Logo
१२ बैशाख २०८१, बुधबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडः पर्दा पछाडि लुकेका छन् यस्ता डरलाग्दा वास्तविकताहरु

एजेन्सी,  बलिउड संसारको तेस्रो सबैभन्दा ठूलो (हलिउड र चीन पछि) फिल्म उद्योग हो । भारतीय मात्र नभई विदेशी कलाकार पनि बलिउडमा आफ्नो पहिचान स्थापित गर्न आउँछन् । तर यो उद्योगमा पर्दा पछाडि यस्ता वास्तविकता लुकेका छन् जसको सामना कुनै न कुनै समय धेरैजसो नायक/नायिकाले गर्नु नै परेको हुन्छ ।

१. पायरेसीले हरेक वर्ष १७ हजार करोड नोक्सानी हुन्छः

बलिउड हलिउड कोल्याबरेटिभ स्टडीका अनुसार बजारमा फिल्मको पाइरेटेड कपी पाँच रुपैयाँ र इन्टरनेटमा निःशुल्क उपलब्ध हुँदा बलिउड क्षेत्रमा हरेक वर्ष १७ हजार करोड नोक्सानी भइरहेको छ । यो उद्योगको वार्षिक आयको ४० प्रतिशत हो । पाँच रुपैयाँमा फिल्म बेच्ने पसलेले राम्रो फिल्मबाट लाखौं कमाई गरिरहेको बताइन्छ । ९० करोडको लागतमा बनेको ‘सुल्तान’ को पाइरेटेड एचडी कपी मात्र पाँच रुपैयाँमा त्यसै दिन दिउँसो बजारमा उपलब्ध भएको थियो ।

इन्टरनेटमा थुप्रै साइट्स उपलब्ध छन् जसले भिडियो सेयर गर्ने गर्दछन् । फिल्म रिलिज भएको दिन नै यी साइट्समा फिल्मको पाइरेटेड कपी एचडी प्रिन्टमा डाउनलोडका लागि उपलब्ध हुने गर्दछ । ४० करोड लागतले बनको ‘उड्ता पंजाब’ रिलिजभन्दा दुई दिन पहिले पसलमा उपलब्ध भएको थियो । रिलिजभन्दा पहिले ७० हजार पटक डाउनलोड गरे । १० करोडले बनेको फिल्म ‘माझीः द माउन्टेन म्यान’ २१ अगस्ट सन् २०१५ मा रिलिज भयो । तर तीन दिन पहिले नै यसको एचडी प्रिन्ट बजारमा आइसकेको थियो ।

२. नायिकाको सेक्शुअलाइजेशनः

यूएनको एक सर्वेक्षणको आँकडालाई नियाल्ने हो भने ३५ प्रतिशत नायिकालाई नग्न रुपमा देखाइन्छ । बलिउडमा आइटम नम्बरको ट्रेन्ड पनि अत्यधिक चलिरहेको छ जसमा नायिका र मोडलको शरिर देखाएर फिल्म चलाउने कोसिस गरिन्छ । आइटम नम्बर बिना आजकाल निकै कम फिल्म देख्न पाइन्छ ।

३. कास्टिङ काउचः

कास्टिङ काउच बलिउडको यस्तो वास्तविकता हो जसबाट हरेक नायक नायिका गुज्रनुपर्छ । केही कास्टिङ निर्देशकले अभिनयमा भर्खरै लागेकालाई ठूलो रोल दिलाउने चक्करमा उनीहरुमाथि यौन शौषण गर्नसमेत पछि पर्दैनन् । शक्ति कपुर र अमन वर्मामाथि यस्तो प्रकारको आरोप लागिसकेको छ । कंगना रनोटले पनि एक अन्तर्वार्तामा करियरको सुरुवातमा आफूले निकै समस्याको समाधान गर्नुपरेको कुरा स्विकारेकी थिइन् । अडियन्सपछि सेक्सको माग हुने गरेकोबारे पनि उनले खुलेर कुरा गरिन् । यस्तै गरी, नायिका ममता कुलकर्णीले पनि फिल्म ‘चाइना गेट’ को क्रममा निर्देशक राजकुमार सन्तोषीले उनीसँग सेक्सको माग गरेको आरोप लगाएकी थिइन् ।

४. नायिका नायिकाबिच पारिश्रमिकको अन्तरः

बलिउडमा नायकलाई सफलताको चाबी मानिन्छ । यसै कारण नायिकालाई नायकको तुलनामा निकै कम पारिश्रमिक दिइन्छ । उदाहरणका लागि पछिल्लो वर्ष रिलिज भएको फिल्म ‘सुल्तान’ लाई लिन सक्नुहुन्छ । यो फिल्मबाट सलमानले करिब सय करोड कमाएका थिए भने अनुष्काले ६ करोड पारिश्रमिक पाएकी थिइन् ।

५. भाइ भतिजावादः

बलिउडकी क्विन भनेर चिनिने कंगनाले ‘कफी विद करण’ नामक कार्यक्रममा बलिउडमा भाइ–भतिजावाद धेरै हुने ठोकुवा गरेकी छिन् । यस विषयमा करण जोहरले उनको विरोध गरिरहेका थिए । तर उनको एक पुरानो अन्तर्वार्ताको फुटेज हेर्दा थाहा हुन्छ कि कुनै बेला उनी कंगनाको धारणासँग सहमत हुने गर्दथे । भाइ–भतिजावादको अर्थ यो हुन्छ कि यदि बलिउडमा तपाईंको कुनै ‘गड फादर’ छैन भने तपाईंले बलिउडमा प्रवेश पाउन मुश्किल हुन्छ ।

६. अवार्ड बिक्छः

बलिउडमा हरेक वर्ष थुप्रै अवार्ड कार्यक्रम हुन्छ र यसमा धेरैजसो अवार्डलाई खरिद बिक्रिको आरोप लाग्ने गरेको छ । थुप्रै नायक नायिकाले पैसा दिएर अवार्ड खरिद गर्दछन् र कार्यक्रममा प्रस्तुती दिएको बदलामा अवार्ड दिइने गरिन्छ । राजिव मसंदलाई दिएको एक अन्तर्वार्तामा अक्षय कुमारले यसको खुलासा गर्दै भनेका थिए, ‘थुप्रै पटक अवार्ड कार्यक्रमको आयोजना गर्नेहरुले मलाई अवार्डको लोभ देखाएर आफ्नो प्रस्तुतीको शुल्क कम गर्न आग्रह गर्छन् । तर म उनीहरुलाई उनीहरुको अवार्ड आफै राख्न र मेरो प्रस्तुतीका लागि पूरा पैसा दिनुपर्ने माग गर्छु । ’ आफ्नो बायोग्राफी ‘खुल्लम खुल्ला’ मा ऋषि कपुरले पनि आफ्नो पहिलो फिल्म ‘बबी’ को रिलिज पछि बेस्ट डेब्यू नायकको अवार्ड पाउनका लागि उनले लगभग तीस हजार भारु दिएका थिए ।

७. कस्मेटिक सर्जरीः

बलिउडमा कस्मेटिक सर्जरीको ट्रेन्ड अत्यधिक देख्न पाइन्छ । थुप्रै नायक नायिकाले यसबारे खुलेर नबताएपनि उनीहरुलाई हेरेरै कस्मेटिक सर्जरीको सहारा लिइएको पुष्टि हुन्छ । ओठको शल्यक्रिया, नाक मिलाउने, स्तनको घटबढ, छाला चम्काउने र हेयर ट्रान्सप्लान्ट बलिउड सेलिब्रिटीले अत्यधिक अपनाउने शल्यक्रिया हो । करण जोहरले पछिल्लो वर्ष एक अन्तर्वार्तामा लगभग सबै सेलिब्रिटीले कस्मेटिक सर्जरीको सहारा लिने गरेको र आफूले पनि यस्तो गरिसकेको बताएका छन् । बलिउड सेलिब्रिटी श्रीदेवी, प्रियंका चोपडा, कंगना रनोट, आएशा टाकिया आदिले शल्यक्रिया गरिसकेको कुरा सार्वजनिक भइसकेको छ ।

८. रंगभेदः

फिल्मी उद्योगमा धेरैजसो गोरो छालालाई प्राथमिकता दिइन्छ । यसै कारण कोंकणा सेन, मनोज बाजपेयी, धनुष, स्मिता पाटिलले पनि कामको क्रममा निकै समस्याको सामना गर्नुपर्यो । उदाहरणका लागि धनुषलाई एक अन्तर्वार्तामा उनलाई हिरो गोरो हुनुपर्ने र हेर्दा पनि राम्रो हुनुपर्ने बताइएको थियो । यस्तै केही मनोज बाजपेयीसँग फिल्म ‘जुबैदा’ को क्रममा भएको थियो ।

९. फ्लप अर्थात् सामाजिक मृत्युः

बलिउडमा कुनै नायक नायिका फ्लप हुनु पापको रुपमा हेरिन्छ । यस्ता नायक नायिकालाई मानिसहरुले अचानक बेवास्ता गर्न सुरु गर्छन् । कुनै पनि प्रोडक्सन हाउसले उनलाई साइन गराउन चाहँदैन । कसैले पनि उनीसँग काम गर्न रुचाउँदैनन् । उदाहरणका लागि आफ्नो जमानाकी चर्चित नायिका नादिरालाई नै लिनुहोस् । एक समयमा उनले ‘श्री ४२०’, ‘जुली’ र ‘पाकिजा’ जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिइन् । तर पछि मानिसहरुले उनलाई हेर्न नै बन्द गरे । दिप्ती नवलजस्ता केही कलाकारमात्र थिए जो उनको पक्षमा उभिएका थिए । पछि एक्लोपनसँग जुझ्दै गर्दा नादिराको मृत्यु भयो ।

१०. चाडपर्वमा ठूला कलाकारको कब्जाः

यो चलन पछिल्ला केही वर्षदेखि तीब्र रुपमा बढिरहेको छ । शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगनजस्ता चर्चित कलाकारले इद, दिवाली, क्रिसमसजस्ता पर्वमा आफ्नो कब्जा जमाउने गर्दछन् । धेरैजसो उनीहरुको फिल्म नै चाडपर्वमा रिलिज हुने गर्दछ । ठूलो बजेट र स्टारडमका कारण दर्शकको ध्यान आकृष्ट गरेको हुन्छ । यसका कारण धेरैजसो साना कलाकार र थोरै बजेटको फिल्मले बक्स अफिसमा आफ्नो पहिचान बनाउन सफल हुँदैनन् ।

११. अन्डरवर्ल्डको पैसाः

बलिउड फिल्ममा अन्डरवर्ल्डको पैसा लगानी गरिने कुरा धेरैजसो सार्वजनिक हुने गरेको छ । सन् २००१ मा रिलिज भएको  सलमान खान, प्रिटी जिन्टा र रानी मुखर्जी स्टारर ‘चोरी चोरी चुपके चुपके’ फिल्ममा मुम्बई अन्डरवर्ल्र्डका डन छोटा शकिलले लगानी गरेको कुरा सार्वजनिक भएको थियो । ‘वान्स अपन अ टाइम इन मुम्बई’ जस्ता फिल्ममा यस्तो प्रकारको मामला पनि देखिएको छ ।

१२. सिनेमा र गरिबीः

उद्योगमा यस्तो थुप्रै स्टार पनि आइसकेका छन् जसले आफ्नो कार्यकालमा दर्शकलाई निकै मनोरञ्जन प्रदान गरे । तर अन्तिम अवस्थामा उनीहरुसँग उपचार गराउनको लागिसमेत पैसा नभएको र एक्लो जीवन बाँच्न बाध्य भएको खबर सुन्ने गरेका छौं । ए के हंगल, भगवान दादा, भारत भूषण, जगदिश माली र परवीन बाबीजस्ता कलाकार यसका उदाहरण हुन् । यी सबै कलाकारको अन्तिम अवस्था निकै खराब थियो । उदाहरणका लागि जगदीश मालीलाई भिक मागिरहेको पाइएको थियो भने ए के हंगलसँग उपचारको लागि पैसा थिएन । यस्तैगरी, परबीन बाबीको शव मृत्यु भएको तीन दिनसम्म उनको अपार्टमेन्टमा नै सडेको अवस्थामा पाइएको थियो ।

 

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्