Logo
१२ बैशाख २०८१, बुधबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठगलाई प्रेमी बनाउँदा एक युवतीको बिचल्ली !

काठमाडौं, १९ पुस । सहरमा यस्ता ठगहरुको बिगबिगी छ जो पैसा मात्र होइन युवतीहरुको जवानी पनि लुट्ने गर्दछन् । त्यस्तैमध्ये एक हुन् ईश्वरप्रसाद पोखरेल । गत महिना नक्सालको क्राउन प्लाजा होटलबाट पक्राउ परेका पोखरेललाई बिहीबार अदालतले जेल चलानको आदेश दिएको छ ।

माओवादी नेताहरुको नाममा बैंकहरुलाई समेत ठगी गरेका पोखरेलले एक युवतीको समेत बिचल्ली बनाएका छन् । पोखरेल पक्राउ परेपछि उनीविरुद्ध प्रेमिकाले नै बलात्कारको मुद्दा हालेकी छिन् । जोरपाटी बस्ने सिलवाल थरकी एक युवतीमार्फत् पछिल्लो समय पोखरेलले डेढ करोड रुपैयाँ ठगी गरेका थिए ।

करिब दुई वर्षअघि एमाले नेता वामदेव गौतमलाई घर उपहार दिनु छ भन्दै उनी सिलवालको दिदीको घर हेर्न जोरपाटी पुगेका थिए । त्यही क्रममा दुई जनाबीच चिनजान भएको थियो । पोखरेलले आफूलाई ठूलो व्यापारी भएको भन्दै उनीलाई भ्रममा पारेका थिए । एक कार्यालयमा जागिरसमेत लगाइदिएका थिए ।

जागिर गजबको थियो, तलब आउने तर काम गर्न नपर्ने । त्यसवापत पोखरेलसँग युवती घुम्न जानुपर्ने प्रावधान थियो । युवतीलाई बिहे गर्ने आश्वासन दिएर उनले प्रेमिका बनाएका थिए । त्यही क्रममा जवानी पनि लुटे । अनि आफन्तहरुलाई विदेश पठाइदिने भन्दै ती युवतीको माध्यमबाट पैसा उठाउन लगाए ।

आफ्नो इजरायलमा कम्पनी भएको भन्दै उनले आफू निकट व्यक्तिहरुलाई मात्र पठाउने भन्दै पैसा उठाउन लगाए । पैसा उठाइसकेपछि उनी एकाएक बेपत्ता भए । त्यहीबाट युवतीको रुवाबासी सुरु भयो । बिहे गरेर इजरायल लैजाने सपना देखाएको प्रेमी पैसा ठगेर गायब भयो, आफन्तहरुले उनीविरुद्ध नै प्रहरीमा जाहेरी दिए ।

पोखरेल ठगजस्तै लागेपछि युवतीले पछिल्लो समय पोखरेलसँग टाढिदै गएकी थिइन् । तर सम्बन्ध नराखे पहिलाका गोप्य फोटो र भिडियो सार्वजनिक गरिदिने भन्दै ब्लाकमेलिङ गरेर उनले आफ्ना स्वार्थपूर्ति गरिरहे । पछि लखनउमा बस्न थालेका उनी अमेरिकन दूतावासमा भिषाको अन्तर्वार्ताका लागि भनेर काठमाडौं आएका बेला पक्राउ परेका हुन्, खबर दृष्टिमा उल्लेख गरिएको छ ।

प्रहरीले नै नाटकीय रुपमा काठमाडौंमा झिकाएर उनलाई पक्राउ गरेको थियो । ठगी मुद्दामा मात्र जाहेरी दिदा छुट्न सक्ने र पीडितहरुले आफुहरुलाई नै दुःख दिने देखेपछि युवतीले बलात्कारको जाहेरी समेत दिएकी हुन् ।

उनी जस्तै धेरै युवतीहरु पछिल्लो समय काठमाडौंमा ठगको फन्दामा पर्न थालेको प्रहरीले जनाएको छ । खासगरी फेसबुकमार्फत् चिनजान गरी विभिन्न आश्वासन दिएर युवतीहरुलाई ठग्ने गिरोह काठमाडौंमा सक्रिय रहेको छ ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्