Logo
८ बैशाख २०८१, शनिबार
(March 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुनभर मोर्चाले पर्खने, चैतमा आन्दोलन तताउने तयारी

काठमाडौं, २२ फागुन । सरकारले संविधान संशोधन नगरीकन वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरेपछि रुष्ट मधेस केन्द्रित दल तराई/मधेसमा आन्दोलन चर्काउने तयारीमा जुटेका छन्। फागुनभर पर्खने र चैत पहिलो सातादेखि आन्दोलन चर्काउने रणनीति ती दलले बनाउँदै छन् ।

फागुन २६ सम्म मधेस केन्द्रित दलले भन्डाफोर अभियान गर्ने छन् । त्यसअघि मधेसी मोर्चाको बैठक बसेर थप कार्यक्रम बनाइने नेताहरूले बताएका छन् । स्रोतका अनुसार फागुन मसान्तसम्म पर्खने अर्थात् नरम कार्यक्रम गर्ने र त्यसपछि गर्मी चढेसंगसँगै आन्दोलन तताउने तयारी मोर्चाको छ ।

मोर्चाका केन्द्रीय नेता अहिले आआफ्नो जिल्ला पुगेका छन्। आन्दोलन तयारी गर्न उनीहरू जिल्ला पुगेका हुन्। मोर्चामा आबद्ध तमलोपा, सद्भावना र राष्ट्रिय समाजवादी पार्टीले राजधानी रहेका आआफ्ना पार्टीका कायकर्ता तथा नेतालाई जिल्ल्ाा जिल्ला जान निर्देशन दिइसकेका छन् । नागरिकमा समाचार छ ।

स्रोतका अनुसार संविधान संशोधन थाँती राखेर गरिने कुनै पनि चुनाव सफल हुन नदिने योजना मोर्चाको छ। संविधान संशोधन नभए मोर्चाले चुनावमा सहभागी नहुने चेतावनी दिँदै आएको छ। वैशाख ३१ ग्ाते हुने स्थानीय तह चुनाव बहिस्कार मात्र नगरी बिथोल्ने तयारी उनीहरूको छ ।

तराई/मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले सरकारले बलजफ्ती चुनाव गराउन खोजे देशको अवस्था भयावह हुने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लबले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ठाकुरले सरकारले स्थानीय निर्वाचन मिति हतारमा घोषणा गरेर गम्भीर गल्ती गरेको बताए। उनले भने, ‘सरकारले हतारमा चुनाव मिति घोषणा गरेर गल्ती गर्‍यो, यसले संविधान संशोधन र निर्वाचन दुवै धरापमा परेको छ।’

एमालेले गलत समयमा मेची–महाकाली अभियान सञ्चालन गरेको भन्दै ठाकुरले त्यसले मधेसमा द्वन्द्व बढ्ने चेतावनी पनि दिए ।यसैगरी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले चैतको पहिलो साताबाट मधेसमा सशक्त आन्दोलन तयारी भइरहेको बताए। ‘हामी अहिले सशक्त आन्दोलन तयारीमा जुटेका छौं । त्यसैको तयारीका लागि अहिले हामी जिल्ला–जिल्ला गएका छौं,’ उनले भने।

आन्दोलनको रणनीति बनाउँदै गरेको मोर्चा सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता लिने सोचमा छैन। यसबारे मोर्चाको बैठकमा छलफल भए पनि तत्कालै समर्थन फिर्ता नलिने धारणा शीर्ष नेताले राखेका थिए । तमलोपा अध्यक्ष्य ठाकुरले मोर्चा तत्काल वर्तमान सरकार विस्थापन गर्ने तयारीमा नरहेको बताएका छन्। उनले भने, ‘हामी सरकारलाई रिप्लेस गर्ने सोचमा छैनौं, हाम्रो ध्यान माग पूरा होस् भन्ने नै हो ।’

सरकार भने मोर्चासँग निरन्तर वार्ता र संवाद जारी राख्ने पक्षमा छ। स्थानीय चुनाव मिति घोषणा गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चासँग पटक–पटक संवाद र छलफल गरेका छन्। मोर्चाका नेतासँग संवाद र छलफल जारी राख्ने प्रधानमन्त्रीले बताएका छन् ।

स्थानीय चुनावमा होमिएका प्रमुख राजनीतिक दलले मधेसी जनतालाई आफ्नो पक्षमा पार्न मधेस केन्द्रित अभियान सुरु गरेका छन् ।मधेसी मोर्चाले चुनाव बहिस्कार गरे पनि त्यहाँको जनमत आफ्नो पक्षमा पार्न प्रमुख पार्टीले तयारी सुरु गरेका हुन् । एमालेले शनिबारदेखि मेची–महाकाली अभियान सुरु गरेको छ । राप्रपाले पनि मेची–महाकाली अभियान सुरु गर्ने नेताहरूले बताएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि मधेस लक्षित गरेर अभियान थाल्ने तयारी भइरहेको जनाएका छन् ।

नेपाली कांग्रेसले आफ्नो अभियान अन्तर्गत कालीकोटबाहेक सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रबाट खटाइएका प्रतिनिधिहरू मधेसलगयात सबै जिल्ल्ाा पुगेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले खटिएका केन्द्रीय प्रतिनिधिले मधेसका प्रायः सबै प्रमुख ठाउँमा पुगी सभा गरेको जानकारी गराए। तराई/मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदले केही दिनअघि पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर छलफल गरेका थिए ।

देउवा निकट स्रोतका अनुसार स्थानीय चुनाव लक्षित कार्यक्रम लिएर केही दिनपछि मधेसका जिल्ला जाने योजना उनले बनाएका छन्। यसबारे उनले पार्टीका नेता रामचन्द्र पौडेलसँग पनि कुराकानी गरेका छन्। फागुन अन्तिम साता या चैत पहिलो साता देउवा जिल्ला भ्रमणमा जाने सम्भावना रहेको स्रोतले बताएको छ ।

कांग्रेस नेता फरमुल्लाह मन्सुरले मधेसका माग सम्बोधन गर्न पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताए। ‘मधेसका मुद्दा सम्बोधन गर्न पार्टी नेतृत्व गम्भीर हुनैपर्छ। यसका लागि हामीले नेतृत्वलाई पटक–पटक भनेका छौं,’ मन्सुरले भने । जिल्ल्ाा खटाइएका प्रतिनिधिलाई स्थिति बुझेर प्रतिवेदन बुझाउन केन्द्रीय कार्यालयले निर्देशन दिएको छ। मधेसमा खटिएका केन्द्रीय प्रतिनिधिको बिफ्रिङ र प्रतिवेदनपछि मधेसमा थप कार्यक्रम तय गरिने कांग्रेसका एक नेताले बताए।

यसैगरी माओवादी केन्द्रले पनि मधेस लक्षित गरेर चुनावी प्रचाार सुरु गर्ने भएको छ। माओवादी केन्द्रका नेता तथा कानुनमन्त्री अजयशंकर नायकले मधेस केन्द्रित चुनावी अभियान पार्टीले चाँडै सुरु गर्ने बताए। ‘अब पार्टीले अभियान सुरू गर्नुपर्छ। मधेसका मुद्दा सम्बोधन गर्न पार्टी गम्भीर हुनुपर्छ ‘, नायकले भने ।

राप्रपाले पनि चैत ५ गतेदेखि मेची–महाकाली अभियान सुरु गर्ने भएको छ। नेता बुद्धिमान तामाङले मेची–काली अभियान अन्तर्गत राप्रपाले देशका प्रमुख ५ सहरमा ठूलो भेला गर्ने तयारी गरिइरहेको बताए। ‘स्थानीय चुनाव लक्षित गरेर हामीले मेची–काली अभिायन सुरु गर्ने भएका छौं। यो अभियानमा हामी मधेसका सबै ठाउँ पुग्नेछौं,’ तामाङले भने।

विजय गच्छदारले नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि स्थानीय चुनाव तयारी भित्रभित्रै गरेको छ। संविधान संशोधन गरेर चुनावमा जानुपर्र्ने अडान राख्दै आएको सो पार्टीले संविधान संशोधन भयो भने चुनावमा जाने गरी तयारी सुरू गरेको पार्टीका नेता बताउँछन्। ‘संविधान संशोधन गरी चुनावमा जानुपर्छ भन्ने हाम्रो अडान यथावत छ, संशोधन भयो भने चुनावमा जानेगरी हामीले तयारीलाई तीव्रता दिएका छौं,’ फोरम लोकतान्त्रिकका सांसद पवनकुमार सारडाले भने।

प्रकाशित मिति: Mar 5, 2017

प्रतिक्रिया दिनुहोस्