Logo
४ बैशाख २०८१, मंगलबार
(March 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर दुईमा स्थानीय तहले धमाधम काम थाले

काठमाडौं, चैत  ।  स्थानीय तहको पुनर्संरचनामा मधेसी मोर्चाले असन्तुष्टि जनाए पनि प्रदेश नम्बर दुईका गाउँपालिका र नगरपालिकाले धमाधम काम थालेका छन्।

दुई नम्बर प्रदेशमा रहेका ८ वटा जिल्ला समन्वय समितिले हरेक गाउँ तथा नगरपालिकामा प्रमुख कार्यकारी तोकिसकेको छ। केही ठाउँमा स्थानीयले नयाँ संरचनाको स्वागत गरेका छन् भने केही ठाउँमा वडा हेरफेरमा गुनासो रहेको विभिन्न जिल्लामा खटिएका गाउँ तथा नगरपालिका कार्यकारी अधिकृतले बताएका छन्।
रौतहटको गरुड नगरपालिकाका कार्यकारी अधिकृत दीपेशकुमार झाले साबिककै कार्यालयमा बोर्ड र लेटर प्याड परिवर्तन गरेर काम भइरहेको बताए। त्यस्तै, धनुषाको हंसपुर गाउँपालिकाका कार्यकारी धर्मराज जोशीले बुधबार नै सेवाग्राही कार्यालयमा आएको जानकारी दिए।

पर्साको जगरनाथपुर गाउँपालिकाका कार्यकारी अधिकृत प्रेमनारायण चौधरीले गाउँपालिकाको बोर्ड, लेटर प्याड सबै बनिसकेको बताए।  ‘हामी केही कुरा मिलाउँदै छौं, नत्र त अरू सबै सामान्य छ,’ उनले भने, ‘एकदुई दिनमै कार्यालय पनि व्यवस्थित हुन्छ होला।’ नयाँ गाउँपालिकाका विषयमा स्थानीयको कुनै विरोध नभएको उनले बताए।

महोत्तरीको बलवा गाउँपालिकाका कार्यकारी अधिकृत खुसीराम यादवका अनुसार यहाँ पनि गाउँपालिकाको बोर्ड, लेटर प्याड बनिसकेका छन्। ‘हामीले कार्यालय बनाउने ठाउँमा अहिले इलाका प्रहरी कार्यालय बसेको छ, उहाँहरू सर्नुभएन भने भाडामा लिएर भए पनि कार्यालय चलाउँछौं,’ उनले भने।

बाराको आदर्शकोतवाल गाउँपालिकाका प्रमुख पुनितप्रसाद जैसवालले गाउँपालिकाले काम सुरु गरिसकेको भए पनि वडा कार्यालयमा कर्मचारीको अभाव रहेको बताए। ‘हामीले बोर्ड, लेटरप्याड बनाएर काम सुरु गरिसक्यौं तर पहिला गाविसमा वडा सचिव नहुँदा मान्छेहरुले सेवा नपाएको गुनासो गरेका छन्,’ जैसवालले भने, ‘केही मानिसले वडाको सीमा उपयुक्त नभएको गुनासो गरेका छन् तर काममा अवरोध गरेका छैनन्।’

नगरपालिका गाउँपालिका हुँदा सुखीपुरमा आक्रोश
सिरहाको सुखीपुरका स्थानीयले भने पहिले नगरपालिका भइसकेको ठाउँलाई फेरि गाउँपालिका बनाइएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।  २०७२ असोजमा नगरपालिका घोषणा भएको सुखीपुरलाई स्थानीय तह पुनर्संरचना आयोगले गाउँपालिका बनाएको थियो।

‘जनसंख्या नपुगेको भन्दै गाउँपालिका बनाइदिएपछि स्थानीय आक्रोशित भएर तालाबन्दी गरेका छन्,’ सुखीपुरका कार्यकरी अधिकृत जयराम पंजियारले भने, ‘नगरपालिका हुन ४५ हजार जनसंख्या हुनपर्नेमा सुखीपुरको जनसंख्या ३७ हजार ५ सय ९२ छ, अरू सबै पूर्वाधार भएकाले नगरपालिका हुनुपर्ने स्थानीयको माग छ।’

दुई नम्बर प्रदेशमा स्थानीय तह कार्यान्वयनका लागि स्थानीय विकास मन्त्रालयले सहसचिव रुद्रसिंह तामाङलाई समन्वयकर्ता तोकेको छ। ‘सुखीपुर, गौशाला लगायतका ठाउँमा तालाबन्दी भएको रिर्पोट आएको छ, सर्लाहीमा जिल्ला समन्वय समितिको बोर्ड जलाएका भन्ने खबर आएको छ,’ तामाङले भने, ‘हामी स्थानीय तहमा मिल्ने कुरा स्थानीय तहमै र उच्च राजनीतिक तहमा मिल्नुपर्ने कुरा त्यहीअनुसार लिएर जान्छौं।’

उनले दुई नम्बर प्रदेशमा स्थानीय तहको कार्यान्वयनमा केही अवरोध भए पनि सामान्य तरिकाले काम भइरहेको बताए। सेतोपाटीको रिर्पोटमा भनिएको छ ।

प्रकाशित मिति: Mar 16, 2017

प्रतिक्रिया दिनुहोस्