Logo
११ बैशाख २०८१, मंगलबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेमिट्यान्स नाममा लासको खेती कहिले सम्म ?

काठमाडौं, १९ पुस । पछिल्लो समय वैदेशिक रोजगार दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ । नेपालबाट गन्तव्य मुलुकमा जादाँ म्यानपावरबाट नेपाली लुटिएको खबर हिजआज सामान्य जस्तो छ, भने नेपालको एयरर्पोटमा दैनिक ८/१० वटा लास वैदेशिक रोजगारमा गएका नेपालीहरुको आउने गरेका छन् । यसले गर्दा वैदेशिक रोजगार दिनप्रतिदिन असुरक्षित बनेको पाइएको छ ।

‘रोजगारदाता कम्पनीले विस्तारामै सुतेको अवस्थामा (नेचुरल डेथ) भएको भन्यो, डेथ सर्टिफिकेटमा सडक दुर्घटनाको कारण मृत्यु भएको भनिएको छ । लासको प्रकृति हेर्दा शरिरभरी निल–डाम नै निल–डाम छ, पापीहरूले मेरो श्रीमानलाई ठूलो षडयन्त्र गरेर मारेछन् ।’ साउदी अरबमा ज्यान गुमाएका डण्डबहादुर रानाको श्रीमती जइसरी राना भक्कानिइन् ।

प्रभावका अनुसार, गत असोज ६ गते आफ्नी श्रीमती जइसरी लाई फोन गरेर कम्पनीले काम छोडेको लामो समय सम्म पनि स्वदेश नफर्काएको गुनासो गर्दै आफ्नो टिकट तयार भइसकेको र भोलिपल्ट आफू नेपाल आउने जनाएका थिए ।

‘उहाँ त्यस बेला गाडीमा हुनुहुन्थ्यो जस्तो लागेको थियो, पटक–पटक ‘धेरै नबोल’ ‘चुप लाग’ जस्ता शब्दहरू सुनिएको थियो’ जयसरीले भनिन् ।

भोलिपल्ट जइसरीले डण्डले प्रयोग गर्ने नम्बरमा सम्पर्क गर्दा कञ्चनपुर घर बताउने एक व्यक्तिले फोन उठाई उनलाई कसैले मारेर फालेको हुनसक्ने बताएका थिए ।

पछि उक्त नम्बरमा सम्पर्क गर्दा ‘स्वीच अफ’ गरिएको थियो । त्यसपछि त्यस नम्बरमा कहिल्यै सम्पर्क नभएको जयसरीले बताइन् । राना रहस्यमयी तरिकाले बेपत्ता भएपछि उनका भाई दुर्गाबहादुर राना उनको खोजी गर्दै काठमाडौं आए ।

उनीसँग आफ्ना दाजु गौशालास्थित द रिभर ओभरसिजबाट साउदी गएका हुन भन्नेबाहेक अरु कुनै जानकारी थिएन । उनले द रिभर ओभरसिजमा सम्पर्क गरि दाजुको पासपोर्ट नम्बर पत्ता लगाए । त्यसपछि उनले दाजुको अवस्था पत्ता लगाइदिन भन्दै वैदेशिक रोजगार विभागमा अनुरोध गरे ।

वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देक शत्रुघ्नप्रसाद पुडासैनीले अवस्था पत्ता लागेका र समस्यामा रहेका कामदारहरूलाई समेत विभागले उद्धार गर्न नसकिरहेका अवस्था रहेको भन्दै उनको अवस्था पत्ता लगाउनका लागि महानगरिय अपराध अनुसन्धान महाशाखामा सम्पर्क गर्न सुझाव दिएका थिए ।

महाशाखाको निर्देशनमा द रिभरले सम्बन्धित रोजगारदाता कम्पनीमा उनको अवस्थाबारेमा बुझेपछि गएको मंसिर ६ गते दाईको सुतेको अवस्थामै ‘नेचुरल डेथ’ भएको कम्पनीले बताएको द रिभरले जानकारी दिएको मृतकको भाई दुर्गा भन्छन् । मृत्यु भएको तीन महिना पछि मात्रै गत पुस ६ गते रानाको शब नेपाल आएको थियो ।
वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको सहयोगमा सोहि दिन राति उनको शब रोल्पा पु¥याइएको थियो । ‘बाकसबाट लास निकालेपछि मात्र हामिले देख्यौँ की लासमा सडक दुर्घटनाबाट मृत्य भएको कुनै संकेत नै छैन ।’

दुर्गाले भने, ‘यो घटना निकै षड्यन्त्रपूर्वक भएको छ । यस घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कारबाहि गरिनुपर्छ ।’ वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले अनुसन्धानको लागि आफूहरूलाई निवेदन आएको खण्डमा दूतावासलाई अनुसन्धानको लागि अनुरोध गरिने बताएका छन् ।

उता द रिभर ओभरसिजका सञ्चालक प्रकाश बर्तौलाले भने लास रोल्पा लगेर दाहासंस्कार गरिसकेपछि अव केहि गर्न सक्ने अवस्था नरहेको बताए । उनले दूतावासले सडक दुर्घटनाबाट मृत्यु भएको प्रमाणित गरेर पठाइसकेपछि अनुसन्धान गर्न गाह्रो हुने बताए ।

‘लास नजलाएको अवस्था हुन्थ्यो भने मानव अधिकारवादीहरूको रोहवरमा अनुसन्धानको प्रक्रिया अगाडी बढाउन सकिन्थ्यो अब सम्भावना छैन ।’ उनले भने । यदि दूतावासले अनुसन्धानको प्रक्रिया अगाडी बढाएको अवस्थामा आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग आफूहरूले गर्न तयार रहेको पनि बर्तौलाले प्रतिबद्धता जनाए ।

वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले कामदार कल्याणकारी कोषबाट वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारहरूलाई प्रदान गर्ने रकम पनि करार अवधि सकिएकोकारणले प्राप्त गर्न सकेनन् ।

दुई छोरी र १ छोरा रहेका राना बालबालिका छात्रवृत्ति प्राप्त गर्नबाट पनि बञ्चित हुन पगेका छन् । ‘साउदीमा दाईको रहस्यमय मृत्यु भयो, करार अवधि सकिएको १८ दिन पछि मृत्यु भएको कारणले राज्यबाट पाउनपर्ने क्षतिपुर्ति समेत पाउन सकेनौँ, हामी कति अभागी ?’ दुर्गाले गुनासो गरे ।

राँक–३ रोल्पाका डण्डबहादुर राना १८ भदौ २०७१ मा वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्विकृति लिएर साउदी अरबको ‘अल मावारिड रिकु्रमेन्ट’ कम्पनिमा ‘कमन क्लीनिङ लेबर’को रूपमा काम गर्न गएका थिए । यसरी रहस्यमय तवरले ज्यान गुमाउनेहरु वैदेशिक रोजगारमा दिनप्रतिदिन बढ्दा वैदेशिक रोजगारलाई सामान्य रुपले लिन नहुने जानकारहरु बताउँछन् ।

जानकारहरुका अनुसार सरकारले स्वोदेशमै रोजगारको प्रत्याभुती दिलाउने र सुरक्षित वैदेशिक रोजगारका निम्ति कुनै कसुर बाकीँ राख्न हुदैन् । अन्यथा, सरकारले वैदेशिक रोजगारको नाममा, रेमिट्यान्श भित्राउन लासको खेती गरेको प्रमाणित हुने जानकारहरुको बुझाइ छ ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्