Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेतृत्वमा कुरा मिलेन: नयाँशक्ति र फोरमबीच चुनावअघि एकता नहुने

काठमाडौं, वैशाख ८ :  डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच स्थानीय तह निर्वाचन अघि एकता हुने सम्भावना कम भएको छ । छ मधेसी दलबीच पार्टी एकता भएका भोलिपल्ट शुक्रबार विहान भट्टराई र यादवले संयुक्त विज्ञप्ति जारी गरी ‘पार्टी एकता संयोजन समिति’ गठन गरेको जनाएका थिए । समितिमा भट्टराई र यादवका साथै फोरम बरिष्ठ नेता अशोक राई पनि छन् ।

तराई–मधेसमा लामोसमय सँगै आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध सबै दलहरु एक भएपछि फोरमलाई नयाँ शक्तिसँग एकता गर्न दबाब परेको थियो । पार्टी एकताबारे दिनभरीको ‘एक्सरसाइज’ एकतापछि नेतृत्व कसलाई दिने भन्नेमा अल्झिएको छ । स्रोतकाअनुसार यादवले नेतृत्व नछाडेपछि दुई पार्टीबीच आगामी स्थानीय तह निर्वाचनअघि एकता हुने सम्भावना कम भएको छ ।

सरकारसँग मधेसी मोर्चाको शुक्रबार विहान निर्णायक वार्ता हुँदै गर्दा यादवले वार्तामा दोस्रो तहका नेतालाई पठाएर पार्टी एकताबारे आन्तरिक छलफलमा ब्यस्त थिए । शुक्रबार बेलुका पुनः भएको बालुवाटारको सरकार–मोर्चा वार्तामा पनि यादव गएनन् ।

पार्टी एकताबारे कुरा नमिलेपछि वैशाख ६ गतेदेखि चलेको नयाँ शक्तिको केन्द्रीय कार्यकारी समितिको बैठक निर्वाचनको तयारी गर्ने निश्कर्षमा पुग्यो । दलको चुनाव चिन्हको माग गर्दै आएको नयाँ शक्तिले चुनाव चिन्हको मागलाई चुनावी एजेण्डा बनाउँदै निर्वाचनमा होमिने निश्कर्ष निकालेको छ ।

मोर्चासँगको तत्काल एकता टाढिएपछि निर्वाचनमा सहभागी हुन पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो । साथै स्थानीय तह निर्वाचनमा पार्टीको प्रतिवद्धतापत्र पनि एक साताभित्र सार्वजनिक गर्ने केन्द्रीय कार्य समिति बैठकले निर्णय गरेको छ ।

तत्काल पार्टी एकता नहुने भएपछि नयाँ शक्तिले अन्य पार्टीहरुसँगको एकता प्रक्रियालाई खुला राख्ने निर्णय गरेको छ । पार्टीको विचार, सिद्धान्त र ५‘स’को अवधारणामा सहमत हुने शक्तिहरुसँग कार्यगत एकता तथा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको नयाँ शक्तिले जनाएको छ ।

प्रकाशित मिति: Apr 22, 2017

प्रतिक्रिया दिनुहोस्