Logo
१५ चैत्र २०८०, बिहीबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्यालाई नेपालले हरायो, ७ विकेटले विजयी

काठमाडौं, ३० फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार केन्यासँगको खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले तीन विकेट जाँदा पूरा गरेको हो । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरी ६५ रन बनाएर आउट भए ।

१ सय १८ बल बाँकी छँदै नेपाल विजयी भयो । ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन र शरद भेषावकरले ११ बलमा २४ रन बनाए । सुनिल धमला एक र सागर पुन ५ बनाउँदा आउट भए । केन्यालाइ एकदिवसीय खेलमा नेपालले पहिलो पटक हराएको हो । नियमित कप्तान पारस खड्का अस्वस्थ भएकाले ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा सबै विकेट जाँदा एक सय ५५ रन बनाएको हो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए । यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।

शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको हो । केन्यासँग भएको शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ । शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा छनौट हुने मौका पाउनेछ ।

अब नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले १० खेलमा ४ जित निकाल्दै ८ अंक छ । केन्याको १० खेलमा ५ जित निकाल्दै १० अंक छ । केन्यासँगै नेपालभन्दा अघि नेदरल्याण्ड्स, पपुवा न्यु गिनी, हङकङ र स्कटल्याण्ड छन् ।

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्