Logo
१२ बैशाख २०८१, बुधबार
(February 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सुन्दर जनकपुर’ का लागि २ अभियन्ता १५ दिनदेखि अनसनमा, सरकार बेखबर

जनकपुर , ५ फागुन । बिभिन्न माग सहित अनसन बसेका २ जना अनसनकारीको स्वास्थ्य अवस्था निकै नाकुक बनेको छ तर सरकार तथा सरोकारवाला निकायलाई कुनै मतलव देखिदैन ।  जनकपुर शहरलाई आधुनिक र सुविधासम्पन्न बनाउनुपर्ने माग गर्दै दुई जना राजनीतिक कार्यकर्ता अनसनमा बसेको १५ दिन पुग्दासमेत उनीहरूको मागप्रति सरकारले वास्ता नगरेकका हुन ।

जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टी दुई नम्बर प्रदेशका सह –संयोजक कलाम मुदिन राइन गत माघ २० गतेदेखि अनसनमा बसेका हुन् । प्रदेश नम्बर दुईको राजधानी बन्ने अपेक्षा गरिएको यो शहरलाई आधुनिक बनाउनुपर्ने माग गर्दै दुईजनाले शुरु गरेको अनसन बिहीवार १५ दिन पुगेको छ । उनीहरूको अनसनमा ऐक्यबद्धता जनाउँदै जनकपुरका स्वतन्त्र युवा मिथलेस दास उनीहरूसँगै ७ दिनदेखि अनसन बसेका छन् ।

अहिले उनीहरूको अवस्था निकै गम्भीर बनेको रामकुमारकी श्रीमती इन्दु शर्माले बताइन् । ‘अस्पतालले केही दिन अघिबाटै स्वास्थ्य गम्भीर भएको भनिसकेको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘तर सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।’ विभिन्न ७ बुँदे माग राख्दै उनिहरू अनसनमा बसेका हुन् ।

जनकपुर विकास प्राधिकरण निर्माण गरेर त्यहाँको सर्वाजनिक जग्गालाई संरक्षण गर्नुपर्ने, जनकपुरको विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने, जनकपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षी जनक विश्ववद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेनको चक्रपथ निर्माण हुनपर्ने, जिम्मेवार अधिकारीबाट जिल्लामा व्याप्त भ्रष्टाचार रोक्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गनुैपर्ने माग गर्दै उनीहरू अनसनमा बसेका हुन् ।

 

सर्वदलीय बैठकले पनि अनसनकारीलाई अनसन तोड्न आग्रह गरेको थियो । मागको विषयमा केन्द्रलाई लेखि पठाउने आश्वासन दिइएको भएपनि अनसनकारीहरूले केन्द्रकै प्रतिनिधिसँग वार्ता र सहमति नगरी अनसन नतोड्ने बताएका थिए । बुधवार नै अनसनकारीलाई भेट्न पुगेका प्रमुख जिल्ला अधिकारीलाई अनसनकारीले रित्तो हात पठाएको जनकपुरका पत्रकार अजय अनुरागीले बताए ।

गत माघ २० अघि एक लाख हस्ताक्षर जम्मा गरेर उनीहरूले अनसन सुरु गरेका थिए । बुधवार स्थानीय युवाहरूले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा अनसनकारीको स्वास्थ्य अवस्थामा ध्यान दिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका थिए । सो ज्ञापन पत्र पाएपछि प्रमुख जिल्ला अधिकारी अनसनस्थल जनकचोकमा गएर अनसनकारीलाई अनसन तोड्न आग्रह गरेका थिए ।

 

पहिलो संविधानसभामा तमलोपाबाट निर्वाचित शर्मा सांसद रहेकै समयमा माओवादी प्रवेश गरेर चर्चामा आएका थिए । लोकान्तरलाई प्राप्त जानकारी अनुसार जनकपुरका स्थानीयसमेत रहेका गृहमन्त्री विमलेन्द्र निधी बिहीवार जनकपुर जाँदैछन् । उनी अरु कार्यक्रमका लागि त्यहाँ जान लागेका हुन् । तर उनले अनसनकारीलाई भेट्ने कुनैपनि कार्यक्रम बनाएका छैनन् ।

प्रकाशित मिति: Feb 16, 2017

प्रतिक्रिया दिनुहोस्