Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाअभियोग मुद्धामा: शक्तिशाली महिला राष्ट्रपति पार्कको पतन

एजेन्सी सउल,  महाअभियोग मुद्धामा दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हेलाई त्यहाँको संवैधानिक अदालतले बर्खास्त गर्ने फैसला गरेको छ। अदालतको सो फैसलापछि सउलमा भएको झडपमा दुई जनाको ज्यान गएको छ।

पार्कको मुद्धामा संवैधानिक अदालतको ऐतिहासिक निर्णय सुन्न पार्क समर्थक र विरोधी हजारौं नागरिक सउलस्थित अदालत नजिक जम्मा भएका थिए।

अदालतको फैसला आउनेबित्तिकै त्यहाँ हिंसा भड्किएको छ। भ्रष्टाचारको मुद्धामा पार्कलाई त्यहाँको संसदले गत डिसेम्बरमा महाअभियोग लगाएको थियो। त्यसको संवैधानिकतालाई अदालतले जाँच्नु पर्ने थियो।

पार्क दक्षिण कोरियाकी प्रथम महिला राष्ट्रपति हुन्। फोब्र्स पत्रिकाले सन् २०१३ र २०१४ मा बनाएको विश्वका १०० शक्तिशाली महिलाको सूचीमा पार्क ११ औं स्थानमा थिइन्। उनी पूर्वी एसियाकी सबैभन्दा शक्तिशाली महिलाको सूचीको प्रथम स्थानमा थिइन्।

तर भ्रष्टाचार मुद्धाका कारण उनको पतन शुरु भयो। दक्षिण कोरियाको इतिहासमा महाअभियोग लागेर पदबाट बर्खास्त हुने प्रथम राष्ट्रपति पनि पार्क नै भएकी छन्।

अदालतको फैसलाले दक्षिण कोरियाको महिनौं लामो राजनीतिक अस्थिरताको अन्त्य गर्ने अपेक्षा गरिएको छ। उनलाई पदबाट हटाउन दैनिक हजारौंको संख्यामा मानिसले प्रदर्शनमा भाग लिएका थिए। संविधान अनुसार अब दुई महिनाभित्र अर्को चुनाव हुनेछ।

गत डिसेम्बर महिनामा त्यहाँको संसदले महाअभियोग लगाएपछि राष्ट्रपतिका रुपमा उनको कार्यकारी अधिकार कटौती भएको थियो। त्यसपछि उनी संवैधानिक अदालतको निर्णय पर्खेर राष्ट्रपति भवनमा नै बस्दै आएकी थिइन्।

८ सदस्यीय संवैधानिक अदालतले सर्वसम्मतले पार्कको महाभियोग पुष्टि गर्दै उनले संविधान र कानुनको उल्लङ्घन गरेको निर्णय सुनाएको छ। पार्कले ‘जनताको विश्वासघात गरेको’ र संविधानको रक्षाका निम्ति उनको व्यवहार सहन नसकिने अदालतको फैसला छ।

पार्क दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क चुंङ हीकी छोरी हुन्। चुंङले दक्षिण कोरियाको आर्थिक विकासको मोेडल निर्धारण गरेका थिए।

सन् २०१२ मा चुनावमार्फत् उनी राष्ट्रिय राजनीतिमा उदाएकी थिइन्। उनका पिताले कोरियन युद्धको वेदनाबाट छटपटाएको गरिब दक्षिण कोरियालालाई समृद्धतर्फ लगेको भन्दै मतदाताले उनीप्रति सहानुभूति राखेका थिए।

तर उनी भ्रष्टाचारमा मुछिइन्। पार्कलाई घुस दिएको आरोपमा विश्व चर्चित कोरियन कम्पनी स्यामसङका प्रमुख ली जे योङ पक्राउ परिसकेका छन्।

अहिलेको राष्ट्रपति भवन पार्कको बाल्यकालको घर पनि हो। त्यहाँ उनी ९ वर्षको उमेरदेखि बसेकी थिइन् र दुई दशकपछि आफ्ना बाबु र आमाको हत्या भएपछि पार्कले उक्त भवन छाडेकी थिइन्।

अदालतको निर्णयपछि उनलाई पक्राउ गर्ने र जेलमा हाल्ने बाटो खुलेको छ। अबको चुनावमा प्रतिपक्षी डेमोक्रयाटीक पार्टीले चुनाव जितेमा त्यसले भूराजनीतिलाई समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ।

उक्त पार्टीले दक्षिण कोरियाको ‘सनसाइन पोलिसी’लाई पुनर्जीवन दिने अन्दाज गरिन्छ। उक्त नीति अनुसार दक्षिण कोरियाले उत्तर कोरियालाई आर्थिक सहायता दिने र सम्बन्ध राम्रो बनाउनुपर्ने मान्यता राख्छ।

प्रतिपक्षीको ‘सनसाइन पोलिसी’ लागु भएमा त्यसले एसियाको उत्तर कोरियालाई एक्ल्याउने अमेरिकी नीति प्रभावित हुनेछ। ‘सनसाइन पोलिसी’लाई चीनले पहिलेदेखि नै समर्थन गर्दै आएको छ।

फिलिपिन्स पनि चीनतर्फ ढल्किएको अवस्थामा कोरियामा आउने सम्भावित परिवर्तन अमेरिकाको लागि अर्को टाउको दुखाइ हुनसक्ने विश्लेषकहरूले बताएका छन्।

अहिले अमेरिकाले उत्तर कोरियाबाट दक्षिण करियालाई रक्षा गर्न भनेर मिसाइल प्रतिरोधात्मक प्रणाली विकास गर्ने चरणमा छ, जसलाई चीनले विरोध गरेको छ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्