Logo
७ बैशाख २०८१, शुक्रबार
(April 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवको भनाई: हाम्रो मुख्य माग नै सीमाङ्कन हो, मिति सार्न सकिन्छ’

काठमाडौं, २१ चैत  । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कन थाँती राखेर स्थानीय निर्वाचनमा मधेसी मोर्चाले भाग नलिने बताएका छन् । न्यूज पोर्टल नेपालखबरसँग कुराकानी गर्दै उनले मधेसी मोर्चाको मुख्य माग नै सीमाङ्कन भएकाले त्यसलाई छाड्न नसकिने बताएका हुन् ।

सङ्घीय गठबन्धनका समेत संयोजक रहेका यादवले सीमाङ्कन थाँती राखेर बाँकी विषयमा संविधान संशोधन गरेर निर्वाचनमा भाग लिने कुरा मोर्चाको नभएको जनाए । ‘सहमतिको चर्चा प्रधानमन्त्रीले चलाएको हो, त्यसको बारेमा उहाँलाई कुरा गर्नुहोस, उनले भने, ‘सीमांकनसहित संविधान संशोधन नहुँदासम्म हामी निर्वाचनमा भाग लिंदैनौं । त्यस्तो अवस्थामा हाम्रो विकल्प आन्दोलन मात्र हो।’ भन्दै नेपालखबरमा समाचार छ ।

शुक्रबार साँझ बालुवाटारमा सत्तापक्ष र मधेसी मोर्चाबीच सहमति भइसकेको अवस्थामा यादवले स्थानीय तहको संख्या थप र मधेसमा नयाँ मतदाता थप गर्नुपर्ने माग अघि सारेपछि लिखित सहमति हुन नसकेको बताइएको थियो । तर यादवले जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप्ने आफ्नो पुरानै माग भएको जिकिर गरे । ‘जनसंख्याको आधारमा पहाड र मधेसबीच असन्तुलित अवस्था नआओस् भनेर सो माग उठाइएको हो। नागरिकता वा नयाँ मतदाताको विषय मैले उठाएको छैन’, उनले भने ।

सरकारले मधेसी मोर्चासँग सहमतिको बिन्दु खोजी गर्न एउटा कार्यदल बनाएर काम थालेको थियो। कार्यदलले सीमाङ्कनलाई थाँती राख्दै मोर्चा चुनावमा जाने गरी समझदारी बनाएको थियो। सोही समझदारीपछि शुक्रबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक डाकेका थिए ।

सो कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, माओवादीबाट कृष्णबहादुर महरा, राप्रपाबाट दीपक बोहोरा छन्। त्यसैगरी मधेसी मोर्चाका तर्फबाट संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र सदभावना पार्टीका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्ण कार्यदलमा छन् । यादवले स्थानीय तहको संख्या थप्दा र संविधान संशोधन गर्दा वैशाख ३१ गते तोकिएको निर्वाचन प्रभावित हुने अवस्था आएमा मिति सार्न सकिने तर्क गरे।

प्रकाशित मिति: Apr 3, 2017

प्रतिक्रिया दिनुहोस्