Logo
१५ चैत्र २०८०, बिहीबार
(February 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकमानबारे महाभियोग सिफारिस समितिको  यस्तो प्रतिवेदन 

काठमाडौ, माघ २६ व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाईरहन नपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ । महाअभियोग सिफारिस उपसमितिले बुधबार समितिलाई बुझाएको प्रतिवेदनमा पदमुक्त भईसकेका कार्कीलाई महाअभियोग लगाईरहन नपर्ने निष्कर्ष निकालेको हो । समितिले कार्कीमाथि लगाइएको महाअभियोग छानवीन गर्नका लागि उपसमिति गठन गरेको थियो ।

कार्की बहला रहेकाबेला दिइएको आदेश, लिइएका निर्णय र गरिएका पत्राचारलाई आधार बनाउँदा कार्कीमाथि लगाइएको महाअभियोग पुष्टि भएपनि पदमुक्त भईसकेकाले संसदले महाअभियोग लगाईरहन नपर्ने देखिएको प्रतिवेदनमा भनिएको छ । ‘सर्वोच्च अदालतको आदेश अनुसार पदमुक्त भईसकेका व्यक्तिलाई संसदमा महाअभियोग लगाईरहन नपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारिएको हो ’ समितिलाई प्रतिवेदन बुझाएपछि उपसमितिका संयोजक रामनारायण बिडारीले भने ।

उपसमितिले कार्कीले पदमा रहँदा गरेका गैरकानुनी कामविरुद्ध भने राज्यले मुद्दा दिन पाउने पनि उल्लेख गरेको छ । ‘पदमा रहेका बेला भएका गैरकानूनी काममा मुद्दा हाल्न पाउने छ ’उपसमितिका संयोजक बिडारीले बताए । उपसमितिले बुझाएको २३ पृष्ठ लामो प्रतिवेदनमा कार्कीमाथि लगाइएको महाअभियोग पुष्टि हुने आधार भने भेटिएको छ ।

तत्कालीन अख्तियार प्रमुख कार्कीले अदालतको मानहानी गरेको, पदीय आचरण विपरित गतिविधि गरेको, मेडिकल काउन्सिलमाथि हस्तक्षेप गरी आफनो अनुकूल निर्णय गराउन दवाव दिएको, समानान्तर सरकार चलाउन खोजेको लगायतका आरोप लगाई संसदमा महाअभियोग प्रस्ताव सिफारिस गरिएको थियो ।

सोही सम्बन्धमा छलफल गर्न समितिले उपसमिति गठन गरेको थियो । उपसमितिले बुझाएको प्रतिवेदन समितिले अनुमोदन गरेपछि संसदमा पेश हुनेछ । व्यवस्थापिका संसदले कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव अघि बढाउने वा नबढाउने भन्नेबारे आवश्यक सुझाव दिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति: Feb 8, 2017

प्रतिक्रिया दिनुहोस्