Logo
१३ बैशाख २०८१, बिहीबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा संशोधन प्रस्तावलाई समर्थन गर्दैनौंः थापा

काठमाडौं, २२ पुस ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन् । थापाले भने,‘दलहरुवीच समझदारी नभएरै यो विद्येयकलाई बढाउनु हुँदैन, यथास्थितिमा हाम्रो पार्टीले यो विद्येयकको समर्थन गर्दैन्, यो विद्येयक ल्याउँदा हामी सत्तापक्ष दल भएपनि हामीसँग कुनै छलफल नै गरिएन।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष उनले विद्येयक तयार पार्दा आफ्नो पार्टीसँग छलफल नभएपनि अहिले विद्येयक ल्याएको एक महिना वितिसक्दापनि आफूहरुले पटक–पटक आग्रह गर्दापनि एक पटकपनि आफ्नो पार्टीसँग छलफल नगरिएको गुनासो गरे।

उनले आफ्नो पार्टी सत्तापक्ष भएपनि संशोधन विद्येयक ल्याउने बेलामा कुनै छलफल नै नगरेको उल्लेख गर्दै यो विद्येयकप्रति आफूहरुको कुनै नैतिक बन्धन नरहने जिकिर गरे। थापाले भने,‘यो विद्येयकमा हामीलाई नैतिक बन्धन छैन, तर हामी सकारात्मक रुपमा सहयोग गर्छौं।

विद्येयकको विपक्षमा ५ नम्बर प्रदेशका जनताहरु आन्दोलित भएको, एमाले लगायतका विपक्षी दलले संसद अवरुद्ध गरेको, विद्येयकका केही दफाहरु राष्ट्रिय हित अनुकुल नरहेको हुँदा हाललाई यथास्थितिमा राखेर नयाँ शिराबाट समझदारी कायम गरेर मात्र अघि बढ्न सरकारलाई उनले आग्रह गरे।

यद्यपि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई अब संसद अवरुद्ध नगर्न आग्रह गरे। उनले भने,‘सर्वोच्च अदालतले केही महत्वपूर्ण फैसला दिएको छ, जसको आधारमा संसदमा संविधान संशोधन विद्येयकको बारेमा छलफल गर्ने ढोका खुलेको छ, तर यो केवल कानूनी विषयमात्रै होईन, राजनीतिक विषयपनि भएकाले छलफल गरेर अघि बढ्नुको नै बुद्धिमानी हुन्छ, यही अवस्थामा अघि बढ्न खोजिए गतिरोध कायमै रहन्छ।’ उनले अदालतको फैसलाले संसद सूचारु हुने बाटो खुलेको समेत स्पष्ट पारे।

थापाले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यतालाई मध्यनजर गर्दै तत्काल निर्वाचन हुनुपर्ने माग गरे। दुई पार्टी एकता भएपछि प्राविधिक र संवैधानिक रुपले मात्र आफ्नो पार्टी सत्तापक्ष भएको जिकिर गर्दै थापाले भने,‘हिजो राप्रपाबाट १२ जना सांसद हुँदा दुई जना मन्त्री हुनुहुन्थ्यो, अहिले एकीकरण पछि ३७ जना छौं, त्यसको अनुपातमा सरकारमा प्रतिनिधित्वको संख्या वृद्धि हुनु स्वभाविक हो, तर यस सम्बन्धमा प्रधानमन्त्री, काँग्रेस र माओवादी केन्द्रले कस्तो सहयोग चाहानुहुन्छ र कस्तो व्यवहार गर्नुहुन्छ त्यसमैमा निर्भर हुन्छ।’

थापाले आफ्नो पार्टीसँग अहिले तीन वटा विकल्प खुल्ला रहेको बताए। पहिलो विकल्पमा अहिलेकै दुई मन्त्रीलाई निरन्तरता दिने, दोस्रो संख्या वृद्धि गर्ने र तेस्रो भएका मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने उनले विकल्प अघि सारे।

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्