Logo
११ बैशाख २०८१, मंगलबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पारस खेल्ने / नखेल्ने निर्णय शनिबार: ‘केन्यालाई जित्छौं’

काठमाडौं, फागुन २७ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शनिबार केन्यासँग पहिलो खेल घरेलु मैदानमा खेल्दैछ । नेपाल र केन्याबीचको खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुने पाँचौ चरणको पहिलो खेलका लागी नेपाली टोलीले शुक्रबार अन्तिम तयारी गरेको छ । र, नेपालका लागि महत्वपूर्ण मानिएको केन्यासँगको खेलका लागि नेपाली टोली राम्रो खेल्दै जित निकाल्ने लक्ष्यका साथ मैदान ओर्लँदैछ ।

“केन्यासँगको खेलका लागि हामी शारीरिक तथा मानसिक रुपमा तयार छौं,” नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले शुक्रबार केन्यासँगको खेलबारे भने,“सबै खेलाडीले मेहनत गरेका छन् । युवा र सिनियर खेलाडी रहेकाले टिम सन्तुलित छ । त्यसैले हामी भोलि राम्रो भन्दा राम्रो क्रिकेट खेल्दै जित्ने लक्ष्यका साथ मैदान ओर्लनेछौं ।”

केन्यासँगको खेलका लागि नेपालले चार वैकल्पिकसहित १४ सदस्यीय नेपाली टोलीको घोषणा अघिल्लो साता नै गरेको थियो । र, नेपालको लागि केन्यासँगको खेल निकै महत्वपूर्ण रहेको छ । सन् २०१८ को एकदिवसीय विश्वकप क्वालिफायरमा छनौट हुने सम्भावना जीवित राख्न नेपालले केन्यालाई दुवै खेलमा हराउनुपर्नेछ ।

विश्व क्रिकेट लिगको शीर्ष चारमा रहने टोलीले विश्वकप क्वालिफायरमा छनौट हुने अवसर पाउनेछ । त्यसैले नेपालको उक्त सम्भावना कायम रहन केन्यालाई दुवै खेलमा पराजित गर्नुपर्ने हुन्छ ।

भारतमा गरिएको प्रशिक्षण र आफ्नै लामो तयारीका कारण नेपाली टोली पूर्ण तयारी अवस्थामा रहेकोले केन्यालाई हराउने प्रशिक्षक टमटाको विश्वास छ ।

“हामीलाइ च्यालेन्ज पनि छ । होम ग्राउन्डमा जित्नैपर्ने अवस्था छ । त्यतिमात्रै होईन, समर्थकको पनि प्रेसर छ । यो खेल हाम्रा लागि निकै महत्वपूर्ण छ,” उनले भने, “केन्या राम्रो टोली हो । उनीहरु बलिङमा निकै सशक्त छन् । त्यसैले जित्न हामीले राम्रो खेल्नैपर्ने हुन्छ ।”
नेपाली टोलीको ओपनिङ उप–कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले गर्ने सम्भावना छ । “ओपनिङ र पुछारका ब्याटिङ लाइन राम्रो बनाएका छौं । ओपनिङ ब्याट्सम्यान चेन्ज गरेका छौ,” प्रशिक्षक टमटाले थपे, “मिडल अर्डरका ब्याटिङ लाइन पुरानै हो । पारस लगायत राम्रा ब्याट्सम्यानहरु छन् । हामीले पछिल्लो समय महेबुब आलम जस्ता पुछारमा खेल्ने ब्याट्सम्यानहरुलाई पनि राम्रो बनाएका छौं ।”

यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले खेलको तयारी राम्रो गरेकोले जित निकाल्ने बताए । तर, खेल जित्न राम्रो क्रिकेट खेल्नुपर्ने बताउँदै कप्तान पारसले भने,“हामीले एक डेढ महिनाबाट तयारी गरेका थियौं । त्यसैले समग्रमा पूर्ण तयार छौं । निकै राम्रा खेलाडीहरु छनोट गरिएको पनि छ । उनीहरुले आवश्यक परेको बेलामा राम्रो गर्न सक्छन् तर हामीले राम्रो क्रिकेट खेल्नुपर्छ ।”

त्यस्तै विश्व क्रिकेट खेल्दै गरेका सबै टिम उतिकै राम्रा रहेको र केन्यालाई पनि जित्नैपर्ने दबाब भएकोले घरेलु मैदानमा नेपालले फाइदा लिन सक्नुपर्ने बताए । “हामीले घरेलु मैदानमा राम्रो गर्दै आएको रेकर्ड छ,” उनले भने, “हामीलाई यो पटक पनि घरेलु मैदानको फाइदा छ । त्यो फाइदा हामीले लिन सक्नुपर्छ ।”

च्याम्पियनसिपको चौथो चरण खेल सकिँदा नेपाल ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । केन्या ८ अंक जोडेर लिगको पाचौँ स्थानमा छ । नेपालले अहिलेसम्म खेलेको ८ खेलमा ३ जित र ५ खेलमा हार बेहोरेको छ ।

त्यसैले क्वालिफायर छनौटको आशा जीवित राख्न नेपालले केन्यालाई दुईवटै खेलमा हराएर १० अंकसहित तालिकाको पाँचौ स्थानमा जानैपर्नेछ । त्यसपछि नेपालले छैटौं चरणमा हङकङ र सातौं चरणमा युएईलाई हराउनु जरुरी छ ।

कप्तान पारस खेल्ने / नखेल्ने निर्णय शनिबार
केन्याविरुद्धको खेलमा नेपाली टोलीका नियमित कप्तान पारस खड्का खेल्ने नखेल्ने शनिबार मात्रै निर्णय हुने भएको छ । तीन साताअघि एपेण्डिक्सको शल्यक्रिया गरेका पारस केहि दिनअघिबाट नेपाली टोलीको प्रशिक्षणमा सामेल भए पनि केन्याबिरुद्ध खेल्ने नखेल्ने टुङ्गो लागिसकेको छैन ।
तर, केन्यासँगको खेलको एकदिन अघि शुक्रबार कप्तान पारसले टिमसँग अभ्यास गरेका थिए । “केहि दिनअघिसम्म चालीस प्रतिशत फिट थिएँ भने अहिले ६० ÷ ७० प्रतिशत फिट भएको छु, खेलका लागि मानसिक र शारिरिक रुपमा तयार रहेको बताउँदै कप्तान पारसले भने,“म खेल्ने नखेल्ने शनिबार बिहानै निश्चित हुन्छ ।”

त्यस्तै उनले टिम गेम भएकाले र राम्रा खेलाडीहरु भएकाले आफ्नो अनुपस्थितिमा पनि टिमले राम्रो गर्ने बताए । यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक टमटाले पारस खेल्ने नखेल्ने बिहान मात्रै भन्न सकिने बताए ।

करण केसी टिमबाट बाहिर
यस्तै नेपाली टोलीका बलर करण केसीले केन्यासँगको खेल गुमाउने भएका छन् । एपेण्डिक्स भएर शुक्रबार अस्पताल भर्ना भएपछि करणले केन्यासँगको खेल गुमाउने भएका हुन् । करण बल्खुस्थित बयोधा अस्पताल भर्ना भएका छन् । र, एपेण्डिक्स भएको कारणले उनको तत्काल अपरेसन गर्नुपर्नेछ । करण टिमबाट बाहिरिएपछि उनको स्थानमा कसलाई बोलाउने भन्नेबारे निर्णय भइसकेको छैन ।

पहिलो खेलका लागि ११ हजार टिकट बिक्री
यस्तै च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको पहिलो खेलका लागि छुटाईएको सम्पूर्ण टिकट बिक्री भएको छ । आइसीसीबाट टिकट बिक्री तथा व्यवस्थापनको जिम्मा पाएको ई–सेवा फोन पे प्रालिले शनिबार हुने खेलका लागि सम्पूर्ण टिकट बिक्री भएको जनाएको हो ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्