Logo
७ बैशाख २०८१, शुक्रबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै दुई दिन घाम नलाग्ने, काठमाडौंमा वर्षकै उच्च चिसो 

काठमाडौं १७ पुस । आइतबार र सोमबार दुई दिनसम्म देशभर घाम नलाग्ने मौसमविदहरुले बताएका छन् । यो अवधिमा फाटफुट पानी पर्ने सम्भावना पनि छ । उच्च पहाडी भेग र हिमाली भेगहरुमा हिउँ परिरहेको छ । जुम्ला, रसुवा, ताप्लेजुङ, दोलखामा हिउँ परेको छ ।

अहिले देशभर पश्चिमी वायुको प्रभावले ल्याएको मौसमी प्रणाली विकसित हुँदा बदली भएको छ र अघिल्ला दिनको तुलनामा बढी चिसो महसुस भएको छ ।

सुदूरपश्चिमबाट भित्रिएको मौसमी प्रणाली पूर्वतिर सर्ने क्रममा छ । पूर्वी नेपालबाट नबाहिरिन्जेल मौसम सफा हुनेछैन । ‘आज र भोलि घाम लाग्दैन, पर्सि ११-१२ बजेतिर खुल्न सक्छ । पूर्वतिर भने पर्सि पनि यस्तै हुन्छ । किनकी पूर्वमा लोकल लेभलमा पनि नयाँ मौसमी प्रणाली बिकसित भएको छ,’ मौसमविद वरुण पौडेलले बताए ।

शनिबार काठमाडौंमा अहिलेसम्मकै जाडो भयो । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार काठमाडौंमा शनिबार ४.५ डिग्री न्युनतम तापक्रम थियो । आइतबार बिहान भने ५ डिग्री मापन गरिएको छ ।

काठमाडौं उपत्यकासहित देशभर फाट्टफुट्ट पानी पर्ने क्रम पनि जारी रहने छ । ‘ठूलो झिमझिम पानी पर्दैन तर, फाट्ट फुट्ट पानी पर्छ,’ मौसमविद पौडेलले भने, ‘काठमाडौं उपत्यकामा १-२ मिलिमिटर पानी पर्ला ।’

काठमाडौं उपत्यकामा शनिबार साँझदेखि नै पानी पर्ने र रोकिने क्रम जारी छ । शनिबार सबैभन्दा बढी ताप्लेजुङमा ६ मिलिमिटर पानी परेको मौसम विज्ञान विभागले जनाएको छ ।

 

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्