Logo
७ बैशाख २०८१, शुक्रबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले भने– पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद

काठमाडौं, २७ पुस  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद दिएका छन् । प्रधानमन्त्री दाहालले पृथ्वी जयन्ती मनाएर एउटा राजनीतिक मूल्य स्थापित गरिएको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।

२ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बलियो केन्द्रिय राज्य निर्माणमा पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

प्रधानमन्त्री प्रचण्डले भने– दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिन सकेन, आगामी दिनमा सबै जाती, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिन्छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले दिँदै आएको बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ । मुलुकलाई योगदान गरेका राष्ट्रिय धरोहरको सम्मान तथा सबै जाती, वर्ग र समुदायलाई समेटेर सार्वजनिक विदा दिने मापदण्डसहितको प्रतिवेदन आएपछि समस्या हुदैन ।

राष्ट्रिय प्रजातन्त्र पार्र्टीले राष्ट्रलाई एकतावद्ध बनाएर लैजान पनि सरकारले पृथ्वी जयन्तिलाई राष्ट्रिय पर्वको रुपमा लिएर सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो । पृथ्वी नारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्छ तर मुलुकमा गणतन्त्र आईसकेकाले राजतन्त्रको धेरै वकालत गरिरहन नपर्ने विश्लेषकहरुको मत पनि आउने गरेको छ ।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्