Logo
६ बैशाख २०८१, बिहीबार
(February 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब लोडसेडिङ हुँदैन : चमेलिया आएपछि सुदूरपश्चिममा पनि लोडसेडिङ अन्त्य

काठमाडौं, १२ फागुन । सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने जनाएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

‘सबैभन्दा कम उत्पादन हुने यही महिना (फागुन) हो’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अबका दिनमा विद्युत् आपूर्तिमा अप्ठ्यारो छैन, वैशाखपछि त उद्योगहरूको लोडसेडिङ पनि कटौती हुनेछ ।’

प्राधिकरणले आफ्ना नदी प्रवाही विद्युत्गृहबाट तीन सय मेगावाट मात्र उत्पादन गरेको र जलाशययुक्त कुलेखानी (९२ मेगावाट) साँझ मात्र चलाएको उल्लेख गर्दै घिसिङले निजी क्षेत्र र भारतबाट आयात बिजुलीसमेत गरेर अत्यधिक बिजुली खपत हुने (पिक) मा नौ सय मेगावाट बिजुलीको व्यवस्थापन गरिएको बताए ।

उनले कालीगण्डकी ‘ए’ लाई पिक समयमा १४४ मेगावाट नै उत्पादन गरेको र प्राधिकरणका अधिकांश विद्युत्गृहलाई साँझपख जडित क्षमतामा उत्पादन गरिएकाले सबैभन्दा सकसपूर्ण समय (साँझ) लोडसेडिङ गर्नु नपरेको जानकारी दिए । प्राधिकरणका विद्युत्गृह मर्मत–सम्भार गर्ने ढर्रामा आमूल परिवर्तन गरी मर्मतका समयमा पनि उत्पादन गरिरहेको घिसिङले उल्लेख गरे ।

उनले आफूले गरेको विद्युत् व्यवस्थापनलाई ‘आर्ट अफ अपरेसन’ को संज्ञा दिए । प्राधिकरणले हिउँदमा मर्मत गर्ने बेला पूरै विद्युत्गृह बन्द गर्दै आएको थियो । ‘एउटा युनिट मर्मत गरेर अर्काे युनिट चलाइरहेका छौं,’ उनले भने । ‘अर्काे वर्षको सुख्खायाम धेरै सुविधाजनक छ, किनभने धेरै लचकता भइसकेको छ ।

हामीले माग व्यवस्थापनअन्तर्गत पिक लोडलाई स्थिर मात्र राख्न सक्यौं भने त्यो ठूलो उपलब्धि हुन्छ । पिक लोडलाई स्थिर राख्न हामी बृहत् रूपमा माग व्यवस्थापन गर्नेछौं, अर्काे वर्षका लागि,’ उनले भने ।

आगामी वर्षका लागि निजी क्षेत्रले दुई सय मेगावाट उत्पादन गर्ने र प्राधिकरणको चमेलिया (३० मेगावाट) र कुलेखानी तेस्रो (१४ मेगावाट) पनि निर्माण सम्पन्न हुने भएकाले अझ बढी सुविधाजनक अवस्था रहेको घिसिङले बताए । ‘चमेलिया आएपछि सुदूरपश्चिमको लोडसेडिङ अन्त्य हुनेछ,’ उनले भने ।

प्रकाशित मिति: Feb 23, 2017

प्रतिक्रिया दिनुहोस्