Logo
१५ चैत्र २०८०, बिहीबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्दो धुलो र प्रदूषणले राजधानीमा सास फेर्नै सकस

काठमाडौं, १५ पुष  ।  बढ्दो धुलो र प्रदूषणले राजधानीवासीलाई सास फेर्नै सकस हुन थालेको छ। यही कारण उपत्यकावासीमा श्वासप्रश्वासजन्य रोग संक्रमण बढ्दै गएको छ । पाँच वर्षदेखि जारी सडक तथा खानेपानी पाइप विस्तार, पुराना मोटर, कलकारखाना, भूकम्प र अन्य प्रदूषणका कारण हुने श्वासप्रश्वासजन्य बिरामीको संख्या पाँच वर्षमा झन्डै दोब्बर भएको पाइएको छ।

स्वास्थ्य अनुसन्धान परिषद्को अर्को अध्ययनले बिरामीको प्रदूषण बढेको अवस्थामा श्वासप्रश्वासजन्य रोगका बिरामी अस्पताल भर्ना हुनुपर्ने दरसमेत पाँच प्रतिशतसम्मले बढ्ने गरेको छ। प्रदूषणजन्य पुराना समस्यामा पाँच वर्षयता धुलोसमेत थपिँदा राजधानीवासीलाई ‘सास लिनै सकस’ बढ्दै गएको चिकित्सक बताउँछन्। स्वास्थ्य मन्त्रालयको स्वास्थ्यसम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने निकाय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) को तथ्यांकले नै पाँच वर्षमा श्वासप्रश्वासजन्य बिरामीको संख्या दोब्बर भएको देखाएको हो।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा पाँच वर्षअघि श्वासप्रश्वासजन्य प्रमुख रोगका रुपमा लिइने ‘क्रोनिक अब्सटक्टिभ पल्मोनरी डिजिज’ (सिओपिडी) का बिरामी १५ हजारबाट ३० हजार हाराहारी पुगेको पाइएको छ। सम्बन्धित स्वास्थ्य संस्थाले वार्षिक रुपमा पठाउने रिपोर्टका आधारमा एचएमआइएस शाखा तथ्यांकको एकीकृत व्यवस्थापन गर्छ। तथ्यांकअनुसार सन् २०१५ मा उपत्यकाका अस्पताल तथा स्वास्थ्य संस्थाका ओपिडी (बहिरंग) को सिओपिडीका मात्रै १५ हजार ९ सय ९८ जना बिरामी भेटिएका थिए। यो संख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०६९/७० मा १९ हजार ८ सय ४४, ०७०/०७१ म्ा १९ हजार ४ सय १, ०७१/७२ मा २४ हजार ९ सय २४ र चालु आर्थिक वर्षको पाँच महिनामै २८ हजार ५ सय ५४ श्वासप्रश्वासका बिरामी भेटिइसकेका छन्। उपत्यकाका तीनै जिल्लाको तथ्यांक छुट्टाछुट्टै विश्लेषण गर्दासमेत सबै जिल्लामा बिरामी दर बढ्दै गएको पुष्टि हुन्छ।

पाँच वर्षअघि २ हजार ७ सय मात्रै सिओपिडी बिरामी भेटिएको ललितपुरमा यसपालि ८ हजार ५ सय ३५ बिरामी स्वास्थ्य संस्था पुगिसकेका छन्। सुरु वर्ष प्रमुख समस्या नभएको भन्दै श्वासप्रश्वास रोगको छुट्टै रिपोर्टिङ नै नगरिएको भक्तपुरमा अहिले ३ हजार ८ सय ६१ बिरामी भेटिइसकेका छन्।

स्वास्थ्य अधिकारीले कतिपय रिपोर्टिङ प्रक्रियामा नआएका चिकित्सकका क्लिनिक रेकर्ड नआइपुग्ने हुनाले बिरामीको संख्या अझै बढी हुन सक्ने अनुमान गरेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अस्पताल भर्ना हुनुका प्रमुख आठ कारणमध्ये चिसोसँग सम्बन्धित रोग निमोनिया चौथो नम्बर तथा दम र खोकी छैटौँ नम्बरमा छन्। अस्पताल भर्ना भएपछि मृत्युका प्रमुख तीन कारणमध्ये बच्चामा रुघाखोकी र वयश्कमा श्वासप्रश्वास संक्रमण पर्छ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्