Logo
६ बैशाख २०८१, बिहीबार
(March 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरुण बरालको विचार: ‘गोरु पछाडि गाडा अगाडि,अनलाइन पत्रकार संघ’

– अरुण बराल

अनलाइन पत्रकार संघको शनिबार सम्पन्न चुनावले ‘प्रतिपक्षी नेता’ को जिम्मेवारी दिएको छ । यसलाई जिम्मेवारीपूर्वक निर्वाह गरिनेछ । र, यहाँभित्र रहेको २४ मत र हलमा उठेका प्रतिपक्षी आवाजहरुको पूरै जिम्मा लिइनेछ । नेपालको अनलाइन पत्रकारितालाई पाठक माझ विश्वसनीय एवं भरपर्दो बनाउन र ‘मेन स्ट्रिम’ मा ल्याउन भगिरथ प्रयत्न जारी रहनेछ ।

चुनावसँग सधैं डराउने अनलाइन पत्रकार संघको निवर्तमान नेतृत्वलाई लतारेर निर्वाचनमा ल्याउने र लोकतान्त्रिक संस्कार सिकाउने मेरो ध्येय थियो, जुन सफलतापूर्वक एवं सुन्दर ढंगले सम्पन्न भयो । मैले मेरा प्रत्यासीकाे विरोध गरिनँ । शुरूदेखि अन्तिमसम्म अंकमाल गरेरै छुट्याैं । मैले देशैभरिका पत्रकार मित्रहरूलाई लोकतन्त्रको अभ्यास यसरी हुनुपर्छ भनेर सिकाउने प्रयासलाई सफल पारें र, यो मिसनमा नैतिक जित हासिल गरें । पत्रकारको चुनावमा कस्ता व्यक्तिहरू छनोटमा पर्छन् र कस्ता फालिन्छन् भन्ने लोकले थाहा पायो ।

अनलाइन पत्रकार संघको चुनावको सन्दर्भमा केही कुरा स्पष्ट पार्नैपर्ने हुन्छ  । अनलाइन पत्रकार संघ ०६४ सालमा दर्ता भएयता अत्यन्तै जडतामा फसिरहेको छ । देशमा ५ सयको हाराहारीमा अनलाइन पत्रिकाहरु छन् । मोफसलमा पनि छन् । प्रवासमा पनि छन् । तर, यो अनलाइन पत्रकार संघ भन्ने संस्थाचाँहि केही सीमित घेराभन्दा बाहिर निस्कन सकेको छैन । पत्रकार महासंघको पार्षद बन्नका लागि आफ्ना नजिकका व्यक्तिलाई भर्ती गर्ने काम हुँदै आएको छ । पत्रकार महासंघ र पार्टी पत्रकारिताबाट सुरुदेखि नै यो संघ ग्रस्त बनेको छ ।

अनलाइन पत्रकार संघलाई सबै अनलाइनकर्मीहरु माझ विस्तार गर्न पटक्कै नचाहने जड नेतृत्वले ३ वर्षअघिदेखि हामीलाई बहिस्करणमा पारेकाले यसपटक पराजयको पूर्वसंकेत हुँदाहुँदै प्रतिपक्षी धारलाई संस्थागत गर्न मैले उम्मेद्वारी दिएको थिएँ, कुनै दलमा नलागेको पत्रकार भएका कारण थोरै आउनु स्वाभाविकै थियो ।

अनलाइन पत्रकार संघमा लोकान्तर, चक्रपथ, पहिलोन्युज, दैनिक नेपाल, थाहा खबर, नयाँपेज, रातोपाटी, काठमाडौं टुडे लगायतका कुनै पनि अनलाइनबाट संघमा सदस्य बनाइएका छैनन् । बिजमाण्डु, सेतोपाटी, पहिलोपोष्ट र बाह्रखरी र नागरिक न्युज जस्ता प्रोफेसनल अनलाइनबाट न्युन मात्रै सदस्य बनाइएका छन् ।

कोको छन् संघमा ?

नेपाली कांग्रेसनिकट भातृ संगठनलाई दुईतिहाई पुग्ने गरी डिजाइन गरिएको अनलाइन पत्रकार संघमा वकिलदेखि बैंकमा काम गर्ने कर्मचारीहरुसम्म अावद्ध छन् । दैनिक, मासिक पत्रिका र टेलिभिजन पत्रकारहरु अनलाइनको नेता बनेका छन् ।

अहिलेसम्म अनलाइनपत्रकार संघका ११० सदस्यमध्ये यी संस्थाहरुबाट सदस्य छन्-

स्टोरी साइकल, पशुपति टाइम्स डटकम, दुरसञ्चार डटकम, ल नेपाल, नेपानोमी, कान्तिपुर टीभी, राजधानी दैनिक, इमेज च्यानल, शिक्षक मासिक, नेपाल हुम्यान राइट्स, वर्तमान सहकारी डटकम, क्लिकमाण्डु, दर्पण संसार डटकम, आजभोलि डटकम, मोबाइल्स खबर डटकम, ताजा बहस डटकम, पहिचान डटकम, नेपाल दुबई डटकम, फि्र नेपाल, सम्वाद मिडिया डटकम, समुद्रपारि डटकम, न्युज सेवा डटकम, हाम्रा कुरा डटकम, हरेक पल, कपन अनलाइन । अनलाइनखबर डटकम ।

संघको विधान समावेशी छैन । मधेसी, महिला, जनजाति एवं पिछडिएको समुदायलाई समेट्ने समावेशी सिद्धान्त संविधान र पत्रकार महासंघको विधानले नै व्यवस्था गरे पनि यहाँ लागू गरिँदैन । विधान संशोधन प्रस्ताव पनि यसपालि कार्यान्वयनमा ल्याइएन । र पुरानै असमावेशी विधानअनुसार अघि बढ्ने काम भयो । हुलाकी न्युज, मधेसवाणी वा इसमता जस्ता अनलाइनहरुलाई समेट्ने कुनै प्रयास छैन । ढोका बन्दवादी नीति अपनाएर अनलाइन पत्रकार संघलाई गोरु अगाडि गाडा पछाडिजस्तै बनाइएको छ ।

हामी अनलाइनखबरको टीम र दिनेश बस्नेतजीहरुको टीम आजभन्दा ३ वर्ष पहिले यही अनलाइन पत्रकार संघलाई साझा बनाउनुपर्छ र अर्को समूह बनाउनुहुँदैन भनेर अनलाइन पत्रकार संघमा सामुहिकरुपमा प्रवेश गरेका थियौं । तर, त्यसबेला हामीलाई के भनियो भने नयाँ सदस्यलाई कार्यसमितिमा बस्न बिधानले नै दिँदैन, तपाईहरु हामीलाई चुन्न सक्नुहुन्छ, तर, चुनिन सक्नुहुन्न । हामीले उहाँहरुलाई चुपचाप नेता मान्यौं ।

तर, यो तीन वर्षको अवधिमा संस्थालाई चरम गुटबन्दीकरण गर्नुबाहेक केही पनि काम भएन । र, यसपालि पनि के भनियो भने- सहमति गरौं, तपाईहरु नेतृत्वमा दाबी नगरिदिनोस्, चुनाव गर्दा नराम्रो सन्देश जान्छ, मिलौं (मिलौं भन्नुको अर्थ नेतृत्व उहाँहरूलाई छाडिदिने)

मलाई के पनि भनियो भने तपाईजस्तो सिनियर मान्छे, सम्पादक जस्तो मान्छे, चुनाव लडेर हार्दा बेइज्यत हुन्छ, जितियो भने पनि संस्थामा काम गर्न एकदमै कठिन छ, त्यसैले भोटरमात्रै भइदिनोस् । मैले भनें चुनाव लड्नु लोकतन्त्रको सुन्दरता हो । म मेरोमात्रै भोट झरे पनि लड्छु । चुनाव हारेर इज्जत जान्छ भन्नु लोकतान्त्रिक सोचाइ होइन ।

मैले अनलाइन पत्रकार संघमा गएर दुई वर्षभित्र नेपालको अनलाइन पत्रकारिता क्षेत्रलाई शुद्धीकरण, व्यवसायीकरण एवं स्तरीकरण गर्ने सोचेको थिएँ । तर, यो सम्भव भएन । साँझमा भोट हाल्ने लाइनमा बसेका दुईजना भाइले ‘आरआरमा अखिललाई कुटेर आइयो’ भनेको सुन्दा ‘अनलाइन पत्रकारिता’ कहाँ छ र अहिलेको नेतृत्वले कस्ता मानिसलाई सदस्यता बाँडेको रहेछ भन्ने अझै प्रष्ट भयो ।

अब हामीसँग मात्रै ३ वटा विकल्प छन्ः

पहिलो- ‘गोरु पछाडि गाडा अगाडि’ भएको यही संस्थालाई सुधार गरेर सम्पूर्ण अनलाइन पत्रकारहरुको साझा संस्था बनाउने प्रयत्न गर्ने । गधालाई धोएर गाई बनाउने ।

दोस्रो- लिडिङ रोलमा भएका अनलाइनकर्मीहरुले समानान्तर संस्था खोलेर स्वस्थ्य एवं व्यवसायिक प्रतिस्पर्धा गर्ने ।

र, तेस्रो- पत्रकार महासंघमा जस्तै अनलाइन पत्रकारिता समेत छिरेको गैर पत्रकारको भीड र राजनीतिकरणलाई टुलटुलु हेरेर बस्ने ।

अन्त्यमा,
मलाई अनलाइन पत्रकार संघको संस्थापन पक्षको नेताका रुपमा हेर्न चाहनुहुने भानुभक्त आचार्यजी, फेसबुकमार्फत शुभकामना दिनुहुने सम्पूर्ण साथीहरु, उम्मेद्वारको प्रस्तावक बन्नुहुने रामप्रसाद दाहालजी र मतदान गर्नुहुने सबै साथीहरुमा धन्यवाद दिन्छु । म तपाईहरुलाई निराश बन्न दिने छैन ।

साथै मेरा अनन्य मित्र एवं स्वास्थ्य मन्त्री गगन थापा र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलजीलाई पनि धन्यवाद दिन चाहन्छु, जसले मलाई अनलाइन पत्रकार संघको अध्यक्षका रुपमा हेर्न चाहनुभएको थियो र सहमतिमा आउन प्रेस युनियनका साथीहरुलाई आग्रहसमेत गर्नुभएको थियो ।

त्यसैगरी प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका साथीहरुले पनि म कुनै पार्टी पत्रकारितामा नलागेको स्वतन्त्र व्यक्तिप्रति सुभेच्छा देखाउनुभएको थियो । चौतारीका गणेश बस्नेत, राजेश राई, विश्वमणि सुवेदी सबैलाई धेरै धेरै धन्यवाद । मलाई सघाउने मेरो संस्था अनलाइनखबर टीमका सबै साथीहरुलाई पनि धन्यवाद ।

(नोटः र, यो चुनावमा मैले रू.२०९० रूपैयाँ खर्च गरेकाे जानकारी गराउँछु । २ हजार रूपैयाँ मनोनयन दर्ता शुल्क तिरेको । र, ९० रूपैयाँ साथीहरूसँग चिया बिस्कुट खाएको)

(अनलाइन पत्रकार संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी बरालको फेसबुकबाट)

प्रकाशित मिति: Mar 2, 2017

प्रतिक्रिया दिनुहोस्