Logo
११ बैशाख २०८१, मंगलबार
(March 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिफारिस राजदूतहरुको सुनुवाइका लागि सूचना प्रकाशित गरिने

काठमाडौँ, २० फागुन |  संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतका लागि सिफारिस भई संसदीय सुनुवाइका लागि आएका व्यक्तिको नाममा १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । सरकारले यही फागुन ९ गते विभिन्न १२ मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गरी उनीहरुको नाम संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

उक्त मितिभित्र उनीहरुविरुद्ध उजुरी गर्न चाहने व्यक्तिले उचित कारण र व्यहोराको सूचना व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ समितिमा लिखितरुपमा पठाउनुपर्नेछ । समितिको आजको बैठकले प्रस्तावित राजदूतको नाममा १० दिने संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समितिका सचिव ध्रुव घिमिरेले बताए।

सरकारले लक्की शेर्पालाई अस्ट्रेलिया, निरञ्जनकुमार थापालाई इजरायल, शर्मिला पराजुली ढकाललाई ओमान, रमेशप्रसाद कोइरालालाई कतार, अर्जुनजङ्गबहादुर सिंहलाई गणतन्त्र कोरिया, प्रतिभा राणालाई जापान, युवनाथ लम्साललाई डेनमार्क, चोपलाल भूसाललाई बङ्गलादेश, पदम सुन्दासलाई बहराइन, भीमकृष्ण उदासलाई म्यान्मार, विश्वम्भर प्याकुरेललाई श्रीलङ्का र महेन्द्रप्रसाद सिंह राजपुतलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाइएको थियो ।

नेपालको संविधानअनुसार संवैधानिक निकाय तथा राजदूतहरुको नियुक्तिका लागि संसदीय सुनुवाइको संवैधानिक व्यवस्था गरिएको छ । उनीहरु राजनीतिक दलको कोटामा राजदूतका लागि सिफारिस भएका हुन् ।

सरकारले अबउप्रान्त राजदूत नियुक्तिको प्रक्रियालाई व्यवस्थित एवम् मर्यादित बनाउनका लागि उपयुक्त उम्मेदवारको छनौट गर्न योग्यता एवम् कार्यअनुभव समेतलाई समेटेर परराष्ट्र मन्त्रालयले राजदूत सिफारिस एवम् नियुक्तिका लागि मापदण्ड तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय पनि गरेको छ । रासस

प्रकाशित मिति: Mar 3, 2017

प्रतिक्रिया दिनुहोस्