‘सप्तरी घटना एमालेको अहंकार र सरकारी लाचारीको परिणाम’
काठमाडौं, २४ फागुन । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सप्तरी घटना एमालेको अहंकार र सरकारी लाचारीको परिणाम भएका बताएका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी नयाँ शक्तिका सबैखाले अतिवादको विपक्षमा रहेको बताएका छन् । संविधान संशोधन गर्नु सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता कमजोर बनाउनु होइन भन्दै उनले भनेका छन्, ‘तर, केही दलहरुको अहंकारले राजनीतिक सहमति र संविधान संशोधनमा बाधा पुगेको छ ।
साथै सरकार अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रिएको भन्दै उनले भनेका छन्, ‘यस्तो नरसंहारकालागि सरकारले जिम्मेवारी लिनुपर्छ ।’ खासगरी संविधानमाथिको असन्तुष्टिलाई नदेख्ने प्रमुख प्रतिपक्षी एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध खडा गरिरहेको छ ।’
त्यही अहंकारकै कारण एमालेले सम्वादलाई छोडेर मेचीकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरेको नयाँ शक्तिको आरोप छ । ‘त्यही दलीय उत्तेजना, एमालेको अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको हो’ विज्ञप्तिमा भनिएको छ ।शान्ति सुरक्षाको उचित वातावरण बनाउनुको सरकार पनि साटो अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रिएको नयाँ शक्तिको आरोप छ ।
नयाँ शक्तिका संयोजक भट्टराईले एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपूर्वक सम्वादमा आउन र संविधान संशोधनका लागि सहमति गर्न आहृवान गरेका छन् । साथै मधेस केन्द्रीय दलहरुलाई पनि सम्वादमार्फतसमाधान खोज्न आहृवान गरेका छन् । ‘यसका लागि सरकारलाई तत्काल सहमतिका लागि सार्थक सम्वादको वातावरण बनाउन आहृवान गर्दछौं’ भट्टराईले विज्ञप्तिमातर्फत भनेका छन् ।