Logo
१२ बैशाख २०८१, बुधबार
(February 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हाम्रो माग अधिकारका लागि हो, सरकारका लागि होइन’

फाल्गुण १, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संविधान संशोधनका विषयमा लचिलो देखिएको ‘राजनीतिक विश्लेषण’लाई मधेसी मोर्चाले अस्वीकार गरेको छ । नेकपा एमालेसँग संशोधन विधेयकका विषयमा प्रत्यक्ष ३६ पटक वार्ता गरेको मधेसी मोर्चाले केही मधेसी नेताले भेटघाट गर्दैमा समस्या समाधान नहुने बताएको छ ।

तत्कालीन वार्ता समितिका सदस्य तथा मोर्चाका नेता रामनरेश रायले ३६ पटक वार्ता गर्दा पनि टुंगो लाग्न नसकेको कुरा अहिले औपचारिक रूपमा कुराकानी हुँदैमा मोर्चाको सत्ता समीकरणमा रुची हो भनेर बुझ्न नहुने बताए । मधेसी नेता रायले मोर्चाको स्वार्थ सरकार नभएर अधिकार भएको दाबी गरे ।

दुई विपरीत ध्रुवबीच छलफल र वार्ता हुनु कुनै आश्चर्यजनक कुरा नभएको जिकिर गर्दै उनले नेकपा एमाले संशोधन विषयमा लचिलो होला भन्ने विश्वास गर्न नसक्ने बताए । यादवले भने, “अनौपचारिक रूपमा सयौँ पटक वार्ता गर्यौँ, औपचारिक रूपमा मात्र ३६ पटक वार्ता भयो, यस विषयमा सकारात्मक भए दुई पटकमै भइहाल्थ्यो नि”

मधेसी मोर्चाकै अर्का नेता तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नेकपा एमालेसँग कुनै प्रकारको उठबस नभएको स्पष्ट पारे । उनले राजनीतिमा भेटघाट हुने भए पनि आधिकारिक रूपमा मोर्चाका तर्फबाट कुनै प्रकारको वार्ता र भेटघाट नभएको बताए । कर्णले भने, “राजनीतिमा कुराकानी हुन्छ, त्यो अनौठो होइन ।”

मधेसी मोर्चाका नेता रामनरेश रायले एजेन्डाविहीन सरकारले अहिले हुनै नसक्ने स्थानीय निर्वाचनको कुरा उठाइरहेको बताए । एमाले पनि त्यसैको पछि लागेर मधेसको मुद्दाप्रति अनुत्तरदायी भएको आरोप उनले लगाए । सरकारले गरेको निर्वाचन घोषणा त्रुटिपूर्ण र अव्यवहारिक भएको रायले ठोकुवा गर्दै भने, “अहिले सरकारको हैसियत निर्वाचन गराउने होइन र यो अव्यवहारिक पनि छ । स्थानीय निर्वाचन गराउने भनेको त प्रदेश सरकारले हो ।”

नेता रायले केन्द्र सरकारको काम भनेको प्रादेशिक निर्वाचन र केन्द्रीय निर्वाचन गराउने भन्दै भारतमा भइरहेको अभ्यासलाई हेर्न आग्रह गरे । उनले भने, “दुनियाँको सर्वमान्य सिद्धान्त निर्वाचन भए पनि स्थानीय निर्वाचन प्रादेशिक सरकारले गर्ने हो सरकार अव्यवहारिक कुरोको पछि लागेको छ ।” मुख्य मुद्दालाई विषयान्तर गर्दै सरकारले समेत मधेसको मुद्दालाई ध्यान नदिएको मोर्चाका नेता रायले आरोप लगाए ।

सरकार बाहिरबाट संविधान संशोधनको आवाज उठाइरहेको मधेसी मोर्चाका अर्का नेता लक्ष्मणलाल कर्णले अहिलेको नेकपा एमालेको मधेसप्रतिको व्यवहार गलत भएको बताए । कर्णले भने, “मधेस पनि यसै देशको भाग हो । अधिकार दिन कोढ्याइँ गर्न हुँदैन । नेकपा एमालेले अहिले कोढी व्यवहार देखाइरहेको छ ।”

कर्णले एमालेले जतिसुकै स्वाभिमान र राष्ट्रवादको नाटक गरेपनि सत्ता बिना बाँच्न नसक्ने पार्टी भएको आरोप लगाए । उनले भने, “एमालेलाई सरकारमा लगेर समस्या समाधान हुन्छ भने मधेसी मोर्चा बाधक हुँदैन ।” नेता कर्णले मधेसको अधिकार स्थापपित नभएसम्म मधेसी मोर्चा कुनै पनि सरकारमा नजाने स्पष्ट पारे ।

यस्तै, नेता रामनरेश रायले एमालेलाई मुलुकप्रति इमान्दार रहन सुझाए । संविधान संशोधनको कुरा उठाउँदै उनले एमालेले कुराले मात्र नभएर कामले समेत उत्तरदायी बन्नुपर्ने आवश्यक्ता औँल्याए । उनले भने, “संविधानलाई ९० प्रतिशतले जारी गरेको प्रचार गरियो । पहिलो पार्टी नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा लगायतका मुख्य दलले संविधान संशोधन गर्नुपर्छ भनेको छ, एमाले मात्र बाधक भएको छ ।”

रायले संविधान बनाउने बेलामा सबै एकजुट भएको उल्लेख गर्दै मुलुकलाई निकास दिने बेलामा दलहरूले फुट र लुटको राजनीति गरिरहेको आरोप लगाए । मुलुकका राजनीतिक दल एक ठाउँमा नबसुन्जेल मुलुकले राजनीतिक निकास पाउन नसक्ने रायको भनाइ छ । बाह्रखरीमा समाचार छ ।

प्रकाशित मिति: Feb 12, 2017

प्रतिक्रिया दिनुहोस्