Logo
४ बैशाख २०८१, मंगलबार
(March 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोर्चाद्धारा पुनः अस्वीकार, प्रधानमन्त्रीले भने, ‘धेरै टाढा पनि नजानुहोला’

काठमाडौ, चैत ४  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको प्रस्तावलाई मधेशी मोर्चाले अस्वीकार गरेको छ । सांसदमा प्रस्तुत सधिवान संशोधन विधेयकमध्येका सिमांकन बाहेक अन्य तीन विषयलाई पारित गर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई मधेशी मोर्चाले अस्वीकार गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले हिजो पनि मधेशी मोर्चाका नेताहरुलाई बोलाएर संविधान संशोधन प्रस्तावमा रहेको नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई तत्काल पारित गर्ने र सीमाङ्कन सम्बन्धी तथा संविधानका अन्य केही धारालाई निर्वाचनपछि संशोधन गर्ने गरी सहमतिको प्रस्ताव राखेका थिए ।

त्यस्तै गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई राष्ट्रसभाका लागि मतदान गर्ने अधिकार हटाउने, स्थानीय तहलाई प्रदेश अन्तर्गत राख्ने तथा जनसँख्याको आधारमा मधेशको स्थानीय तह बढाउने पनि प्रस्ताव गरेका थिए । तर प्रचण्डको त्यो प्रस्तावमाथि मधेशी मोर्चाले विश्वास गरेको थिएन । त्यही भएर आज प्रचण्डले काँग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापालाई पनि राखेर सोही प्रस्ताव दोहोराए ।

प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेतालाई भने, तपाईहरु धेरै टाढा नजानस् । संशोधन विधेयक पारित गराउन हामी चिन्तित छौँ । विधेयक पारित गराउन तपाईहरु जति चिन्तित हुनुहुन्छ त्यतिकै चिन्तित हामी पनि छौ तर केही बाध्यताहरु छन् त्यो बाध्यतालाई तपाईहरुले पनि बुझि दिनुपर्यो ।’

सीमांकन बाहेकका जति पनि प्रस्तावहरु छन्, ती सबै तत्कालै पारित गराएर कर्यान्वयनमा ल्याउने र सीमांकानका लागि संघीय आयोग गठन गरि प्रदेशको चुनाव अघि नै त्यसको टुगों लगाउन अहिलेलाई यतिमा सहमति गरेर अगाडी बढौं भनि प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेतालाई पटक पटक आग्रह गरे ।

काँग्रेसका सभापति देउवाले पनि अहिले तत्काल समाधानका उपाय यति मात्र रहेको बताउँदै यसमा सहमति गरेर अगाडि बढ्न भनि आग्रह गरे । ‘सीमांकनको विषय पनि टुगों लाग्छ तर यसबेला केही अप्ठ्यारो भएकाले चुनाव लगतै यसको टुगों लगाऔँला,’ देउवाले बैठकमा भनेका थिए ।

राप्रपाक अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव आफूले पहिलादेखि नै राख्दै आएको बताउँदै निकासको बाटो यही नै रहेको र स्थानीय चुनावसम्म यसैमा सहमति गरेर जाने र चुनावपछि सीमांकनको टुगों लगाउने कुरा राखेका थिए ।

त्यसको जवाफमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमांकन आफूहरुको बटमलाइन रहेको र यसलाई छाडेर सम्झौता गर्न नसकिने प्रष्ट पारेका थिए । हिजो प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा अनुपस्थित रहेका अध्यक्ष यादव सीमांकनलाई छाडेर अरुमा सहमति गर्न नसकिने स्पष्ट पारेका थिए जब कि प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा मोर्चाका अन्य नेताहरुले त्यसलाई सकारात्मक रुपमा लिएका थिए ।

हिजोको बैठकबाट बाहिरदा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री प्रचण्डको प्रस्ताव सकारात्मक रहेपनि त्यस्तो प्रस्तावको आधार के भनि स्पष्ट नरहेको प्रतिकृया दिएका थिए तर आज उनी बैठकमा उपस्थित थिएनन् ।प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव सकारात्मक भएपनि विश्वास गर्ने आधार नरहेको मोर्चा नेताहरुको ठहर थियो ।

काँग्रेस र राप्रपासँग सोधेर यो प्रस्ताव ल्याएको हो कि होइन भन्ने पनि मोर्चाका नेताहरुले चार्चा गरेका थिए तर आजको बैठकमा सीमांकन बाहेक अन्य विषयमा मात्र सहमति गर्न नसकिने कुरा राखेपछि सत्ताधारी दलहरु पनि छक्क परेका थिए ।

‘स्थानीय तहलाई प्रदेश अन्तरगर्त राख्नुपर्ने कुरा सैद्धान्तिक कुरा हो, यसलाई तत्कालै टुगों लगाउनुपर्ने’ धारणा उपेन्द्र यादवले राखे । ‘यो त ठूलो भुल हो, यसलाई आफूहरुले नभने पनि सरकारले आफै सुधार गर्नुपर्ने हो,’ यादवको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘सीमांकनको विषय सविधानको धारा २७४ सँग बाँझिएको छ, यसलाई पनि संशोधन गरि सुधार गर्नुपर्छ ।’ रातोपाटीमा खबर छ ।

प्रकाशित मिति: Mar 17, 2017

प्रतिक्रिया दिनुहोस्