था गरिएको थियो ।

प्रकाशित मिति: Apr 28, 2017

प्रतिक्रिया दिनुहोस्