Logo
८ बैशाख २०८१, शनिबार
(March 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समर्थन फिर्ता नलिन भन्दै मोर्चालाई प्रधानमन्त्रीको नयाँ प्रस्ताव

काठमाडौँ, चैत २  । सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको संयुक्त लोकतान्त्रिक मेधसी मोर्चासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार बिहान छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चालाई सरकारको समर्थन फिर्ता नलिन आग्रह गर्दै नयाँ प्रस्ताव अघि सारेका हुन ।

आफ्नो माग पूरा गर्न सरकारलाई दिएको एक हप्ताको अल्टिमेटम सकिएपछि मोर्चाले सरकारबाट फिर्ता लिने बताएको हो । बैठकमा सहभागी मोर्चाका नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले बैठकमा स्थानीय तहको चुनावअघि सीमाकंनबाहेकको संशोधन प्रस्तावलाई पारित गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘सीमाकंन हेरफेर सहितको संशोधन प्रस्ताव पारित गराउन सक्ने अहिलेको अवस्था छैन,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती नेताले रातोपाटीलाई बताए, ‘त्यही भएर चुनावअघि सीमांकनबाहेकको संविधान संशोधन गरौँ । त्यसपछि सीमांकनको विवाद आयोग मार्फत प्रदेशको चुनावअघि ढुंग्यायौँ ।’

ती नेताका अनुसार प्रधानमन्त्रीले आयोग गठन गरेर ३ देखि ६ महिनाभित्र सीमांकनको विषयलाई टुंगो लगाउने बताएका थिए । त्यस्तै प्रधानमन्त्रीले गाउँपालिका र नगरपालिका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मत राख्ने अधिकार हटाउने, स्थानीय तहलाई प्रदेश अन्तर्गत राख्ने र जनसंख्याको आधारमा मधेसको स्थानीय तहको संख्यालाई बढाउने प्रस्ताव मोर्चा समक्ष राखेका थिए ।

मोर्चाले यी मागहरु राख्दै आए पनि सरकार यसलाई परिवर्तन गर्न मानिरहेको थिएन । प्रधानमन्त्रीको प्रस्ताव सुनेपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चाको आज बैठक बसेर यसबारे आधिकारिक प्रतिक्रिया दिने बताएका थिए ।

प्रधानमन्त्रीको प्रस्तावपछि मोर्चाका नेताहरु सकारात्मक देखिएका छन् । ‘लास्ट आवरमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव ल्याउनुभएको छ,’ मोर्चाका एक नेताले भने, ‘आज वहाँले निकै सकारात्मक कुरा गर्नुभएको छ । अब मोर्चामा छलफल गरेर हामी आवश्यक निर्णय लिने छौँ ।’ मोर्चाको बैठक आज १ बजे बस्दैछ ।

प्रकाशित मिति: Mar 15, 2017

प्रतिक्रिया दिनुहोस्