Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधन विधेयक पेश गर्ने काँग्रेस-मोर्चाबीच समझदारी

काठमाडौँ, पुस १५ । नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक संसद्मा पेस गर्नेमा एकमत भएका छन् । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको काँग्रेस र मोर्चाबीचको बैठकमा सो सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका नेता गोपालमान श्रेष्ठले अब बस्ने व्यवस्थापिका–संसद्को बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन ऐन प्रस्तुत गरिने जानकारी दिँदै नेकपा (एमाले)सँग सो विषयमा छलफल गरिने तर संसद् अवरोध भए पनि विधेयक पेस गर्ने कुरा नरोकिने स्पष्ट पारे।

मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले काँग्रेसको सहमतिमा सरकारले संशोधन प्रस्ताव दर्ता गरेकाले पेस गर्ने कुरामा आफूहरुले पूर्ण रुपमा सहयोग गर्ने बताउँदै विसं २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पारित गराउने कुरामा मोर्चा लाग्ने स्पष्ट गरे। बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता श्रेष्ठ र प्रकाशमान सिंह, मोर्चाका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत नेताको उपस्थिति थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेसहितको अवरोध बिच संविधान संशोधन विधेयक संसदमा पेश हुने भएको छ। आगामी सोमबार बस्ने संसदको बैठकमा संशोधन विधेयक टेबल हुने विषयमा सत्तारूढ दल नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच शुक्रबार सहमति भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको कांग्रेस र मोर्चाको बैठकले संविधान संशोधन विधेयक र निर्वाचन सम्बन्धी विधेयकलाई एकै साथ अघि बढाउने निर्णयसमेत गरेका छन्।

नेपाली कांग्रेसका नेताहरूले यथासिघ्र संशोधन विधेयक संसदमा पेश हुने आश्वासन दिएको मोर्चाका तर्फबाट फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए। सभामुख ओनसरी घर्तीले तीन दिनभित्र सहमति नभए संसदबाट नै निकास खोज्ने बताएको भोलिपल्ट नेपाली कांग्रेस र मोर्चाको यस्तो निर्णय आएको हो ।
बिहिबारको संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दे घर्तीले संशोधनको विषयमा सहमति नभए पनि प्रक्रियामा गएर सहमति गर्न दलहरुलाई आग्रह गरेको बताएकी थिइन्।

पुस १८ गते बस्ने संसदको बैठक अबरूद्ध भए एकै दिनमा पटक पटक बैठक बोलाएर शीर्ष नेताहरुलाई सहमतिका लागी दबाब दिने उनले बताएकी छन्। यसैबीच एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संसदको अवरोध बिचमा सरकारले संशोधन विधेयक पेश गरे त्यसको डटेर सामना गर्ने स्पष्ट पारेका छन्। ‘संविधान संशोधन विधेयक फिर्ता नभएसम्म संसदको अवरोध जारी रहन्छ,’ ढकालले भने, ‘बाहिर हल्ला गरेर एमालेलाई गलाउने रणनीति कसैले नबनाए हुन्छ।’

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्