Logo
१३ बैशाख २०८१, बिहीबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौनक: देशैभर महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं, १३ फागुन । । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज (शुक्रबार) नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व) ले गर्दा फागुनमा पलाउन थाल्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

आजको शिवधुनीपछि जाडो जान्छ, पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ । यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष १३ लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए ।

महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो बानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ रोक लगाएको हो ।

यस्तै मालबाहक सवारीसाधनलाई तीनकुनेबाट सिनामङ्गलतर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँुदै आउने मालबाहक सवारीसाधनलाई गौरीघाटतर्फ, सिनामङ्गल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारीसाधनलाई चुच्चेपाटीबाट चावहिलतर्फ व्यवस्थापन गरिएको महाशाखाले जनाएको छ ।

यसैगरी नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्रोड परिक्रमा गर्ने याुत्रबाहक सवारीसाधनलाई, पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगङ्गासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ । रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारीसाधनलाई पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हु“दै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाएकोे छ ।

यस्तै कलङ्की, हल्चोक, बालाजु, महाराजगन्ज भएर चल्ने सवारीसाधनलाई सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ । रातोपुल, गौशाला भएर चावहिलतर्फ जाने सवारीसाधनलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने र फर्कंदा चावहिल, सुकेधारा, महाराजगन्ज, लाजिम्पाट, खानीविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्