Logo
१३ बैशाख २०८१, बिहीबार
(March 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले उत्पात मच्चाउने: मोर्चाको तयारी भने आक्रमक !

काठमाडौं, २२ फागुन । नेकपा एमालेले सप्तरीमा सोमबार उत्पातै मच्चाउने गरी कार्यक्रमको आयोजना गरेको छ । मधेसी मोर्चाको अवरोधका विच उसले सम्भावित मुठभेडलाई मध्यनजर गर्दै राजविराजको कार्यक्रमस्थल हेरफेर गरेर सोमबार नयाँ ठाउँमा कार्यक्रम गर्न लागेको हो ।

एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा सारिएको छ । एमाले नेता गोविन्द न्यौपानेका अनुसार रंगशालाको कार्यक्रम सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको छ । तर, औद्योगिक क्षेत्रमा एमालेको सभा हुने थाहा पाएपछि मोर्चाका कार्यकर्ताले त्यहाँ पुगेर मधेस आन्दोलनका सहीदहरुको पोष्टर टाँसेका छन् ।

आइतबार औद्योगिक क्षेत्र आसपास मोर्चाका कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिनुका साथै एमालेको विरोधमा छिटफुट प्रदर्शनहरु भइरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिएको छ । राजविराजको सभा सकेर एमाले नेताहरुको टोली सप्तरीको कञ्चनपुरमा बास बस्ने कार्यक्रम रहेको एमाले नेता गोविन्द न्यौपानेले बताएका छन् ।

उता मेची महाकाली राष्ट्रिय अभियानलाई रोक्नका लागि मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा लाठी जुलुस प्रदर्शन गर्ने घोषणा गरेको छ । सुनसरीबाट सप्तरी जिल्लामा प्रवेश गर्ने सीमास्थलमा रहेको भारदहमा सोमबार बिहानै लाठी जुलुस प्रदर्शन गरिने मोर्चाले जनाएको छ । त्यस्तै रुपनीमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ । त्यसैगरी पूर्व–पश्चिम राजमार्गबाट राजविराजतर्फ मोडिने हनुमाननगरमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ ।

एमालेले दिउँसो राजविरोधमा आयोजना गरेको जनसभालाई लक्षित गर्दै राजविराजमा समेत लाठी जुलुस निकालिने मोर्चाले जनाएको छ । मोर्चाले कञ्चनपुरमा समेत लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ । राजविराज लगायतका विभिन्न सहरमा विरोध प्रर्दशनका लागि मोर्चाले गाउँ÷गाउँबाट कार्यकर्ताहरु ओसारिरहेको छ । एमालेको जनसभा हुने अघिल्लो दिन राजविराजमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन् ।

एमालेले सभा आयोजना गर्न लागेको औद्योगिक क्षेत्रमा तालाबन्दी गरिने मोर्चाका कार्यकर्ताले बताएका छन् । एमालेको जनसभालाई लक्षित गरी मोर्चाले सोमबार जिल्लामा चक्काजामको घोषणा गरेको छ । उता एमालेले गर्न लागेको कार्यक्रममा मोर्चाले अवरोध गर्ने घोषणा गरेपछि जिल्लावासीहरुमा मुठभेडको आशंकाले त्रास बढेको छ । यही अवस्थालाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरीका दुबै डीआइजीहरु जिल्लामा आएर त्यहाँको अवस्था बुझेको उच्च स्रोतले बतायो ।

प्रकाशित मिति: Mar 5, 2017

प्रतिक्रिया दिनुहोस्