Logo
१५ चैत्र २०८०, बिहीबार
(March 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेताको हत्या भएपछि सत्तारुढ दलकै भातृ संगठन नेविसंघ सडकमा


काठमाडौं, १६ चैत । जाजरकोटमा आफ्ना नेताको हत्या भएपछि सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ संघर्षमा उत्रिएको छ ।

नेपाली कांग्रेस जाजरकोटका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको मंगलबार राति अज्ञात समूहले हत्या गरेपछि नेपाल विद्यार्थी संघको आकस्मिक बैठक बसेको हो ।

संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा बुधबार विहान बसेको बैठकले हत्याको बिरोधमा दिउँसो दुई बजे काठमाडौंमा त्रिचन्द्र कलेज र देशभरका क्याम्पसमा एक घन्टा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बिहीबार देशैभरका कलेजमा विरोधका कार्यक्रम गरिनेछन् भने शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।

मंगलबार राति अज्ञात समुहद्वारा शाहको बर्बरतापूर्ण, पासबिक तरिकाले हत्याको घटनाले सिंगो संगठन दुःखी र मर्माहत भएको जनाउँदै यो घटना लोकतन्त्रमाथिको प्रहार भएको संघको ठहर छ ।

आसन्न स्थानीय निर्वाचनको पूर्व संध्यामा लोकतान्त्रिक पार्टीको जुझारु नेताको निर्ममतापूर्वक गरिएको हत्या लोकतन्त्रमाथिकै आक्रमण भएको अध्यक्ष महरले बताए ।

नयाँ संविधान कार्यान्वयन गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अवसर प्राप्तिका बेला लोकतान्त्रिक कार्यकर्तामाथि गरिएको आक्रमणलाई राज्य र पार्टीले त्यही रुपमा हेर्न जरुरी भएको ठम्याइ नेविसंघको छ ।

संघले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गरेर हत्यारा पत्ता लगाइ कडा कारवाहीको माग समेत गरेको छ ।

प्रकाशित मिति: Mar 29, 2017

प्रतिक्रिया दिनुहोस्