Logo
१५ चैत्र २०८०, बिहीबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाँदाजाँदै राजदुतको तर्कः ‘नेपाल–भारत सम्बन्ध कसैले चाहेरपनि बिर्गान सक्दैन्’

रन्जित रे, नेपालका लागि भारतीय राजदूत

काठमाडौं, १३ फागुन । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन् ।  राजदुत रायलाई आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर जान लागेको अवसरमा विदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत रायले भने,‘चुनावमा नेपालका सबै दलहरुको सहभागिताको अनिवार्य आवश्यकत्ता छ, भारत विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हो, भारतले चुनावको कहिल्यैपनि विरोध गर्दैन्, चुनावले नै प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ, त्यसैले नेपालमा हुन लागिरहेको चुनावको विपक्षमा हामी छैनौं, तर यो चुनावमा सबैको सहभागिताको सुनिश्चितता हुनुपर्छ।’

अब हुन गैरहेको चुनावमा पनि भारतको संविधान जारी गर्दाको जस्तै अडान हो कि के हो भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘जसरी नेपालमा जब संविधान जारी गर्दा सबै दलहरुलाई मिलाएर लैजानुपर्ने सुझाव भारतको थियो, त्यसैगरि चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ।’ साक्षात्कारमा उनले भने,‘नेपालमा चुनाव हुन गैरहेको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो, लोकतन्त्रको प्रमुख आधार भनेको नै चुनाव हो, तर चुनाव सबैलाई एक ठाउँमा लिएर र विश्वासमा लिएर गर्नुपर्छ।’

उनले सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन हाल गरिरहेको पहलकदमी प्रशंसनीय रहेको स्पष्ट पारे। चुनाव लोकतान्त्रिक अभ्यास भएकोले सबैलाई विश्वासमा र साथमै लिएर अघि बढ्दा सबैको भलो हुने उनको भनाई थियो। उनले भने,‘संविधान संशोधन प्रक्रिया प्रशंसनीय छ, यसबाट निकास निस्किने कुरामा भारत पूर्ण रुपमा आशावादी छ।’

राजदुत रायले नेपाल–भारत सम्बन्ध शब्दमा वर्णन गर्न नसकिने उल्लेख गर्दै भने,‘हाम्रा सरकारहरु नबन्दै र देश बन्नुभन्दापनि पहिल्यैदेखि प्राचिन सम्बन्ध रहेको छ, जनस्तरको सम्बन्ध छ।’ उनले दुई देशवीचको सम्बन्ध थप मजबुद बनाउनको लागि पनि निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए।

उनले सम्बन्ध चाहे व्यक्तिकावीच होस्, चाहे पारिवारिक होस् त चाहे देशहरुकावीचको सम्बन्ध किन नहोस्, सम्बन्ध मजबुद बनाउनको लागि नयाँ–नयाँ आयाम जरुरी रहेको बताए। उनले भने,‘नेपाल–भारत सम्बन्ध मजबुद बनाउनको लागि पनि हमेसा हाम्रोवीचमा यस्तो प्रयासहरु जरुरी छ।’ २१ औं शताब्दी एशियाको शताब्दी भएकोले अहिले एशियामा विकासको लहर आउने समेत उनको विश्वास थियो।

राजदुत रायले नेपालमा अस्थिरता भए भारतलाई के फाईदा हुन्छ भन्दै उल्टै प्रश्न समेत तेर्साए। उनले भने,‘नेपाललाई फाईदा नहुने कुरा, भारतलाईपनि फाईदा हुँदैन्।’ यद्धपी उनले भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको ईतिहास सुनाए। उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्ने बताएका छन्।

रायले नेपाल–भारत सम्बन्ध देश–देशवीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिवीचको सम्बन्ध भएको बताउँदै भने,‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दी अनुसार द्धिपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीवीच चूनौतिहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ।’

राजदुत रायले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब सामाजिक, साँस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखे। रायले थपे,‘अबको हाम्रो सम्बन्धनको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा कसरी हिड्न सकिन्छ भनेर सोच्नुपर्छ।’

उनले नेपाल–भारत सम्बन्ध आर्थिक साझेदारीका साथ अघि बढिसकेको समेत स्पष्ट पार्दै भने,‘आर्थिक साझेदारीका सुरुवातहरु भैसकेका छन्, पञ्चेश्वर महायोजनाको कार्यान्वयन हुँदैछ, यसको डिपीआर अन्तिम चरणमा पुगेको छ, यही वर्षको जुनसम्ममा डिपीआर पास हुन्छ, यो महायोजना लागु हुनेवित्तिकै सुदुरपश्चिममा मात्रै नभएर पूरै नेपालमै विकासको तरँग पैदा हुन्छ, साथसाथै उत्तराखण्डमा समेत विकासको प्रभाव हुन्छ।’ त्यस्तै उनले नेपाल–भारतवीच कनेक्टिभीटीमार्फत सम्बन्ध झनै प्रगाढ बनिरहेको स्पष्ट पारे।

पछिल्ला ३÷४ वर्ष यता विकासको लागि धेरै पहलहरु भैरहेको समेत उनले जनाए। राजदुत रायले थपे,‘कनेक्टिभीटी अर्थात सडक सञ्जालका नयाँ परियोजनाहरुका साथै पूरा परियोजनाहरुको निर्माण कार्यहरु भैरहेका छन्।’ ३४ अर्बको लागतमा महाकाली पुल निर्माण हुन गैरहेको बताउँदै रायले भने,‘महाकाली पुल सँगसँगै १५ वटा सडकहरु निर्माण हुँदैछ, यसले विशेषगरि सुदुर पश्चिम र उत्तराखण्डलाई फाईदा पुग्छ।’

उनले पञ्चेश्वर परियोजनाले पूर्वाधार विकासमा ठूलो तरँग पैदा गर्ने समेत विश्वास व्यक्त गरे। त्यस्तै उनले रेल कनेक्टिभीटीलाई समेत बढावा दिने बताए। उनले भने,‘हालै हाम्रा रेल मन्त्री सुरेश प्रभु नेपाल आउनुभएको थियो, उहाँले कलकत्तादेखि काठमार्डाै, दिल्लीदेखि काठमाडौंसम्म रेल सञ्चालन गर्न भारत तयार रहेको बताउनुभएको छ, यो निकै खुशीको कुरा हो।’

त्यस्तै रेलवे कनेक्टिभिटीमार्फत नेपाल–भारत जोड्नको लागि जोडबनी टु विराटनगर, जयनगर–जनकपुर–बर्दिवासको परियोजनापनि चाँडै सम्पन्न गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँफै पहलकदमी लिएको जनाए। उनले भने,‘हाम्रो प्रधानमन्त्री मोदीज्यूले यसबारेमा उच्चस्तरीय बैठक बोलाउनुभएको थियो, मैलेपनि भिडियो कन्फेरेन्समार्फत सहभागी हुने मौका पाएको थिएँ।’

राजदुत रायले हुलाकी राजमार्गको लागि पनि आफूले आफ्नो कार्यकालमा नयाँ शिराबाट सूचारु गरेको जनाए। उनले भने,‘यो परियोजनालाई लिएर धेरै गुनासाहरु थिए, अब हुलाकी राजमार्ग बन्नेभएको छ, यसलेपनि नेपाल–भारत सम्बन्धलाई जोड्नेछ।’ त्यस्तै उनले काठमाडौं–बनारस, काठमाडौं–दिल्ली सिधा बस सेवा समेत सूचारु रहेको जनाए।

त्यस्तै उनले अपर कर्णाली, अरुण तेस्रो परियोजनाहरु पनि अघि बढिरहेको उल्लेख गरे। उनले भने,‘९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको लागि भारत सरकारले एक बिलियन अमेरिकी डलर एपु्रभ्ड गरिसकेको छ, फाईनान्सियल अप्रुभ हुनु भनेको धेरै राम्रो हो।’

उनले कोशी हाई ड्याम्प र कमला डाईभर्सन प्रोजेक्टसमेत बन्ने विश्वास व्यक्त गरे। उनले भने,‘यो भयो भने नेपालमा सिँचाई हुन्छ भने भारतमा बाढी नियन्त्रण हुन्छ।’ त्यस्नै कोशी हाई ड्याम्प निर्माण भएपछि कोलकत्ता–नेपाल पानीजहाज चल्ने विश्वास व्यक्त गरे।

त्यस्तै उनले रक्सौल र बिरगन्जमा छुट्टाछुट्टै १ सय ६५ एकर जमिनमा ईन्ट्रिगिटी चेक पोष्ट(आईसीपी) बनेको उल्लेख गर्दै भने,‘यो विश्वस्तरीय व्यापारिक केन्द्र बनेको छ, त्यस्तै हामी यस्तो चेक पोष्ट अन्य तीन ठाउँमा पनि बनाउने योजनामा छौं, अहिले विराटगरमा त सुरु भैसकेको छ।’

उनले आफ्नो कार्यकालमा नेपाल–भारत द्धिपक्षीय प्रोजेक्टहरु कार्यान्वयनको लागि पहल गरेको समेत स्पष्ट पारे। द्धिपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदुत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ।’ उनले विकास साझेदारीको लागि पिटीए र पीडिए समेत भैसकेको स्पष्ट पारे।

त्यस्तै उनले भारतले ट्रान्समिसन लाईन समेत निर्माण गरिदिएको बताए। राजदुत रायले थपे,‘ट्रान्समिसन लाईन निर्माण सम्पन्न भएसँगै अब नेपालमा लोडसेडिङ् अन्त्य गर्न मद्यत पुग्छ।’ उनले हुलाकी राजमार्ग र उर्जाको परियोजना सम्पन्न भएपछि विकासको आधार तय हुने विश्वास व्यक्त गरे। द्धिपक्षीय सम्झौताहरु कार्यान्वयन गर्न ढिलासुस्ती भए अब संयुक्त संयन्त्रले नै काम गर्ने समेत जिकिर गरे। उनले भने,‘संयुक्त संयन्त्रको बैठक दुई पटक बसिसक्यो, अब हरेक दुई महिनामा संयन्त्रको बैठक बस्छ।’

उनले नेपाल–भारत सम्बन्धमा राजनीतिक सम्बन्धको कुरा गर्ने हो भनेपनि यो वीचमा उच्च स्तरीय द्धिपक्षीय भ्रमणहरु भएको बताए। राजदुत रायले मुलुकको विकासको लागि राजनीतिक स्थिरता आवश्यक रहेकोमा जोड दिँदै थपे,‘स्थिरता भयो भनेमात्रै विदेशी लगानी आउँछ।’ त्यस्तै उनले नेपाल–भारत सम्बन्ध मजबुद बनाउनको लागि मिडियालेपनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

राजदुत रायले भने,‘प्रि–कन्सेप्सनलाई बढावा दिनुहँदैन्, मिडियाले टिप्पणी पनि गर्नुपर्छ, ताकि हामीलाई सुधार गर्न सजिलो हुन्छ, र मौका मिल्छ।’ उनले आफूले आफ्नो कार्यकालमा पूर्णतयः ईमानदार, मित्रता र आत्मिय भावले काम गरेको विश्वास दिलाए। उनले थपे,‘सम्बन्धलाई थप नयाँ उचाई प्रदान गर्नको लागि हामीले सु–भावले काम गर्नुपर्छ।’ उनले क्लबका सभापति ऋषि धमलाले आफूलाई सम्मान गरेकोमा निकै खुशी लागेको व्यक्त गरे।
उनले थपे,‘मलाई त यस्तो लागिरहेको छ कि मेरो लामो विदाई हुँदैछ, ऋषिजीलाई मैले आजभन्दा करिब १८ वर्ष पहिले भारतमा भेटेको थिएँ, त्यतिवेला उहाँ दुब्लो–पातलो हुनुहुन्थ्यो, तर डायनामिक हुनुुहुन्थ्यो, अहिले त उहाँले रिपोर्टर्स क्लबलाई देशव्यापी रुपमा नेटवर्क बनाउनुभएको छ, म उहाँप्रति निकै आभारी छु, आगामी दिनमा पनि यस्तै प्रगति होस्।’ उनले पत्रकार ऋषि धमलाले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउन खेलेको भूमिकाको जहिल्यैपनि प्रशसनीय भएको स्पष्ट पारे।

– See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=64818#sthash.Dmcy1cW7.dpuf

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्