Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन हुँदैछ, पहाडी र मधेसी राष्ट्रवादका नाममा देशलाई विभाजन गर्ने प्रयत्न ?

देश अझै जोखिमको यात्रामा छ । कुनै पनि सार्वभौम राष्ट्र त्यतिबेलासम्म जोखिममै रहेको मानिन्छ, जतिबेलासम्म त्यो देशमा को राष्ट्रवादी हो र होइन अनि राष्ट्रवाद भनेको के हो र के होइन भन्ने बहस जिम्मेवार नेतृत्वको तहमा भइरहेको हुन्छ । नेपालमा अझै पनि यो बहस कायमै छ । आफूमात्र राष्ट्रवादी हुँ भन्ने र बाँकी सबैलाई अराष्ट्रिय तत्व, विदेशीको इसारामा चल्ने, दलालजस्ता उपाधिद्वारा ‘विभूषित’ गर्ने प्रवृत्ति वा संस्कृति कायम रहुन्जेल बलियो राष्ट्रिय एकता निर्माण हुन सक्दैन ।

बिपुल पोख्रेल

यस्तो एकताको अभावमा न त मुलुक व्यवहारिक रूपमा स्वाधिन मानिन्छ, न त मुलुकका समस्याहरूको समाधान घरेलु शक्तिको साझा एजेण्डा बन्न सक्छ । आज नेपालले भोगिरहेको चुनौती यही हो ।
पुष १६ गते देशभर मेलमिलापको नीतिमाथि चर्चा भएको छ । वीपी कोइरालाले ०३३ सालमा लिएको यो राष्ट्रिय एकतालाई मजबुत बनाउने नीतिको तत्कालिन सान्दर्भिकतामाथि प्रशस्तै चर्चा भयो र सँगसँगै त्यो नीतिको अहिलेको सन्दर्भमा कस्तो महत्व रहन्छ भन्ने सन्दर्भमा पनि प्रशस्तै चर्चाहरू भए ।

देशमा देशको राष्ट्रियतामा आघात हुनेगरी, राष्ट्रिय संकटहरू थप झाँगिदै जानेगरी, असहिष्णुता र विभेदको संस्कृति निर्माण हुँदाखेरी देशले आफ्नो सार्वभौमसत्ताको भरपुर प्रयोग गर्न सक्दैन ।

यो सैद्धान्तिक कुरा त हो नै, सँगसँगै नेपालको राजनीतिमा पटक पटक प्रमाणित भइसकेको विषय पनि हो । हाम्रो देशका महत्वपूर्ण परिवर्तन र उपलब्धिहरूलाई संस्थागत गर्ने सन्दर्भमा परिवर्तनको नेतृत्वकर्ता शक्तिहरूबीच पनि न्यूनतम सहमतिहरू निर्माण हुन नसक्दा बाह्य चलखेल ह्वात्तै बढ्ने गरेका सन्दर्भहरू प्रशस्तै छन् ।

त्यसकारण राष्ट्रियतामा आघात हुनेगरी, राष्ट्रिय संकटहरू थप झाँगिदै जानेगरी, असहिष्णुता र विभेदको संस्कृति निर्माण हँुदाखेरी देशले आफ्नो सार्वभौमसत्ताको भरपुर प्रयोग गर्न सक्दो रहेनछ भन्ने बुझाइका साथमा बलियो राष्ट्रिय एकता निर्माण गर्नका लागि लाग्ने प्रेरणा बीपी कोइरालाको त्यतिबेलाको मेलमिलापको नीतिबाट लिन सकिन्छ ।
बीपी कोइरालाको मेलमिलापको नीतिलाई त्यतिबेला राजासँग समर्पण गरेको रूपमा पनि केहीले अपव्याख्या गरेका थिए । तर, मेलमिलापको नीति नेपालजस्तो भूपरिवेष्ठित तथा दुई भिमकाय, शक्तिसम्पन्न र अत्यन्तै महत्वाकांक्षी देशहरूको बीचमा रहेको मुलुकको लागि घरेलु एकता अनिवार्य सर्त हो ।

यो कुरालाई स्वीकार गर्न सकेर घरेलु एकता कायम गर्नतर्फ इमानदार प्रयास गर्नु सबैको दायित्व हो । यो दायित्व निर्वाह भएमात्र नेपालको राष्ट्रियता कुनै नेताको वा दलको अनुकूलताका लागि प्रयोग गर्ने कार्डभन्दा धेरै माथि उठेर नेपाली जनताको मन मस्तिष्कमा स्थापित हुने शक्तिका रूपमा प्रतिस्थापित हुनेछ ।
तर, अबस्था त्यस्तो छैन । राष्ट्रियतालाई राजनीतिक कार्डका रूपमा प्रयोग गर्दा यो जनताको भावनासँग जोडिएको विषय नभई राजनीतिक शब्दावलीका रूपमा रहन थालेको छ । ‘केही वर्ष देशलाई लिजमा दिए विकास हुन्थ्यो कि, हाम्रा नेताहरूबाट केही पार लाग्ने वाला छैन’ यस्तो अभिव्यक्ति दिने युवाहरूको संख्या निकै ठूलो हो । राष्ट्रियतालाई यति हल्का बनाउने काम राजनीतिक नेतृत्वले यसलाई आफूअनुकूल प्रयोग गर्ने कार्डका रूपमा उपयोग गरेका कारण नै उब्जिएको हो ।
अहिले पहाडे र मधेसी राष्ट्रवादका नाममा देशलाई विभाजन गर्ने यत्नहरू भैरहेका छन् । पहिचानका नाममा राष्ट्रिय भावनालाई कमजोर तुल्याउने खेलहरू भैरहेका छन् ।

वीपी कोइरालाले नेपाल अझै राष्ट्र बन्न सकेको छैन, यसलाई राष्ट्र बनाउनका लागि नेपालभित्रका सबैले देश मेरो हो भन्ने भावनाको विकास गराउनुपर्छ भनेका थिए । आज त्यसको उल्टो देशभन्दा जातीय र क्षेत्रीय पहिचान ठूलो कुरा हो भन्ने भावना फैलाइँदै छ । राष्ट्रियताको सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्व भनेको जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । समय समयमा प्रकट हुने समस्याहरूलाई सामूहिक रूपमा समाधान गर्नुपर्दा सहज रूपमा उत्पन्न हुने एकताको जनभावना नै खास अर्थमा राष्ट्रियता हो ।
अर्को शब्दमा भन्दा १) जनता, २) जनताको अगाडि उपस्थित समस्या, ३) त्यो समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र ४) त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै राष्ट्रियताका तत्व हुन् ।

राष्ट्रियतालाई यसरी बुझ्दा त्यहाँ भूगोलको भूमिका गौण हुन्छ । देशको नक्सा राष्ट्रियता होइन, त्यो त त्यो देशका नागरिकको सम्पत्ति हो । त्यो सम्पत्तिमा आक्रमण भयो भने त्यसलाई समस्या ठानेर त्यसको समाधानका लागि नागरिकहरूबाट स्वतस्पूmर्त रूपमा हुने सामूहिक प्रयत्नमात्र राष्ट्रियता हो । अहिले ती राष्ट्रियताका चार तत्वलाई सबैले आत्मसात गर्न सकेको देखिँदैन ।
राष्ट्रियता त जनसरोकारका विषयहरूसँग जोडिने कुरा हो । तीमध्ये भूगोलको कुरा एउटामात्र विषय हो । त्यसैगरी राष्ट्रियताको आन्दोलन विदेशीका विरुद्धको लडाइँ हो भनेर पनि प्रचार गरिएको पाइन्छ ।

यो पनि एउटा भ्रम हो । राष्ट्रियतालाई जनताको सन्दर्भमा सोच्ने बानी बसाल्यौँ भने हामी यस्ता अपूरा र भ्रमयुक्त कुराहरूबाट मुक्त भएर सही अर्थमा राष्ट्रियतालाई बुझ्न सक्ने हुन्छौं । राष्ट्रियताको आन्दोलन त जनताका सामूहिक चाहनालाई कुण्ठित गर्ने शासक वा तानाशाहविरुद्ध पनि हुन्छ र जनताको चाहनालाई सम्बोधन गर्न नचाहने राज्यसंयन्त्रका विरुद्ध पनि हुन्छ । जननायक बीपी कोइरालाले भन्नुभएको छ, ‘प्रजातन्त्रको सञ्चालनबाट राष्ट्रियताको भावना पनि सुदृढ हुँदै जान्छ ।’
राष्ट्रियताको यो व्यापक अर्थ नबुझ्दा र त्यसलाई सीमित दायरामा बुझ्दा त्यसबाट धूर्त तानाशाह वा राजनीतिज्ञले आफ्नो स्वार्थसिद्ध गरिरहेको हुन्छ । विश्वका नामुद तानाशाह हिटलरदेखि नेपाली राजा महाराजाहरूको इतिहास हेर्ने हो भने उनीहरूले राष्ट्रियताको नारा दिएर आपूmले शक्ति हासिल गरेका छन् ।

तर, त्यहाँका जनता कमजोर भएका छन् । राष्ट्रियताले जनता कमजोर हुँदैनन् । जनताको सवलता नै बलियो राष्ट्रियताको आधार हो । राष्ट्रियताको लक्ष्य शक्तिशाली जनता हो ।
खासगरी निम्न विषयहरूमा राष्ट्रियताको भावना जागृत हुने गर्छन् :
१) नागरिक अधिकारको लडाइँमा
२) सामाजिक, आर्थिक र राजनीतिक उत्पीडनको विरुद्धमा
३) देशको पहिचान रक्षाको अभियानमा
४) भूगोल, प्राकृतिक सम्पदाजस्ता देशका सम्पत्तिमाथिको बाह्य हस्तक्षेपको विरुद्धमा
५) शोषण र दमनको विरुद्धमा
६) गरिबी, अशिक्षा, रोग, भोकजस्ता साझा शत्रुको विरुद्धको अभियानमा
७) प्राकृतिक विपत्तिजस्ता भैपरी आउने साझा समस्या समाधान खोजीको अभियानमा

उल्लिखित सन्दर्भमा प्रकट हुने सामूहिक भावना नै राष्ट्रियता हो । राष्ट्रियतालाई सुदृढ गर्नका लागि पनि विशिष्ट चरित्र आवश्यक पर्छ । ती चरित्रहरू निम्न प्रकारका छन् :
१) विविधताका बीचमा एकताको खोजी
२) सद्भाव, सहिष्णुता र सहअस्तित्वको स्वीकारोक्ति
३) सामाजिक सद्भाव
४) साझा पहिचानको खोजी
५) पीडामा साथ दिने संस्कृति
६) देशको सम्पत्तिको रक्षाका लागि प्रतिबद्धता
आज मुलुकमा उल्लिखित चरित्रहरूमा स्खलन आइरहेको छ । देशमा एकताको निर्माण हैन, देशकै एउटा समुदाय, जसले खुला सिमाना रहेको नेपालको सीमामा बसेर देश जोगाइरहेको छ । उसलाई विदेशी देख्ने आँखाहरू यहाँ उपस्थित भैरहेका छन् ।

त्यतिमात्र होइन, त्यो समुदायको छातीमा कोरिएको नेपाल र नेपाली राष्ट्रिय भावमा खेलवाड गर्दै ठेकेदारको रूपमा देश टुक्र्याउने शब्द ओकल्ने मुखहरू पनि सुनिन थालेका छन् । यी दुवै अतिवादीहरूको निसानामा नेपालको राष्ट्रियता परेको छ ।

ती दुवै अतिवादीहरूले राष्ट्रियता जस्तो संवेदनशील भावनालाई सत्ता प्राप्ति वा शक्ति बाँडफाँडका लागि कार्डको रूपमा उपयोग गर्न थालेका छन् । अहिलेको सबैभन्दा ठूलो चुनौती यही हो । यो अतिवादी प्रवृत्तिलाई निरुत्साहित नगर्दासम्म राष्ट्रियताको गहनता, जसले नेपाली जनता र नेपाल राष्ट्रको कल्याणका लागि सबैलाई भूमिका खेल्न आह्वान गर्न सक्छ, त्यो कमजोर हुँदै जानेछ । @बाह्रखरी

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्