Logo
८ बैशाख २०८१, शनिबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिनमा सहमति नगरे बैठक चलाउने सभामुखको चेतावनी

काठमाडौं । सभामुख ओनसरी घर्तीले संविधान संशोधनलगायतका विषयमा तीन दिनभित्र सहमति गरेर संसद् खुलाउन दलहरूलाई पुनः आग्रह गरेकी छिन् ।
सकेसम्म संशोधनमा सहमति, नभए प्रक्रियामा जान सहमति गर्न उनले आग्रह गरेकी हुन् । दलबीच सहमति नभएमा एकैदिन पटक–पटक बैठक राखेर सदनभित्रै सहमतिको पहल गरिने उनले बताएकी छिन् ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख घर्तीले सहमति गरेर संसद् खोल्न आग्रह गरेकी थिइन् । ‘संसद् नियमित चल्नुपर्नेमा त्यसको विपरीत अवरुद्ध भइरहेको छ, यो सुखद पक्ष होइन ।

मैले दलहरूलाई तीन दिनभित्र सहमति गर्न समय दिएकी छु,’ बैठकपछि उनले पत्रकारसँग भनिन्, ‘तीन दिनभित्र सहमति हुन्छ भन्ने विश्वास छ । विषयमा सहमति नभए प्रक्रियामा सहमति गर्नुहोस् भनेकी छु । त्यो पनि नभए १८ गतेको संसद् बैठकमै एकैदिन केही ग्याप राख्दै लगातार दुई–तीन बैठक राख्दै अगाडि बढ्नेछु ।’ यो खबर आजको नयाँ पत्रिकामा छ ।

एमालेसहित विपक्षी नौ दलले बिहीबार पनि संसद् अवरोध गरेपछि सभामुख घर्तीले १८ पुससम्मका लागि संसद् बैठक स्थगित गरेकी छिन् । संविधान संशोधनसहित संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक संसद्मा रहेकाले प्रक्रियामा गएर भए पनि निकास खोज्नुपर्नेमा सभामुखको जोड छ ।

‘प्रक्रियाभन्दा अन्य विकल्पै छैन, मैले दलहरूलाई भनेकी छु, उहाँहरूलाई ध्यानाकर्षण गराएकै छु,’ सभामुखले भनिन्, ‘हामीले आगामी ७ माघ ०७४ भित्रै तीन तहको निर्वाचन गराउनुपर्नेछ । निर्वाचनसँग सम्बन्धित दुई विधेयक कार्यसूचीमा राखिरहेको छु । यस विषयमा पनि उहाँहरूको ध्यानाकर्षण गराउँदै आएको छु ।’

सरकारले १४ मंसिरमा संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेसहितका विपक्षी दलले संसद् चल्न दिएका छैनन् । १६ मंसिरयता संसद् अवरुद्ध हुँदै आएको छ । संसद् खुलाउन यसअघि पनि सभामुख घर्तीले ४ पुसमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई बोलाएर तीन दिनभित्र सहमति गर्न आग्रह गरेकी थिइन् ।

प्रमुख दलबीच सहमति हुन नसकेपछि उनले सात दल बैठक राखेकी थिइन् । तर, सहमति हुन सकेको छैन । दलहरूबीच धु्रवीकरण बढेपछि सभामुख घर्तीले सहमतिका लागि पहल गर्दै आएकी छिन् ।

प्रधानमन्त्री भ्यालीबाहिर नजाने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध नहटेसम्म उपत्यकाबाहिर नजाने बताएका छन् । निकासका लागि दलहरूसँग निरन्तर छलफल बस्ने उनले सभामुख ओनसरी घर्तीलाई बताएका छन् । ‘प्रधानमन्त्रीले अब संसद्को गतिरोध नफुकेसम्म भ्यालीबाहिर नजाने बताउनुभएको छ,’ घर्तीले भनिन्, ‘मलाई विश्वास छ, अब दलहरूले योबीचमा घनीभूत छलफल गरेर सहमति निकाल्नुहुनेछ ।’

प्रकाशित मिति: Dec 29, 2016

प्रतिक्रिया दिनुहोस्