Logo
७ बैशाख २०८१, शुक्रबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको पुरानै रुपः प्रमुख दलको बैठकमा यस्तो चेतावनी

काठमाडौं,  चैत ७ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरेको सत्तारुढ काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव थाति नराखे निर्वाचन प्रभावित हुनेतर्फ सचेत गराएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढनुको विकल्प नरहेको बताए । संविधान संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन सम्पन्न गर्ने पार्टीको अडान यथावत रहेको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले बैठकपछि जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउने विषयमा भइरहेको छलफलबारे जानकारी दिँदै आवश्यक सुझाव दिन एमालेसँग आग्रह गरेका थिए । सरकारले सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउने प्रयास गर्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने दृढता पनि व्यक्त गरेका थिए ।
निर्वाचन समयमै हुन्छ भन्दै त्यसमा दायाँबायाँ नहुने अडान आफूले मधेशी मोर्चाका नेताहरुलाई भनेको कुरा पनि प्रधानमन्त्रीले जानकारी गराएको एमाले संसदीय दलका नेता नेम्वाङले बताए ।

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्