प्रधानमन्त्री भन्छन– ‘सिंहदरवारको अधिकार गाउँगाउँमा पुग्यो’
काठमाडौं, फागुन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह कार्यान्वयन भएसँगै सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेको दाबी गरेका छन् । शुक्रबार थकाली समुदायको साँस्कृतिक पर्व तोरन्लको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले स्थानीय निर्वाचनपछि नागरिकले सिंहदरवारको अधिकार आफ्नै गाउँमा आइपुगेको अनुभूत गर्न पाउने विश्वास व्यक्त गरे ।
नयाँ स्थानीय संरचना अधिकार सम्पन्न भएको भन्दै प्रधानमन्त्री प्रचण्डले अब सानातिना कामका लागि नागरिकले केन्द्रसम्म धाउन नपर्ने बताए । संविधानसभाबाट प्राप्त संविधानको कार्यान्वयनका लागि पनि स्थानीय निर्वाचन अपरिहार्य भएको तर्क गर्दै प्रधानमन्त्री प्रचण्डलेमधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे ।
नयाँ संविधान पूर्ण नभए पनि क्रमशः संशोधन गर्दै अघि बढ्न सकिने भन्दै उहाँले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन अनुरोध गरे । कार्यक्रममा उनले थकाली समुदायको इतिहास गौरवशाली भएकाले थकाली सँस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।