Logo
६ बैशाख २०८१, बिहीबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिलेमतो: धनुषामा अन्तर्राष्ट्रिय अपराधको सञ्जाल !

सुनिल शर्मा, जनकपुर । अन्तर्राष्ट्रिय अपराधको सञ्जाल गृहमन्त्री विमलेन्द्र निधिको जिल्ला धनुषामा प्रहरी प्रशासन र स्थानिय अपराधिहरुको संरक्षणमा व्याप्त भएको पाइएको छ । जनकपुर क्षेत्र यतिबेला सुन, रक्तचन्दन, गाँजा, चरेशको खुलेआम तस्करी भइरहेको छ । सबैभन्दा आश्चर्यको कुरा त के छ भने जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी लालमणि आचार्य र डीएसपी मनोज यादव सई जयलाल यादवको प्रत्यक्ष संलग्नतामा लागु औषध र सुन तथा रक्तचन्दनको तस्करी भइरहेको समाचार स्रोतले न्यूज अभियानलाई बताएको छ ।

एसपी लालमणि आचार्य र डीएसपी मनोज यादव पाँच लाख घुस काण्डमा परेपनि उनीहरु माथि आईजीपी नभएको अवस्थामा प्रहरी प्रधान कार्यालयले कुनै कार्वाही गर्न सकेको छैन । स्रोतका अनुसार तस्करहरुसँग मासिक ७ लाख जिल्ला प्रहरी कार्यालय धनुषाले उठाउने गरेको छ । यस्तो अवैध कारोबारको रकम उठाउने जिम्मा प्रहरीका घुमुवा सई जयलाल यादवले गरेका छन् ।

पूर्व सांसद सञ्जय साह टकला बम काण्डमा पक्राउ परेर हाल नख्खु कारागारबाट टकलाले आफ्ना दाहिने हात रहेका हंसपुर कठपुत्ला १६ घर भएका अजय सिंहमार्फत जेल भित्रबाटै अवैध धन्दा चलाईरहेका स्रोत बताउँछन् । ठेक्का पट्टाको काम देखाएर गाँजा, चरेश र सुन तस्करीमा टकलाले अजय सिंह मार्फत नेपाल बंगलादेश बैंक जनकपुर शाखाबाट सञ्जय साहको नाममा अजय सिंहले कारोबार सञ्चालन गरेको बताइन्छ ।

चौक बम काण्ड तथा अरुण सिंघानियाका हत्याका प्रमुख योजनाकार हुन् । सञ्जय साह भारतको झार खण्डमा पक्राउ परेपछि दिल्ली पुलिसले अन्तर्राष्ट्रिय अपराधमा संलग्न भएको आरोपमा दिल्लीको नोयडा सेक्टरबाट पक्राउ गरि नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग आवद्ध इण्डियन मुज्जाहिदीनका यसीम भडकललाई जनकपुर धनुषा वडा नं. ९ बाट नेपाली नागरिकता सञ्जय साहको सिफारिसमा अजय सिंह मार्फत दिलाएको खुलासा हुन आएको छ । यसीम भडकल नेपालमा पक्राउ गरी हाल भारतीय जेलमा छन् ।

हाल जनकपुरधाममा ठूलो परिणाममा चरेश, गाँजाको तस्करी भईरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले १ सय ५० किलो गाँजा बरामद गरेकोमा ५० किलो जलाएर १ सय किलो गाँजा एसपी र डीएसपीको मिलोमतोमा जिल्ला प्रहरी कार्यालय अगाडि अथिती भवन नजिक सहोद्रालाई बिक्री गरिएको छ । अर्को गाँजा तस्कर रामबाबु साह ३७३४ नम्बरको निलो डिस्कोभर मोटर साइकलमा चरेश र गाँजाको सेम्पल लिएर भारतीय सिमा क्षेत्रसम्म जाने आउने गरेका छन् । यी सबै तस्करहरुलाई सई जयलाल यादव, डिएसपी मनोज यादव, असई किस्मत भण्डारीको संरक्षण प्राप्त छ ।

भण्डारी विगत ५ वर्षदेखि एकै ठाउँमा कार्यरत छन् । मटीहानी, मदाबापुर, जटिही, लागु औषध र अवैध हतियारको प्रमुख अखडा मानिन्छ । जनकपुर धनुषा क्षेत्रमा हाल साढे तीन सय अवैध रक्सी भट्टी छन् । धारापानी, सबैला, भट्टीहन, खजुरी, गोलबजार आदि क्षेत्रबाट मासिक ३ लाख रुपैयाँ अवैध रक्सीको जिप्रका धनुषाले असुल्ने गर्दै आएको छ । प्रभूमनि ट्रान्सफरबाट मासिक दुई लाख एसपी लालमणि आचार्यको खातामा काठमाडौंमा हाल्ने गरेको स्रोतको दाबी छ ।

सञ्जय टकलाले हाल जेल भित्रबाटै जनकपुर क्षेत्रको अवैध कारोबार चलाई रहेका छन् । यसमा टकलाका दाहिने हात अजय सिंहले सञ्जयको अवैध रकम चलखेल गर्दै धनुषा क्षेत्रमा गोप्य अपराधिक कारोबार चलाएको बताइन्छ । स्रोत भन्छ सिके राउतलाई चन्दा र अवैध हतियार अजय सिंहले उपलब्ध गराउँदै आएको छ ।

भारतको सितामढी जिल्ला पिपराहा ससुराली भएका अजय सिंहले आफ्नो भारतीय ससुरालीमा अवैध आर्जनको करोडौं रकम लुकाएका छन् । सुन तस्करीमा धनुषाको माहालक्ष्मी ज्वेलर्स, बलराम गुप्ता, पवन सिंघानया र विश्वनाथ साह रहेका छन् । सञ्जय साह टकलाले हत्या गराएका अरुण सिंघानिया पनि सुन तस्करीमा संलग्न थिए । सञ्जय साहाले सुन, भारु जालिनोट, गाँजा चरेशको तस्करीको एउटा छुट्टै लाइन सञ्चालनमा ल्याएपछि जनकपुर क्षेत्रमा अपराधिक गतिविधि प्रहरीकै संरक्षणमा बढेको छ ।

यसै बीच नेपाली गुण्डा डन गणेश लामाले रक्तचन्दनको धुलो जनकपुर क्षेत्रबाट चितवन भरतपुर भएर हेलिकोप्टरबाट चाइना बोर्डरसम्म पुर्याउन जनकपुरका अपराधिक गिरोह नाइके सञ्जय साहको टोलीलाई पनि प्रयोग गरेको छ । सञ्जयको दाहिना मानिने अजय सिंहले यस क्षेत्रको अवैध कारोबारमा ठूलो गिरोह परिचालन गरेको छ ।

सबैभन्दा आश्चर्य र रहस्यको विषय भनेको जिल्ला प्रहरी कार्यालय धनुषा नै यस्तो अवैध कारोबारमा मासिक नजराना खाएर कारोबार सञ्चालनमा ल्याउँदा समेत गृह प्रशासन बेखबर छ । सञ्जय साहको सुन तस्करी पार्टनर सन्तोष काफ्ले ३४ किलो सुन काण्डमा पक्राउ परेपछि जनकपुर क्षेत्रको अपराध गिरोह र प्रहरी प्रशासनको भण्डाफोर भएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपीसँग टेलिफोन सम्पर्क राख्दा डिएसपी मनोज यादव ५ लाख काण्डमा परेको स्वीकार गर्दै आफू भने विदामा बसेका कारण पत्रिकामा प्रकाशित समाचारबाट मात्र आफूलाई जानकारी भएको बताए । अवैध गतिविधि बारे उनले केही बोल्न चाहेनन् ।

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्