Logo
२४ मंसिर २०७९, शनिबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छुवाछुतको डरलाग्दो रुप, खोलाको पानीमा पनि छुवाछूत

काठमाडौं, २४ चैत । खानेपानीका स्रोतहरू इनार, हातेकललगायतमा जातीय छुवाछूतका घटना बारम्बार भएकाले सामान्य लाग्न सक्ला। तर, खोलाको धमिलो पानीमा पनि दलित भनेर छुवाछूत भएको देख्दा, सुन्दा र भोग्दा भने जोकोहीलाई आश्चर्य लाग्न सक्छ।

मिर्चैया नगरपालिका–७ मुराबारी मुसहर (सदाय) बस्तीमा भने वर्षौंदेखि यस्तै आश्चार्यलाग्दो तर अमानवीय छुवाछूत जारी छ। सो गाउँका दलित परिवार स्थानीय बताहा खोलाको धमिलो पानीसमेत कथित माथिल्लो जातका गैरदलितको रवैयाका कारण मुस्किलले मात्र पिउन पाउँछन्।

‘खोलाको किनारमा बनाइएको कुवामा समेत हामीलाई दलित भनेर माथिल्ला जातका मान्छेले पानी भर्न दिँदैनन्,’ स्थानीय ७० वर्षीय बलदेव सदाय भन्छन्, ‘हामी दलितहरू पानी नपाएपछि वर्षौंदेखि बतहा खोलाको धमिलो पानी खान बाध्य छांै।’ स्थानीय दलितहरूसँग माथिल्ला जातका भनिने छिमेकीले ‘तिमीहरू अछूत हौ’ भन्दै खोलाको धमिलो पानीसमेत आफूले प्रयोग गरेपछि मात्र प्रयोग गर्न दिने गरेको तीतो अनुभव छ।

स्थानीय दलित समुदाय नौ वर्षदेखि बतहा खोलाकै पानी पिउँछन्। ‘खोलाको खाडलमा गाईभैंसी पनि पानी खान्छन् र मान्छेहरू दिसा गरेपछि त्यही पानीमा सफा गर्छन्। हामी विवश भएर त्यही पानी पिउन बाध्य छौ,’ सदाय भन्छन्। स्थानीय दलितका अनुसार माथिल्ला जातका भनिने व्यक्तिहरूले तिमीहरू अछुत हौ। पानी भर्ने बेलामा नजिक नआओ’ भनेर हप्काउने गर्छन्। हप्काइ सहन नसकेर माथिल्ला जातका मान्छेहरू पानी थाप्न आएपछि आफूहरू खोलाको डिलमा पालो कुरेर बस्ने गरेको सदायको भनाइ छ।

स्थानीय उच्च जातका भनिने व्यक्तिहरू मदिरा बनाएर विक्री–वितरण गर्छन् भने टोलका दलितहरू भने वनबाट दाउरा काटेर मिर्चैया बजारमा विक्री गर्छन्।
‘नदीको पानीमा छुवाछूत गरेको होइन, पानी भरेको भाडाकँुडामा छोएपछि त छुवाछूत हुन्छ नि,’ स्थानीय प्रेमबहादुर उर्जा मगर भन्छन्, ‘मेरो उमेर ७६ वर्ष भयो, अहिलेसम्म दलितले छोएको पानी खाएको छैन।

मेरा देवताले पनि मान्दैनन्। त्यसैले, भाँडाकँुडा नछुन आग्रह गरेको हुँ, धम्काएको छैन।’ स्थानीय माथिल्ला जातका व्यक्तिहरू भने आफूहरूले मात्र विभेद गरेको नभई दलितले दलितलाई समेत यसरी नै विभेद गर्ने गरेको बताउँछन्। गाउँमा सदायजस्ता दलित छन्, तर उनीहरूपनि डोम (स्थानीयले तल्लो जात मान्ने) ले छोएको पानी किन खाँदैनन् त ?’ उर्जा मगर भन्छन्।

स्थानीय दलित समुदाय पानीको मात्र समस्यमा छैन, गरिबीकै कारण लत्ताकपडासमेत उनीहरू भनेजस्तो लगाउन पाउँदैनन्। ‘पानीसँगै लुगाफाटाको पनि समस्या छ,’ स्थानीय १२ वर्षीया बबिताकुमारी सदाय भन्छिन्, ‘मिर्चैया बजारमा अरूले लगाएको लुगा देख्दा आफूलाई पनि लगाउन मन लाग्छ, तर बुवाआमाले विक्री गर्न लगेको दाउराबाट आएको रुपैयाँ चामलमै खर्च हुन्छ, एउटै कपडाले जीवन काटिरहेकी छु।’

नगरपालिका क्षेत्रमा भएर पनि शिक्षा, स्वास्थ्य, विद्युत् तथा सञ्चारको विकासले गति लिन नसकेको सो वडामा खानेपानीदेखि खाद्यान्नसमेत अभाव हुने गरेको स्थानीयको गुनासो छ। खबर आजको राजधानी दैनिकबाट लिएका हौ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्