Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय र चिनियाँ मिडिया नेपालबारे जुहारी

काठमाडौं । ‘हिन्दुस्तान टाइम्स’ को गत आइतबारको अंकमा भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणसम्बन्धी समाचार छापियो। ‘भारतीय सेनाध्यक्ष रावले नेपाल भ्रमण गर्ने’ शीर्षकमा छापिएको सो समाचारमा चीनलाई जबर्जस्त तानियो। ‘प्रस्तावित चिनियाँ रक्षामन्त्रीको चैत १० गतेबाट सुरु हुने तीनदिने नेपाल भ्रमण र आसन्न नेपाल–चीन संयुक्त सैन्य अभ्यासले नयाँ दिल्लीलाई ‘नर्भस’ बनाएको छ,’ हिन्दुस्तान टाइम्समा लेखिएको छ।

समाचारमा चिनियाँ रक्षामन्त्रीले नेपाललाई चीनको महत्वकाक्षी योजना ‘वान बेल्ट वान रोड’ को सदस्य बन्न दवाबसमेत दिने जनाइएको छ। नेपाल–चीन सैन्य अभ्यास र रक्षामन्त्रीको नेपाल भ्रमणका बेला हुनसक्ने सम्भावित रक्षा तथा सैन्य सहयोगलाई नयाँ दिल्लीले नजिकबाट नियालिरहेको उल्लेख गर्दै समाचारमा लेखिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल आफंै चीन भ्रमणमा निस्कन लागेका बेला दाहाल नेतृत्वको सरकार चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण र नेपाल–चीन संयुक्त सैन्य अभ्यासलाई रोक्न ‘नो’ भन्न सक्ने स्थितिमा छैन।’

भारतबाट प्रकाशित हुने ‘हिन्दुस्तान टाइम्स’ मा सो समाचार छापिएको दुई दिन बित्न नपाउँदै मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीनिकट अखबार ‘ग्लोबल टाइम्स’ ले हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारको जबाफ दियो। ग्लोबल टाइम्सले ‘दक्षिण एसियामा चीनको संलग्नताप्रति भारत आवश्यकताभन्दा बढी संवेदनशील’ शीर्षकमा अई जुनको लेख प्रकाशित गरी जबाफ दिएको हो। ‘नेपाल र श्रीलंकाका रक्षामन्त्रीको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री चाङ वानक्वान दुई दक्षिण एसियाली राष्ट्रको भ्रमणमा जाँदै हुनुहुन्छ। अवलोकनकर्ताले यो भ्रमणका कारण भारतको छटपटी बढेको भविष्यवाणी गर्न थालेका छन्, जसलाई भारतीय मिडियाले प्रमाणित गरेका छन्,’ ग्लोबल टाइम्समा लेखिएको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारलाई ग्लोबल टाइम्सले ‘शंकास्पद र अप्रिय’ भनेको छ। चिनियाँ सरकारले छिमेकीसँग कुरा गर्दा लठ्ठी लिएर बसेझैं गरी समाचार सम्प्रेशण गरिएको आरोप ग्लोबल टाइम्सको समाचारमा छ।

प्रधानमन्त्री दाहालको चीन भ्रमण, चिनियाँ रक्षामन्त्री चाङको नेपाल भ्रमण, नेपाल–चीन संयुक्त सैन्य अभ्यास, भारतीय सेनाध्यक्ष विपिन रावतको नेपाल भ्रमणलाई लिएर भारतीय र चिनियाँ मिडियाँबीच जुहारी चलेको हो। ‘यस क्षेत्रमा बेइजिङको बढ्दो प्रभावप्रति भारत असहज हुनु सामान्य हो,’ ग्लोबल टाइम्समा लेखिएको छ, ‘सत्य के हो भने, भारतले दक्षिण एसिया र हिन्द महासागरलाई आफ्नै ‘ब्याकयार्ड’ (घर पछिको जमिन) जस्तो ठानेको छ। उदाहरणका लागि, चीन र भुटानबीच अहिलेसम्म कूटनीतिक सम्बन्ध स्थापना हुन नसक्नुको एउटा प्रमुख कारण नयाँ दिल्ली हो।’ भारतले भुटानलाई आर्थिक र कूटनीतिक रुपमा नियन्त्रण गरेको आरोप चिनियाँ मिडियाको छ।

दुवै देशका मिडियाले आआफ्नो राष्ट्रिय स्वार्थलाई लिएर दन्तबजान गरिरहेका छन्। यसै सेरोफेरोमा भारतीय मिडियामा केही समाचार प्रकाशित भए चिनियाँ मिडियाले र चिनियाँ मिडियाले केही लेखे भारतीय मिडियाले खण्डन गर्ने शृंखलाले निरन्तरता पाइरहेका छन्।

‘भारत अनावश्यक रुपमा चीनप्रति शंकालु बन्दा त्यसले नेपाल र श्रीलंकाको बेइजिङसँगको सम्बन्धमा असर गरेको छ। यद्यपि दुवै देशले दुई ठूला छिमेकीसँग सन्तुलित व्यवहार गर्ने प्रयास गरिरहेका छन्,’ ग्लोबल टाइम्सले लेखेको छ। यो तटस्थतालाई भारतले अझैं पनि ‘प्रो–बेइजिङ’ नीतिको रुपमा लिएको चिनियाँ मिडियाको बुझाइ छ। ग्लोबल टाइम्सले स्पष्ट भनेको छ, ‘जब यी दुई देशका शीर्ष नेताले चीनको भ्रमण गर्छन्, तब भारतीय मिडियाले बढाईचढाई भारतले उनीहरूलाई गुमाउँदै वा चीनको दक्षिण एसिामा बढ्दो प्रभाव नयाँ दिल्लीका लागि चुनौति भनी लेख्न भ्याउँछन्।’

चीन र यसका छिमेकी राष्ट्रसँगको सम्बन्धलाई लिएर संशकित हुन छोड्न भारतलाई ग्लोबस टाइम्सले आग्रह गरेको छ। नेपाल र श्रीलंकाले चीनसँग मिलेर परियोजना अघि बढाउन चाहेको उल्लेख गर्दै ग्लोबल टाइम्सले चिनियाँ कम्पनी यी देशमा बढ्दै जाँदा स्वतः रक्षा क्षेत्रमा पनि सहयोग र सहकार्य बढने जनाएको छ। यसले चीनको मात्र नभई पूरै यस क्षेत्रको स्वार्थको रक्षा हुने बुझाइ चिनियाँ मिडियाको छ।

‘चीन र यस क्षेत्रका देशको साझा विकासको इच्छालाई भारतले बुझ्ने छ भन्ने आशा चीनले लिएको छ,’ ग्लोबल टाइम्सले लेखेको छ, ‘यदि भारतको यस्तो प्रवृत्ति जारी रह्यो भने चीनले त्यसको प्रतिरोध गर्नेछ, किनकी त्यतिबेला चीनको मुख्य चासो उल्लंघन भएको हुनेछ। हामी यस्तो होस् भन्ने चाहन्नौं। बल भारतीय पोल्टामा छ। ‘

ग्लोबल टाइम्सले सो लेख छापेकै दिन भारतीय ठूला मिडियाले त्यसको जबाफ दिन भ्याए। मंगलबार हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया, इन्डिया टुडेलगायत अनलाइन संस्करणमा ग्लोबल टाइम्सको लेखलाई उद्धृत गर्दै समाचार प्रकाशित भए। ग्लोबल टाइम्सको लेखलाई लिएर टाइम्स अफ इन्डियाले ‘नेपाल र श्रीलंकामा हस्तक्षेप नगर्न चिनियाँ मिडियाद्वारा भारतलाई चेतावनी’, इन्डिया टुडेले ‘चिनियाँ मिडियाद्वारा आफ्नो रक्षामन्त्रीको नेपाल र श्रीलंका भ्रमणमा हस्तक्षेप नगर्न भारतलाई चेतावनी’ र टाइम्स अफ इन्डियाले ‘हाम्रो दक्षिण एसियासँगको सम्बन्धमा भारतले तिक्तता बढाउन खोजे चीनले प्रतिरोध गर्ने : स्टेट मिडिया’ शीर्षकमा समाचार प्रकाशित गरे।

‘चिनियाँ रक्षामन्त्रीको नेपाल र श्रीलंका भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ मिडियाबाट धम्की आएको छ,’ टाइम्स अफ इन्डियाले लेखेको छ, ‘यी देशमा दशकौंदेखि रहेको भारतीय प्रभाव कम गर्न सहज छैन भनेर चीन चिन्तित छ।’

टाइम्स अफ इन्डियाले भारतीय स्थल सेनाध्यक्ष रावतले यही मार्च २८ देखि ३१ सम्म गर्ने नेपाल भ्रमणलाई लिएर चीन अत्तालिएको आरोप लगाएको छ। भारतीय सेनाध्यक्षको भ्रमणले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बेला भएका निर्णयलाई प्रभावित बनाउन सक्ने समेत भारतीय मिडियाको दाबी छ। ‘नेपाल भ्रमणका बेला सेनालाई आवश्यक पर्ने हार्डवेयर र सफ्टवेयर बिक्री सम्बन्धमा छलफल हुने आशा भारीय सेनाध्यक्षले लिएका छन्। यही कार्य चीनले पनि गर्न चाहेको छ। यसैमा चिनको चिन्ता छ,’ टाइम्स अफ इन्डियाले लेखेको छ।

नेपाललाई लिएर चिनियाँ र भारतीय मिडियाबीच जुहारी चलेको यो पहिलोपटक भने होइन। हरेक उच्चस्तरीय भ्रमणअघि, ठूला परियोजना निर्माणको जिम्मेवारी पाउनुअघि दुई देशका मिडियाबीच समाचारको दोहोरी चल्छ। नेपाल र चीनबाट एकअर्को देशमा हुने उच्चस्तरीय भ्रमणलाई लिएर प्रायः जुहारी चल्दै आएको छ।

ग्लोबल टाइम्सले प्रधानमन्त्री दाहालको बिहीबारदेखि हुने चीन भ्रमणलाई शंकाको दृष्टिले हेरेको छ। उक्त अखबारले दाहाललाई भारतमैत्री नेताको रुपमा चित्रण गरेको छ। दाहालको भारतमुखी विदेश नीतिका कारण नेपाल–चीन सम्बन्ध खस्कँदो अवस्थामा रहेको ठहर ग्लोबल टाइम्सको छ। ‘पुष्पकमल दाहाल र शेरबहादुर देउवा दुवैले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौतालाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्। तर, व्यवहार त्यस्तो छैन।’

प्रधानमन्त्री दाहालको भारत भ्रमण बेला पनि भारतीय र चिनियाँ मिडियाबीच जुहारी चलेको थियो। ग्लोबल टाइम्सले नेपाली नेतामाथि राष्ट्रिय स्वार्थभन्दा पनि आफ्नो स्वार्थ अनुकूल छिमीकीसँग सम्बन्ध बढाउने गरेको आरोप लगाएको थियो।

‘जब नया ँदिल्लीबाट दबाब आउँछ तब काठमाडौं बेइजिङसँग नजिक हुन्छ र थुप्रै महŒवपूर्ण सम्झौता गर्छ। नेपाल–चीन सम्बन्ध क्षणमै संवेदनशील र कमजोर बन्छ,’ दाहालले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्ने भएपछि ग्लोबल टाइम्सले लेखेको थियो, ‘चीनले कहिल्यै पनि नेपाल–भारत सम्बन्धमा अवरोध पुर्‍याएको छैन, तर नयाँ दिल्लीले नेपाल–चीन सम्बन्धमा सधै हस्तक्षेप गर्दै आएको छ।’

चीनले तुल लगाएर रेलमार्फत सामग्री नेपाल पठाउँदा पनि भारतीय र चिनियाँ मिडियाबीच जुहारी चलेको थियो। नेपालमा रेलबाट सामग्री पठाएको कुरालाई चीनले अनावश्यक रुपमा प्रचार गरेको आरोप भारतीय मिडियाले लगाएका थिए भने चिनियाँ मिडियाले त्यसलाई भारतको असन्तुष्टिका रुपमा व्याख्या गरेका थिए। भारतलाई चिढ्याउन चीनले रेलबाट सामग्री पठाएको कुरालाई प्रचारप्रसारमा ल्याएको भारतीय मिडियाको बुझाइ थियो।

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्