Logo
८ बैशाख २०८१, शनिबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारले फैलियो नयाँ रोग: डरलाग्दो ‘डिभोर्स’

किशोर खानाल, भरतपुर । लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएका भरतपुरका राधेश र समीक्षा (नाम परिवर्तन) ले यही महिना चितवन जिल्ला अदालतबाट सम्बन्धविच्छेद (डिभोर्स) गरे । वैदेशिक रोजगारमा गएका राधेशले समीक्षामाथि अनैतिक सम्बन्धको आरोप लगाएपछि अन्ततः उनीहरुको दाम्पत्य जीवन सम्बन्धविच्छेदमा गएर टुङ्गियो ।

त्यस्तै, रत्ननगरका शिव र सावित्री (नाम परिवर्तन) बीच पनि विवाह भएको ५ वर्षपछि चितवन जिल्ला अदालतमै सम्बन्धविच्छेद भयो । दुबैले एकले अर्कालाई बुझ्न नसक्दाको नतिजाले सम्बन्धविच्छेद गरायो । शिव साबित्री दुबैले एकले अर्कालाई पर व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाउँदा उनीहरुको दाम्पत्य जीवन सफल भएन ।

यी दुई जोडीको मात्र होइन, साउन यता मंसिर मसान्तसम्म २१५ जोडीले चितवन जिल्ला अदालतबाट सम्बन्धविच्छेदको लागि निवेदन दिएका छन् । जसमध्ये यो ५ महिनाको अवधिमा १३३ जोडीले चितवन अदालतमा सम्बन्धविच्छेद गरिसकेका छन् ।

‘सम्बन्धविच्छेदको यो डरलाग्दो तथ्याङ्क हो, पछिल्लो समय सम्बन्धविच्छेद गर्नेहरुको तथ्याङ्क हेर्दा सबैलाई झस्काउने खालको छ’ चितवन जिल्ला अदालतका नायब सुब्बा जयनारायण आचार्यले बताए ।

जिल्ला अदालतको तथ्याङ्कअनुसार सबैभन्दा बढी साउन यता बिहेको लगन भएको महिना मंसिरमै सम्बन्धविच्छेद गर्ने धेरै छन् । मंसिरमा ५४ जना जोडीले सम्बन्धविच्छेद गरेका चितवन अदालतले जनाएको छ । पति–पत्नीबीचको सम्बन्धविच्छेदको घटना तीव्र गतिमा बढिरहेको हुनाले यसले नेपाली समाजमा नकारात्मक असर परेको समाजशास्त्रीहरुको भनाइ छ ।

चितवन जिल्ला अदालतमा गत साल ५७५ जोडीले सम्बन्धविच्छेदको आवेदन दिएका थिए । जसमध्ये ४७१ जनाले सम्बन्धविच्छेद गरेका थिए । ‘दिनानुदिन सम्बन्धविच्छेदको घटना बढिरहेको छ, जसले नेपाली समाजमा नकारात्मक असर पारेको छ’ नासु आचार्यले भने ।

गत वर्ष चितवन जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दोस्रो श्रेणीमा आएको अदालतका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी गराए । उनले भने, ‘चितवन जिल्ला अदालतमा पर्ने धेरै मुद्दामध्ये सम्बन्धविच्छेदको मुद्दा अग्रस्थानमा परिरहेको छ ।’

किन बढ्यो सम्बन्धविच्छेद ?
वैवाहिक जीवन टुटेको मुद्दाको आंकडा हेर्दा बर्सेनि बढ्दो छ । सम्बन्धविच्छेद बढ्नुमा धेरै कारणहरुको रहको अधिवक्ताहरु बताउँछन् । उनीहरुले वैदेशिक रोजगारलाई प्रमुख कारणमध्ये एक मानेका छन् । ‘श्रीमान् वा श्रीमती वैदेशिक रोजगारमा हुन्छन् । उनीहरुको लामो समयसम्म भेट हुँदैन ।

त्यतिबेला उनीहरुमा निराशा, शंका, उपशंकाहरु बढी आउँछ’ अधिवक्ता उद्धव लोहनीले भने, ‘त्यस्तो अवस्थाले गर्दा सम्बन्धविच्छेद बढ्दै गएको छ । वैदेशिक रोजगारमा गएकाले अरुको गलत कुरा सुनेर पनि सम्बन्धविच्छेद गरेका छन् ।’

उनका अनुसार सूचना सञ्चार तथा प्रविधिको दुरुपयोग भएको हुनाले पनि सम्बन्धविच्छेदको घटना बढेको छ । महिलाहरु सक्षम सबल हुनु, विलासी जीवनको इच्छा गर्नु र पश्चिमी सभ्यताको प्रभाव पर्दै जानुले पनि सम्बन्धविच्छेदको घटना बढेको अधिवक्ता लोहनीको भनाइ छ ।

‘अहिलेको युवापुस्ताले विवाहलाई जन्मजन्मान्तरको सम्बन्ध मान्ने परम्परागत अवधारणालाई संस्कारको रुपमा लिएको छैन । एकखालको सम्झौताजस्तो मानेको हुँदा सम्बन्धविच्छेदको घटना बढेको हो’ अधिवक्ता लोहनीले भने, ‘नैतिक शिक्षाको कमी, संयुक्त परिवारको विच्छेद, ससाना कुरामा झगडा र महिलाहरु पनि सक्षम हुँदै जानुले पनि सम्बन्धविच्छेद बढेको हो ।’

बाह्य संसारसँगको बढ्दो सम्पर्क, पश्चिमी पद्धतिको शिक्षा र महिलाहरुको आर्थिक सक्षमताको कारणले पनि सम्बन्धविच्छेद बढाएको हो । ‘श्रीमतीहरुले म पनि श्रीमान्बिना कमाएर खान सक्छु भन्ने अह्मताले पनि सम्बन्धविच्छेद गराएको छ’ एक अधिवक्ताले भने ।

श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई छलेर परस्त्री वा परपुरुषसँग यौनसम्पर्क गर्नु पनि वैवाहिक सम्बन्धविच्छेदको कारण भएको ती अधिवक्ता बताउँछन् । उनका अनुसार श्रीमान् वा श्रीमती दुबैलाई यौन सन्तुष्टि नहुनु पनि सम्बन्धविच्छेदको कारण हो ।

कतिलाई समस्याबाट छुटकारा
वैवाहिक सम्बन्धविच्छेदले कतिलाई समस्याबाट छुटकारा पनि गराएको छ । वैवाहिक सम्बन्धविच्छेदले कतिलाई त राम्रो नतिजा पनि दिएको छ । कतिलाई सम्बन्धविच्छेदले सहज निकास दिएर व्यक्ति र परिवारलाई दुर्घटनाबाट पनि बचाएको छ ।

‘हाम्रो सम्बन्धविच्छेदले दुबैलाई राम्रो गरेको महसुस भएको छ । दुबैले फरक बाटो राजेर राम्रो भयो । नत्र हाम्रो परिवारमा सधैँ झगडा र असन्तुष्टिमात्र हुन्थ्यो’ सम्बन्धविच्छेद गरेका एक जोडीले भने, ‘सम्बन्धविच्छेद भएको दुई वर्ष भए पनि हामी बोल्छौँ, तर सँगै बस्ने, खाने र सुत्ने गर्दैनौँ । हामी दुबैलाई राम्रो गरेजस्तो लागेको छ सम्बन्धविच्छेदले ।’

चितवन जिल्ला अदालतका सूचना अधिकृत कृष्णप्रसाद बरालले कसैकसैको जीवन सम्बन्धविच्छेदले राम्रो गराए पनि समग्रमा यसले समाजमा नकारात्मक असर पारेको बताउँछन् । उनी भन्छन्, ‘सम्बन्धविच्छेदले छोराछोरीको भविष्य अन्यौलमा पार्छ, पारिवारिक बेमेल ल्याउँछ ।’ @चितवन पोष्टबाट

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्